आज माघे सङ्क्रान्ति, हरेक जातिले आआफ्नै तरिकाले मनाउँदै

नेपालभ्युज

आज माघे सङ्क्रान्ति, हरेक जातिले आआफ्नै तरिकाले मनाउँदै

काठमाडौं । आज (शनिबार) माघे संक्रान्ति, मकर संक्रान्ति। माघी नामले चिनिने किराँतहरूको नयाँ वर्षको रूपमा परम्परादेखि नै मनाउदै आएका छन्। नेपालको  प्रमुख चाडमध्ये एक यो विशेषगरी थारू समुदायको महत्वपूर्ण चाड हो।

चाड मात्र नभएर आजको दिन ज्योतिष शास्त्रअनुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर संक्रान्ति’ पनि भनिएको हो।

सामान्यतया सूर्यले सबै राशि लाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले मह्त्वपूर्ण मानिन्छ। यो दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धतर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ।

मकर संक्रान्तिका दिन नेपालभर विभिन्न पवित्र नदी तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाई मनाइन्छ। यस पर्वमा देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई तथा भारतको प्रयाग र गंगासागरलगायत नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भीड लाग्छ।

भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने र एउटै नामको पर्वलाई पनि भिन्नभिन्न भेग र समुदायमा भिन्नभिन्न ढङ्गले मनाउने प्रचलन छ। यसको उदाहरण माघे सङ्क्रान्ति पर्व हो।

मकर सङ्क्रान्तिको अर्को नाम माघे सङ्क्रान्ति हो। यो पर्व माघ महिनाको शुरुवातका दिन अर्थात् माघ १ गतेको दिन पर्दछ। यस पर्वलाई थारू जातिले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन्, मगर जातिले मुख्य रूपमा धुमधामको साथ् मनाउने यो पर्वलाई माघ्यारसेर्ल्हेस पनि भनिन्छ।

नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईका बसोबास गर्ने छेत्री, बाहुन, राई, मगर, लिम्बु, नेवार, गुरुङ, मगर आदि सबै जनजातीले माघे सङ्क्रान्तिलाई आआफ्ना परम्परा, भिन्नभिन्न विशेषता र प्रकृतिले मनाउने गरेको पाइन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved