धर्मशास्त्र : किन गरेका थिए परशुरामले आमा रेणुकाको बध ?

नेपालभ्युज

धर्मशास्त्र : किन गरेका थिए परशुरामले आमा रेणुकाको बध ?

काठमाडौं । आज अक्षय तृतीया, हिन्दू मिथोलजीमा आजको दिनको विशेष महत्त्व छ । वैशाख शुक्ल तृतीया परशुरामजयन्ती हो ।

हिन्दू विश्वासमा परशुराम भगवान् विष्णुका १० अवतारमध्ये छैठौँ थिए । उनी ऋषि जमदग्नि र क्षेत्रीय राजकुमारी रेणुकाका ५ छोरामध्ये कान्छा थिए ।

उनको बाल्यकालको नाम ‘राम’ थियो । भगवान् शिवको कठोर तपस्याबाट बन्चरो (परशु) बरदान पाएको हुँदा उनलाई ‘परशुराम’ भनियो ।

परशुरामको वर्णन मूलतः पद्यम पुराणमा छ । उनको जन्मस्थान अहिले भारत मध्यप्रदेशको इन्दौर नजिक जनपाव भन्ने गाउँमा पर्दछ ।

रामायण र महाभारत दुवै महाकाव्यमा परशुरामको चर्चा छ । महाभारतमा उनले भीष्म, द्रोण र कर्णलाई शिक्षा दिएको सन्दर्भ छ भने रामायणमा परशुरामले भगवान् रामचन्द्रलाई चुनौती दिएको प्रसङ्ग छ ।

ऋषि जमदग्निको आश्रममा कामधेनु गाईकी छोरी सुरभी थिइन् । उनले कामधेनुले जस्तै इच्छाअनुरूप दूध दिन सक्थिन् । एकदिन क्षेत्रीय राजा कर्तिविर्य अर्जुनले ऋषिको आश्रममा आए । उनीसँग हजारौं सेना थिए । एउटै गाई सुरभीको दूधले सबैका लागि परिकार बनाउन पुग्यो ।

यो देखेर अचम्मित भएका राजाले जमदग्निसँग गाई मागे । ऋषिले गाई राजालाई दिन अस्वीकार गरे । राजाले जबर्जस्ती गाई हरण गर्न खोज्दा उनका सहर्ष हात परशुरामले बन्चरोले काटी दिएका थिए ।

कथाअनुसार परशुरामले आमा रेणुकाको बध गरेका थिए । रेणुका एकदिन बिहान नदीमा पानी भर्न कलश लिएर गएकी थिएन । कलशको पानी आश्रामको नित्य पूजाका लागि अपरिहार्य थियो । ऋषि पत्नी रेणुकाले पानी लिएर आउने प्रतिक्षामा थिए ।

कलसको पानी भर्ने क्षमता उनको सतीत्वसँग जोडिएको थियो । रेणुकाको मनमा परपुरुष भोगको भावना आए कलशमा पानि भरिँदैनथ्यो ।

त्यो बिहान गन्धर्व राजा चित्ररथ अप्सरासँग जलबिहार गरिरहेका थिए । यो दृश्य देखेकी रेणुकाको मनमा कामुकता पैदा भयो । केहीबेर मन्त्रमुग्ध झै टोलाइन् । होशमा आएर पानी भर्न खोज्दा कलशमा भरिएन ।

दुखित रेणुका आश्राममा फर्किइन् । ऋषि जन्मदग्निले सबै कुरा बुझे । परपुरुषप्रति मनमा कामुकता पैदा गरेको आरोपमा उनले आफ्ना छोराहरूलाई क्रमशः आमाको बध गर्न आदेश दिए । तर, उनका ४ छोराहरू रेणुकाको बध गर्न तयार भएनन् ।

उनले ४ वटै छोरालाई पिताको आदेश अवज्ञा गरेको आरोपमा श्राप दिए र संज्ञाहीन बनाए । पाँचौँ परशुरामले भने पिताको आदेश प्राप्त गर्न साथ बन्चरोले आमा रेणुकाको घाँटी छिनाले ।

पिता जमदग्नि खुसी भए । उनले परशुरामलाई बरदान माग्न भने । बरदानमा परशुरामले आफ्ना ४ दाजु र आमाको जीवन मागे । ऋषि आफ्ना ४ छोरा र पत्नी रेणुकालाई ब्युँताउन बाध्य भए । यसरी परशुरामले पितृ आदेशको सम्मान र मातृप्रेम दुवै एक साथ पुष्टि गरे ।

परशुरामले २१ पटक क्षेत्रीयहरूको नाश गरेको कथा छ । त्यो बेला क्षेत्रीय राजाहरूको अत्याचार अस्वाभाविक रूपमा बढेको थियो । तसर्थ, भगवान् विष्णुले ब्राह्मण कुलमा जन्म लिएर अत्याचारी क्षेत्रीय राजाको संहार गरेको विश्वास गरिन्छ ।

परशुरामकी पत्नी धरणीलाई लक्ष्मीको अवतार मानिन्छ । रामायणको कथा अनुसार भगवान् रामचन्द्रको किर्तिगाथाबाट प्रभावित परशुरामले रामको शक्ति परिक्षण गर्न खाजेका थिए । परशुरामले रामचन्द्रलाई धनुष युद्धका लागि चुनौती दिए । तर, परशुरामको धनुषवाण आफैँ रामचन्द्रको शरणमा गयो ।

परशुरामको शिव धनुष रामचन्द्रका सामु निष्क्रिय भयो र रामचन्द्र विष्णुका नयाँ अवतार हुन भन्ने पुष्टि भयो । रामचन्द्रले आफ्नो दिव्यरूपको दर्शन दिएपछि परशुरामले उनलाई भगवान् स्वीकार गरेर आफ्नो ‘युग सकिएको’ भन्दै पहाडतिर गएको कथामा उल्लेख छ ।

परशुरामसँग यस्ता दर्जनौं रोचक कथा जोडिएका छन् । अक्षय तृतीयाका दिन बटुवालाई सातु र सर्बत बाँडे पुण्य हुने विश्वास छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved