पूर्वराजा वीरेन्द्रको जन्मोत्सवमा मेला लगाउन विद्यालय बन्द

पूर्वराजा वीरेन्द्रको जन्मोत्सवमा मेला लगाउन विद्यालय बन्द
सांकेतिक तश्वीर

जाजरकोट। जाजरकोट सदरमुकामस्थित जिल्लाकै पुरानो त्रिभुवन माध्यमिक विद्यालय मेला लगाउनकै लागि बन्द गरिएको छ। पुस १२ देखि १६ गतेसम्म विद्यालय बन्द गरी मेला लगाएको हो।

राजा वीरेन्द्रको जन्मोत्सवका अवसरमा हरेक वर्ष यो मेला लगाइँदै आएको छ। कोभिडका कारण २ वर्ष प्रभावित मेला पुन: लगाउन लागिएको हो।

‘रमाइलो तथा संस्कृतिक मेला’ नारा दिएर विद्यालय हाताभित्र कार्यक्रम सञ्चालन गरिँदा विद्यालय बन्द भएको हो। “विद्यालय बन्द गरेर मेला लगाउनु ठीक नभए पनि सर्वदलीय सहमति गराएर जिल्ला प्रशासन कार्यालयमा गई निर्णय गराएपछि मेरो मात्र के लाग्छ ?”, प्रचार्य भक्तबहादुर मल्लले भने। मेला लगाएवापत विद्यालयलाई ५० हजार रुपैयाँ दिइएको समेत जानकारी उनले दिए।

कोभिडका कारण लामो समयसम्म बन्द भएर भर्खरै मात्र सञ्चालन भएको विद्यालयमा मेला लगाएर पढाइ अवरुद्ध गरी विद्यालयको हाताभित्र फोहर गरेर वातावरण बिगारेको भन्दै भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशाकीय अधिकृत दलबहादुर घर्तीले असन्तुष्टि व्यक्त गरेका छन्।

“कोभिडको नयाँ–नयाँ भेरियन्ट आइरहेको बेला विद्यालयभित्र हजारौँ मानिस सहभागी गराएर के दूरदर्शी निर्णय गरेको होला ?”, उनले भने। भेरी नगरपालिकाले दुई वर्षअघि विद्यालयमा मेला लगाउन नपाउने निर्णय गरेको थियो।

भेरी ज्ञानोदय क्याम्पसमा बीएड प्रथम वर्षको परीक्षा चलिरहेकाले मेलामा होहल्ला हुँदा परीक्षा प्रभावित भएको स्थानीय धर्म चन्दले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved