सातामा करिब ३३ अंकले घट्यो नेप्से, कारोबार रकम १४ अर्बमाथि

नेपालभ्युज

सातामा करिब ३३ अंकले घट्यो नेप्से, कारोबार रकम १४ अर्बमाथि

काठमाडौं । यो साता नेप्से परिसूचक करिब ३३ अंकले घटेको छ । १९९८ दशमलव ९६ को विन्दुबाट कारोबार सुरु गरेको सेयर बजारले पहिलो दिनमै २४ दशमलव ५८ अंक गुमाएको थियो । सामान्य घटबढ हुँदै साता बिताएको बजारले कारोबारको अन्त्यसम्म आइपुग्दा ३२ दशमलव ७३ अंक गुमायो ।

साताको कारोबारको पहिलो दिनमा १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक बढ्दा ११ उपसमूहको घटेको थियो । जसमा दोल्टी पावर कम्पनीको सेयर ९ दशमलव ५६ प्रतिशतले बढेको थियो ।

त्यस्तै, उक्त दिन साधना लघुवित्त र समता लघुवित्तको सेयर मूल्य ८ दशमलव ७२ प्रतिशत बढेको थियो ।

कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक १५ दशमलव ६२ अंक घटेर १९५८ दशमलव ७५ विन्दुमा झरेको थियो । १३ उपसमूहमध्ये उक्त दिन १२ उपसमूहको परिसूचक घट्दा १ को बढेको थियो ।

जसमा पोखरा फाइनान्स र दोल्टी पावरको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको थियो । त्यस्तै, पिपुल्स पावर कम्पनीको सेयर मूल्य करिब ८ प्रतिशत घटेको थियो भने बोटलर्स नेपाल (तराई) को सेयर मूल्य सर्वाधिक ९ दशमलव ०३ प्रतिशतले बढेको थियो ।

मंगलबार सामान्य अंकले बढेको नेप्से १९६० दशमलव ८१ को विन्दुमा पुगको थियो । उक्त दिन लघुवित्त कम्पनीहरूमा लगानीकर्ताहरूले आकर्षण देखाएका थिए । जहाँ सेयर मूल्य बढेका शीर्ष १० कम्पनीहरूको सूचीमा ९ लघुवित्त कम्पनीहरू थिए ।

विकास बैंक, म्युचुअल फन्ड र अन्य उपसमूहको परिसूचक भने उक्त दिन सामान्य बढेका थिए ।

साताको कारोबारको चौथौं दिन बुधबार सामान्य अंकले घटेको नेप्से परिसूचक १९६० दशमलव ६० को विन्दुमा पुगेको थियो ।

सो दिन १२४ कम्पनीको सेयर मूल्य बढ्दा १०७ कम्पनीको मूल्य घटेको थियो भने १२ वटाको मूल्य स्थिर रहेको थियो । जसमा १३ उपसमूहमध्ये ४ वटा समूह बढेको थियो ८ समूहको घट्यो । बढ्नेमा फाइनान्स, हाइड्रो, लघुवित्त र ट्रेडिङ थियो ।

साताको कारोबारको अन्तिम दिन बिहीबार नेप्से सामान्य अंकले बढेर १९६६ दशमलव २३ को विन्दुमा पुगेको थियो ।

१३ उपसमूहमध्ये १० वटाको परिसूचक बढ्दा ३ उपसमूहको घटेको थियो । जसमध्ये होटेल तथा पर्यटन उपसमूहको परिसूचक उच्च दरमा पुगेको थियो ।

यो साता नेप्सेमा १४ अर्ब २१ करोड २४ लाख ५५ हजार ३ सय ७१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

गत साता १४ अर्ब ४५ करोड ६७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । यसर्थ, गत साताको तुलनामा यो साता कारोबार रकम घटेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved