एमालेका सबै जिल्लामा शुक्रबार अधिवेशन, सहमतिमा नेतृत्व चयनको पहल

एमालेका सबै जिल्लामा शुक्रबार अधिवेशन, सहमतिमा नेतृत्व चयनको पहल
फाइल तस्वीर

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले दशौँ राष्ट्रिय महाधिवेशनपछि पहिलो पटक शुक्रबार देशका सबै जिल्ला कमिटीका अधिवेशन गर्दैछ।

महाधिवेशनपूर्व तोकिएको एकै दिनमा पालिकास्तरको अधिवेशन तथा प्रतिनिधि छनोट कार्य गरेको एमाले अब जिल्ला र प्रदेश अधिवेशनका लागि जुटेको छ। सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट शुक्रबार पार्टीका ७७ वटै भूगोल र विशेष क्षेत्रका जिल्ला अधिवेशनको उद्घाटन थापाथालीस्थित केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअल रूपमा गर्ने तय भएको एमालेका केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जनाए।

गत १० मंसीरदेखि १४ गतेसम्म चितवनमा भएको दशौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको २५,२६ मंसीरमा भक्तपुरमा सम्पन्न दोस्रो पूर्ण बैठले यही २३ पुसका लागि जिल्ला र आउँदो ८ माघका लागि पार्टीको प्रदेश अधिवेशन गर्ने निर्धारण गरेको थियो।

महाधिवेशनमा ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौँ, जबजको मार्गदर्शनमा समाजवादका आधार निर्माण गरौँ’ भन्ने मूल नारा तय गरेको एमालेले जिल्ला अधिवेशनको तयारीका लागि सम्बन्धित कमिटीलाई परिचालन गरेको छ। ती जिल्लाबाट केन्द्रीय नेतृत्वमा पुगेका नेता तथा तोकिएका जिल्ला इञ्चार्ज गृहजिल्लामा पुगेका छन्।

जिल्ला अधिवेशनमा सदस्यताको आधार

एमालेले जिल्ला तथा प्रदेश अधिवेशनका लागि दशौँ राष्ट्रिय महाधिवेशनका लागि निर्धारण गरिएको पार्टी सदस्यतालाई नै आधार बनाउनेछ। अधिवेशनका लागि प्रतिनिधि चयनको अनुपात र मापदण्ड पार्टी विधानको व्यवस्थाअनुसार सम्बन्धित कमिटीले तय गर्नेछ। जिल्ला अध्यक्ष माथिल्लो कमिटीमा निर्वाचित भएको स्थितिमा निजकै अध्यक्षतामा जिल्ला अधिवेशन आयोजना गर्न सकिने भएको छ।

मौसमी प्रतिकूलताका कारणले २३ पुसमा जिल्ला अधिवेशन आयोजना गर्न नसकिने हिमाली जिल्लाका हकमा केन्द्रीय कार्यालयसँगको परामर्शमा अर्को मिति तोक्न सकिने एमालेले जनाएको छ।

जिल्ला अधिवेशनका लागि अतिथि व्यवस्थापनको सहजीकरण प्रदेश संगठन कमिटीले र प्रदेश अधिवेशनका लागि अतिथि व्यवस्थापनको सहजीकरण केन्द्रीय कार्यालयले गर्नेछ। अधिवेशनमा प्रतिनिधिलाई सर्वसम्मत नेतृत्व चयनका लागि प्रेरित गर्ने र सहमति हुन नसकेको अवस्थामा निर्वाचनको विधि अवलम्बन गर्न एमालेले सर्कुलर गरेको छ। निर्वाचनको विधि र प्रक्रियाका हकमा पार्टीको केन्द्रीय निर्वाचन आयोगको निर्देशनअनुसार गर्न पनि भनिएको छ।

जनसंगठनको सुदृढीकरण अभियान

एमालेले जनसंगठनको सुदृढीकरणका लागि दशौँ राष्ट्रिय महाधिवेशनको राजनीतिक कार्यदिशाअनुरुप जनसंगठनलाई नीतिगत रुपमा परिचालित गर्नेगरी आवश्यक योजना बनाउन थालेको छ। जनसंगठनको कार्यक्षेत्रसँग सम्बद्ध अन्य संगठनमा आबद्ध व्यक्तिको प्रवेशको सम्भावना आकलन गरी सम्बन्धित संगठनमा प्रवेशको योजना अघि बढाउने र सबै जनसंगठनले आआफ्नो कामको आवश्यकताका आधारमा कमिटीको आकारलाई चुस्तदुरुस्त बनाउने गरी विधानमा आवश्यक संशोधन गर्न एमालेले निर्देशन दिइसकेको छ।

एमालेको जनसंगठन संयन्त्रले ती संगठनका काम गरेका नेता कार्यकर्ताको व्यवस्थापन र संगठन परिचालनबारे नयाँ मापदण्ड पनि तयार गरिरहेको छ।

लामो समयदेखि सम्बन्धित जनसंगठनको वैधानिक व्यवस्थाअनुरुप हुन बाँकी (आधारभूत तहदेखि राष्ट्रिय तहसम्मको) अधिवेशन/सम्मेलन/महाधिवेशन आगामी फागुन मसान्तसम्ममा आयोजना गर्नेगरी कार्ययोजना तयार गर्न पनि एमालेले निर्देशन दिएको छ। एमालेमा हाल २२ जनसंगठन छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved