कांग्रेसमा फेरि शुरु भयो गुटको किचलो, देउवाले अवमूल्यन गर्दा कोइराला पक्ष आक्रोशित

“केन्द्रीय सदस्य मनोनयनको मापदण्ड खोज्नुलाई नै गुट सञ्चालन गर्न खोजेको रुपमा बुझ्नु हुँदैन,” पुरञ्जन आचार्यले नेपालभ्यूजसँग भने, “सभापतिले केन्द्रीय सदस्यमा मनोनयन गर्दा केही मापदण्डको पालना त गर्नुपर्छ होला ।”

कांग्रेसमा फेरि शुरु भयो गुटको किचलो, देउवाले अवमूल्यन गर्दा कोइराला पक्ष आक्रोशित

काठमाडौं । नेपाली कांग्रेसमा चौधौँ महाधिवेशनपछि देउवा– कोइराला गुटको किचलो शुरु भएको छ। पार्टीको चौधौँ महाधिवेशनमा देउवाका निकटतम प्रतिद्वन्द्वी शेखर कोइरालाले पहिलोपल्ट आफ्नो प्यानलबाट चुनाव लडी जितेका र पराजित भएका पदाधिकारीका उम्मेद्वारको बेग्लै भेला गरेपछि गुटको पुनर्उदय भएको हो।

कोइराला परिवारबाट देउवाविरुद्ध सभापति पदमा शेखरले उम्मेद्वारी दिएसँगै उनी नेताको रुपमा उदाएका हुन् । रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शशाङ्क कोइराला, सुजाता कोइराला लगायतले शेखरलाई नसघाउँदा पनि उनले देउवाविरुद्ध कुल मतको करिब ४० प्रतिशत मत ल्याएका थिए ।

देउवाले महाधिवेशनको निर्वाचनमा सहभागी नभएका र आफूलाई सहयोग गरेका व्यक्तिलाई मात्रै केन्द्रीय सदस्यमा मनोनयन गरेको आरोप शेखर कोइराला पक्षको छ।

मनोनयनबाट असन्तुष्ट बनेको शेखर पक्षले बुधबार आफू पक्षका नेताको छुट्टै भेलालाई सम्बोधन गर्दै भने, ‘केन्द्रीय सदस्य मनोनयनको मापदण्ड मलाई पनि जान्न मन लागेको छ।’

भेला लगत्तै जारी विज्ञप्तिमा पनि कोइरालाले ‘पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुन जरुरी भएको’ बताएका छन्। उनले त्यस्तो नहुने हो भने असहमति राख्ने कार्यकर्ताहरू कांग्रेसमा किन बस्ने भन्दै प्रश्न समेत उठाएका छन्।

कांग्रेसको चौधौँ महाधिवेशनले पार्टीभित्रको स्थायी गुटलाई अन्त्य गर्ने घोषणा गरेको थियो। शेखरले भेला गर्नुभन्दा एक दिनअघि मंगलबार मात्र धरान पुगेर चौधौँ महाधिवेशनले पार्टीमा गुट अन्त्य गरेको कार्यकर्तालाई बताएका थिए ।

कोइरालाले चौधौँ महाधिवेशनमा सभापतिमा पराजित भएसँगै सञ्चारकर्मीमाझ दिएको प्रतिक्रियामा भनेका थिए– पार्टीभित्र आफूले गुटगत रुपमा कुनै पनि भाग खोज्ने छैन तर पार्टीभित्र गुट नहेरी सबैलाई समान व्यवहार गर्नुपर्छ।’

यस्तै १९ पुसमा अर्घखाँचीमा आयोजित एक कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगन थापाले पनि पार्टीभित्रको गुट र भागभण्डा अन्त्य हुने घोषणा गरेका थिए तर त्यसका लागि सबैलाई पार्टी आफ्नो पनि हो भन्ने महसुस गराउनुपर्ने उनको आशय थियो।

महाधिवेशनमा प्यानलगत हिसाबमा प्रतिस्पर्धा भए पनि महाधिवेशनपछि पराजित प्यानलका सदस्यहरुले नै पार्टीभित्र स्वस्थ्य वातावरण बनाएमा आफूहरूले कुनै गुटबन्दी नगर्ने बताएका थिए। तर, महाधिवेशन सकिएको एक महीना बित्न नपाउँदै पार्टीभित्र फेरि गुट सतहमै आएको छ।

कांग्रेसका पूर्व नीति प्रशिक्षण विभाग प्रमुख एवम् सञ्चारकर्मी पुरुषोत्तम दाहाल कांग्रेसमा गुटको समस्या पहिलादेखि नै विद्यमान रहेको बताउँछन्। तेह्रौँ महाधिवेशनलाई पनि ‘एकताको महाधिवेशन’ भनिए पनि महाधिवेशनले सबै नेतालाई जुटाउन नसकेको दाहालले बताए ।

“महाधिवेशनपछि सबै नेता एक ठाउँमा आइसकेको अवस्थामा शेखर कोइरालाले फरक समूह अगाडी बढाउन खोजेका छन्,” दाहालले भने, “केही समय सभापतिले कसरी आफ्नो विवेकको प्रयोग गर्छन्, त्यो हेरेपछि मात्रै कोइराला समूह अघि आउँदा राम्रो हुने थियो।”

महाधिवेशनमा पराजित पक्षले महाधिवेशनलगत्तै सभापतिमा निर्वाचित व्यक्तिबाट आफ्नो सबै मागको सम्बोधन होस् भनेर सोच्नु गलत भएको दाहालको विश्लेषण छ।

