सयमा ४३ ले पाएका छैनन् दुवै डोज खोप, सरकार भन्छ कोभिड खोप कार्ड लिएर आउनू

ठूलो संख्यामा खोपको पूर्ण डोज लगाउन बाँकी हुँदाहुँदै सरकारले गरेको निर्णयप्रति स्वास्थ्य क्षेत्रका विज्ञहरू नै असन्तुष्ट छन्।

सयमा ४३ ले पाएका छैनन् दुवै डोज खोप, सरकार भन्छ कोभिड खोप कार्ड लिएर आउनू

काठमाडौं। कोभिड महामारी फेरी बढ्न थालेपछि २५ पुसमा बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को बैठकले सार्वजनिक स्थल प्रवेशका लागि कोरोनाविरुद्धको खोप अनिवार्य गर्न सरकारलाई सिफारिस गर्‍यो।

सोही सिफारिसलाई पछ्याउँदै काठमाडौं जिल्ला प्रशासन कार्यालयले ७ माघबाट लागू हुनेगरी खोप कार्डबिना सार्वजनिक निकायबाट सेवा नपाउने निर्णय गरिसकेको छ

यो निर्णय सम्भवतः अन्य जिल्लाले पनि पछ्याउँदै जालान्। तर २६ पुससम्म लक्षित जनसंख्याको ५७ प्रतिशतले मात्रै  दुवै डोज  खोप लगाएका छन्। यसको अर्थ हो सय जनामा ४३ जना कोभिडको पूर्ण डोज नलगाएका मानिस छन्। ७६.५ प्रतिशतले भने पहिलो डोज खोप लगाएका छन्।

यति ठूलो संख्यामा खोपको पूर्ण डोज लगाउन बाँकी हुँदाहुँदै सरकारले गरेको निर्णयप्रति स्वास्थ्य क्षेत्रका विज्ञहरू नै असन्तुष्ट छन्।

‘इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा’का पूर्व निर्देशक डा. बाबुराम मरासिनीका अनुसार सरकारी निर्णयले खोप नलगाएकाहरूलाई प्रताडित गरेको छ।

उनी भन्छन्, “सरकारले आधा जनतालाई मात्र खोप लगाएर बाँकिलाई दुःख दिने काम गरेको छ, धेरैले खोप नै पाएका छैनन् शहरी र ग्रामीण क्षेत्रमा मात्र हेरेर हुँदैन।”

“पहाडी र दुर्गम क्षेत्रका मानिसले एक दिन हिँडेरै खोप लगाउन जादा पनि नपाएको अवस्थामा उनीहरूलाई मर्कामा पार्ने काम सरकारले किन गरेको ?” –डा. मरासिनीको प्रश्न छ।

फ्रान्समा खोपकै विषयमा सरकारले पक्षपात गरेका कारण नाराजुलुस, झैझ्गडा भइरहेको उदाहरण दिदै नेपालमा पनि त्यस्तो परिस्थिती आउन सक्ने उनले बताए।

“सरकारले खोप जति स्टोरमा राखेर जनतालाई दुई डोज लगाएको कार्ड देखाउ भन्नु लाजमर्दा कुरा हो,” उनले प्रश्न गरे, “खोप जति स्टोरमा कार्ड जनतासँग माग्ने यो कस्तो सरकार हो ? यो लागू गर्नु हँुदैन नत्र घातक हुनसक्छ।”

किन सबैले लगाएका छैनन् त खोप ? डा. मरासिनीका अनुसार पहिलो कारण हुनसक्छ, पायक पर्ने ठाउँमा खोप केन्द्र नहुुनु।

उनले सीमित ठाउँमा केन्द्र बनाउँदा जाडोको बेला मानिसहरू खोप लगाउन नजाने भएकाले गाउँ–गाउँमै गएर खोप लगाउन सुझाए।

त्यस्तै अर्को कारण जनचेतनाको अभाव हुनसक्ने उनको मत छ। केही मानिसमा खोपप्रति भ्रम हुनसक्ने भएकाले पनि नलगाएको हुनसक्ने अनुमान गर्दै उनले परामर्श टोल पनि परिचालन गर्नुपर्ने बताए।

सरकारले यस्ता आधारभूत दायित्व पूरा गरेपछि मात्रै खोप कार्ड अनिवार्य गर्नु उचित हुने उनको मत छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा समीरकुमार अधिकारी भने सबैको पहुँचमा खोप पुर्‍याएको दाबी गर्छन्।

सरकारले पुस मसान्तसम्म लक्षित जनसंख्याको दुई तिहाई (६६ प्रतिशत)लाई खोप लगाउने लक्ष्य लिएको थियो।अहिले दैनिक २ लाखको हाराहारीमा खोप लगाइरहेको खोप शाखाले जनाएको छ जबकि प्रधानमन्त्रीले मासान्तसम्मको लक्ष्य पुरा गर्नका लागि दैनिक ५ लाखलाई खोप लगाउने निर्देशन ११ पुसमा दिएका थिए

२७ पुसमा देशभर २ लाख १० हजार ५९४ जनाले खोप लगाएको खोप शाखाले जनाएको छ।

नेपालमा हालसम्म अनुदान र खरिद मार्फत चार करोड तीन लाख ८४ डोज खोप आइरहेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तरगतको आपूर्ति व्यवस्थापन शाखाको प्रमुख डा. सुरेन्द्र चौरसियाले बताए।

त्यस्तै ७७ हजार नौ सय ८५ डोज खोप सातै प्रदेशमा कोल्ड रूपमा मौज्दात रहेको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved