काठमाडौं। सुकेधाराकी निवासी निर्मला राईलाई अचेल हरेक छाकको खाना तयार पारेपछि पीर थपिन थालेको छ। बिहानको खानपान सकिएपछि उनी तनावमा हुन्छिन्, बेलुका के खुवाउने ? कारण हो, अचाक्ली बढेको महँगी।
हुन पनि टमाटर किलोकै सय रुपैयाँ पुगेको छ। उनले प्रयोग गर्नेगरेको खानेतेल लिटरको दुई सय ७० भएको छ। २५ रुपैयाँ नतिरी एक मुठा साग आउँदैन। एक किलोग्राम काउलीलाई ७० रुपैयाँ तिर्नुपर्छ। उसैगरी बढेको छ गेडागुडी र दालको भाउ।
“चार जनाको परिवारलाई पाँच हजारको रासनले महिना दिन पुग्दैन”, निर्मला भन्छिन्, “महँगी पनि कति हो, तीन वर्ष अघिसम्म दुई हजार÷पच्चिस सयले महिनाभरिको रासन पुग्थ्यो।”
निर्मलाका पतिले ज्यामी काम गरेर पाउने ज्यालाभन्दा धेरै छिटो बढेको छ बजार भाउ। तर महँगी बढ्यो भनेर आवश्यकता घट्दैन। बरु जीवनशैली फेरिन्छ। खानपान बदलिन्छ। अचेल उनको भान्सामा पाक्ने तरकारी बदलिएको छ।
“दुई बर्ष अघिसम्म १५ रुप्पेमा एक मुठा साग पाइन्थ्यो, अहिले २५ पर्छ, तेलको भाउ आकाशियो, गेडागुडि उस्तै छ बजार गयो। एक पाउ तरकारी ३० भन्दा घटिको केहि पाइदैँन”, निर्मलाले सुनाइन् “त्यसैले धेरैजसो मस्यौरा किन्छु सस्तोपनि दुईचार छाक पुग्ने पनि।”
निर्मलाले भनेको मस्यौरा गाउँघरतिर बनाइने कर्कला र पिँडालुको मस्यौरा होइन। त्यो त तेल निकालिसकेपछिको भटमासको बाँकी भाग हो, सोयाबिन। प्रोटिनको मात्रा उच्च हुने भए पनि त्यति स्वस्थकर मानिँदैन। हरियो सागपातमा पाइने भिटामिन पाइने त कुरै भएन।
सुकेधारा नै बस्ने उदयपुरकी गीता विश्वकर्माको पिरलो पनि उस्तै हो। उनको त परिवार पनि ठूलो छ।
“आठ जनाको परिवार छौं, हप्तामा नै दुई किलो दाल लाग्छ, महीनामा दुई बोरा चामल, तरकारी त कत्ति हो कत्ति”, गीता दुखेसो पोख्छिन्, “बजारमा के सस्तो छ त्यहि हेरर ल्याउँदा पनि महिनामा सात हजार बढि नै लाग्छ, मिठो मसिनो खान थाले कत्ति पो लाग्ने हो।”
महीनामा १५ हजार जति कमाउने पतिको आम्दानीले नै घरखर्च, पाँच जना सन्तानको पढाई खर्च र आमाको औषधी खर्चसम्म धान्न निकै सकस भएको बताइन् गिताले।
“धेरैजसो आलु र मस्यौरा (सोयाबिन) किनेर ल्याउँछु, एक प्याकेटले दुई छाक टर्छ, अरू तरकारी महगो छ”, गीता भन्छिन्, “सस्तो खोजेर किन्दा पनि महिनामा सात हजार बढी रासन खर्च लाग्छ, तीन वर्ष अघि त चार हजारमा नै टार्थेँ।”
सोही ठाउँ बस्ने मोरङकी सञ्च माया राईले पनि उस्तै सास्ती सुनाइन्। महीनामा हुने भान्साखर्च बढेको सुनाइन् उनले, “कोरोना आउनु अघि यत्ति महंगो थिएन्, दुई वर्ष अघिसम्म पाँच हजारमा रासन खर्च पुराउथे।”
सानो चिया पसलले गुजारा चलाइरहेकी उनले पाँच जनाको परिवार धान्न निकै मुश्किल भएको बताइन्।
कुनै फरक छैन उदयपुरकी शोभा परियारको अवस्था पनि।
“श्रीमानले खटाएर दिएको पैसाले रासन खर्च टार्न मुश्किल पर्छ”, उनी भन्छिन्, “त्यसैले तरकारी किन्न मिलनचोक पुग्छु, पसलमा भन्दा केहि सस्तोमा पाइन्छ।”
उनका श्रीमानले सिलाई बुनाई गर्छन्। कमाई त्यति नभएकाले सिमित खर्च दिने उनी बताउँछिन्। उनका अनुसार एकै पटक रासन किन्न पैसा हुदैँन जहिले जे सकिन्छ त्यहि किनेर ल्याउछु।
“गाउँमा खेतिपाती छैनन, काम पाइन्छ भन्ने आशाले काठमाडौं आयौं, महंगी देख्दा गाउँ नै फर्किउँ जस्तो लाग्छ” उनी भन्छिन, “गाउँमा अलिक सस्तो पाइन्थ्यो कि।”
फुलमाया बस्नेतको अवस्था पनि उस्तै छ। उनको पनि रासन खर्च बढेको छ। एक्लै बस्छिन्। महगी बढेर बिहान बेलुका हात मुख जोर्न मुश्किल भएको उनी बताउँछिन्।
“तरकारी किन्न निस्कियो, किनिसक्नु केहि पाइदैँन। एक जनालाई भए पनि सबै जोह गर्नुपर्छ”, उनी भन्छिन्, “तेलको भाउ कत्ति महगों हो, गोलभेडाको पनि उस्तै छ। तरकारी छान्न भन्दा पनि मुल्य सोधेर जुन सस्तो छ त्यहि लिन्छु।”
उनको अनुभवमा पाँच वर्षअघि यस्तो अवस्था थिएन। रोजेको तरकारी किन्दा पनि महीनामा दुई हजार भन्दा कम खर्च हुन्थ्यो तर अहिले सस्तो छानेर किन्दा पनि दुई हजारले महीना खर्च पुग्दैन।
“आफ्नो गाउँ छोडेर आएपछि सबै किनेर खान गाह्रो हुने रहेछ” उनी थप्छिन्, “गाउँमा आफँैले लगाएर खाइन्थ्यो यहाँ भने भए खायो नभए भोकै।”
धेरैजसो दाल र भात नै खाने गरेको सुनाइन् उनले। कहिलेकाहीँ मुख फेर्न साग, बोडी ल्याउँने गरेको बताइन्।
पाँच वर्षअघि श्रीमानको उपचारका लागि गुल्मीबाट काठमाडौं आएकी हुन् फुलमाया।
“श्रीमानले घर बनाउने ठेक्का पट्टाको काम गर्नुहन्थ्यो, ब्लड प्रेसरले काम गर्ने ठाउँमा नै ढल्नुभएछ” उनले सुनाइन्, “अस्पताल लैजाँदा शरीरको एक पाटो नचल्ने भएछ, उपचारका लागी भारतसम्म पुर्याएँ तर बचाउन सकिन।”
Facebook Comment
Comment