कांग्रेस सभापति देउवाले पार्टीको विधानको दफा २१ अनुसार पुस १७ मा १० जना केन्द्रीय सदस्यलाई मनोनित गरेसँगै कांग्रेसमा पछिल्लो विवाद देखिएको हो।

यसअघि सभापतिका निकटतम प्रतिद्वन्दीलाई दोस्रो मर्यादा क्रममा राखिँदै आएको भए पनि देउवाले कोइरालालाई मर्यादा क्रमको २० नम्बरमा राखेका थिए भने पदाधिकारीमा पराजित मीनेन्द्र रिजाल, चन्द्र भण्डारीलगायतका कोइराला खेमाका नेतालाई केन्द्रीय समितिमा मनोनित गरेका छैनन् ।

कांग्रेसको विधानको दफा २१ मा केन्द्रीय सभापतिले समावेशी प्रतिनिधित्वसमेतलाई ध्यानमा राख्दै ३३ जना केन्द्रीय सदस्य मनोनित गर्न पाउने व्यवस्था छ। पार्टीको विपक्षी खेमाले भने केन्द्रीय सदस्य मनोनयनमा देउवाले एकलौटी निर्णय गरेको आरोप खुला रुपमै लगाएको छ।

सभापतिले मनोनयन गरेका केन्द्रीय सदस्यमा वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि चौधौँ महाधिवेशनमा देउवासँग सभापतिमा प्रतिस्पर्धा गरेका प्रकाशमान सिंह र विमलेन्द्र निधि मात्र छैनन्, पहिलो चरणको सभापति चुनावमा २० भोट मात्र ल्याएर दोस्रो चुनावमा सभापति देउवालाई समर्थन गर्ने कल्याण गुरुङसमेत मनोनित भइसकेका छन्।

यस्तै उपसभापति पदमा पराजित विजयकुमार गच्छदार, सुजाता कोइराला मनोनित भइसकेका छन् भने महाधिवेशनमा महामन्त्री पदमा पराजित प्रकाशशरण महतसँगै चुनावै नलडी देउवालाई सघाएका कृष्ण सिटौला, नारायण खड्का, मीनबहादुर विश्वकर्मा पनि केन्द्रीय सदस्यमा मनोनित गरेका छन्।

सभापति देउवाले १८ पुसमा फेरि देउवा प्यानलबाटै महामन्त्रीमा पराजित प्रदीप पौडेल र सहमहामन्त्री पदमा हारेका जीवनबहादुर शाहीलाई पार्टी विधानको केन्द्रीय सदस्य मनोनित गरे। पौडेल महामन्त्री पदमा देउवा प्यानलबाट लडेर हारेका थिए तर विपक्षी खेमाबाट उपसभापति हारेका चन्द्र भण्डारी र महामन्त्री हारेका मीनेन्द्र रिजाल भने देउवाको रोजाइमा परेनन् ।

पार्टी सञ्चालन गर्ने जिम्मा साभापतिको हो तर पार्टीको आन्तरिक लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी पार्टीभित्रको प्रतिपक्षको हो भन्छन्– विश्लेषक पुरञ्जन आचार्य। महाधिवेशन सम्पन्न भएको छोटो समयमा नै सभापतिले पार्टीको विधानबाहिर गएर पार्टी सञ्चालन गर्न खोज्दा विपक्षीले आवाज उठाउनुलाई अन्यथा मान्न नहुने आचार्यको विश्लेषण छ।

“केन्द्रीय सदस्य मनोनयनको मापदण्ड खोज्नुलाई नै गुट सञ्चालन गर्न खोजेको रुपमा बुझ्नु हुँदैन,” पुरञ्जन आचार्यले नेपालभ्यूजसँग भने, “सभापतिले केन्द्रीय सदस्यमा मनोनयन गर्दा केही मापदण्डको पालना त गर्नुपर्छ होला । त्यो मापदण्डको आधार के भनेर सोधिएको प्रश्नलाई नै गुट सञ्चालन गर्ने आधार तयार भएको भन्नु हुँदैन।”

कांग्रेसले हालै मात्रै राष्ट्रियसभामा निर्वाचनका लागि पार्टीका तर्फबाट ६ जानको नाम सिफारिश गरेको छ। राष्ट्रियसभाको १२ माघमा हुने १९ सिटको प्रतिस्पर्धामा गठबन्धन दलसँगको बाँडफाँडमा कांग्रेसको भागमा ६ सट परेको हो। उक्त ६ सीटमा कांग्रेसले उम्मेद्वार खडा गर्दैगर्दा पार्टीभित्र छलफल नगरेको कोइराला पक्षको आरोप छ।

यस्तै कांग्रेसले पार्टीका नेताहरुको वरियात क्रम सार्वजनिक गर्दासमेत शेखर कोइरालाको अवमूल्यन गरेको उनी पक्षधर नेता बताउँछन्। कोइरालालाई वरियताक्रममा पछि पारिएको भन्दै उनी पक्षका नेताले सभापति देउवाले पार्टीभित्र फेरि गुटगत राजनीतिलाई बढावा दिएको आरोप लगाउन थालेका छन्।

कोइराला पक्षको तर्कसँग असहमत पुरुषोत्तम दाहालले भने, “महाधिवेशनले सभापतिको जिम्मेवारीमा देउवालाई दोहोर्‍याएको छ । पार्टीभित्रको अर्को पक्षले केही समय सभापतिलाई आफ्नो हिसाबमा काम गर्न दिनुपर्छ। होइन भने पार्टीमा गुटगत राजनीति सकियो भन्दै गर्दा पनि व्यवहारमा त्यो जीवित रहन्छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved