सातदोबाटोसँग बराबरी खेल्दै संकटा तालिकाको तेस्रो स्थानमा उक्लियो

नेपालभ्युज

सातदोबाटोसँग बराबरी खेल्दै संकटा तालिकाको तेस्रो स्थानमा उक्लियो

काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आजदेखि सुरुआत भएको आठौँ चरणको पहिलो खेलमा संकटा क्लब र सातदोबाटो युथ क्लबबीचको खेल बराबरीमा टुंगिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा संकटा र सातदोबाटोले १-१ गोल गरेका हुन्। निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले खेलको पहिलो हाफमा गोल गरेका थिए।

सातदोबाटोका लागि सुशील राईले गोल गर्दा उता संकटाका लागि जय गुरुङले बराबरी गोल फर्काएका थिए। खेलको २३औं मिनेटमा सुशीलले गोल गर्दै सातदोबाटोलाई १-० को अग्रता दिलाए। निरज बस्नेतको ब्याक पासमा गोलरक्षक राजाबाबु थापाले गल्ती गरेपछि बल सुशीलको घुँडामा लाग्दै गोलमा परिणत भएको थियो।

सातदोबाटोको १-० को अग्रता लामो समयसम्म टिक्न सकेन। खेलको ३२औँ मिनेटमा संकटाका खेलाडी जयले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याएका थिए। दीपेश आलेमगरको पासलाई उनले करिब ३० यार्डबाट प्रहार गरेको बलले जाली चुमेको थियो।

खेलको दोस्रो हाफमा गोल हुन नसकेपछि खेल एक-एक गोलको बराबरीमा टुंगिएको हो। यस बराबरी खेलसँगै अपराजित रहेको संकटा ८ खेलबाट १४ अंक जोडेर अंकतालिकाको तेस्रो स्थानमा पुगेको छ भने समान खेल खेलेको सातदोबाटो ९ अंक जोडेर अंक तालिकाको आठौँ स्थानमा पुगेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved