कांग्रेस महाधिवेशनको सन्देश : देउवाकै दबदबा

कांग्रेसमा अहिले सभापति देउवाको विकल्प नरहेको सन्देश महाधिवेशनले दिएको छ।

कांग्रेस महाधिवेशनको सन्देश : देउवाकै दबदबा

काठमाडौं। एकाध लोकप्रिय युवा नेताहरूको उदय भए पनि नेपाली कांग्रेसको १४ औँँ महाधिवशेनले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई थप शक्तिशाली बनाएको छ।

महाधिवेशनअघि कांग्रेस सभापतिमा देउवा दोहोरिन हुन्न भन्ने सोच राख्ने पंक्ति ठूलो रहेको ठानिन्थ्यो। देउवाइतर पक्षका नेताहरूले खुलेरै उनको विरोध गरेका थिए। तर, महाधिवेशनको परिणाम उनी अनुकूल आइदियो। खासमा उनी पहिलेभन्दा पनि बलियो नेताका रूपमा स्थापित भए।

देउवाको पहिलो चरणमै सभापति बन्ने चाहना पूरा नभए पनि पदाधिकारी र केन्द्रीय कार्यसमितिमा उनको बलियो बहुमत देखिएको छ। एक सभापति, १३ पदाधिकारी र १ सय २१ केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा देउवा समूह दुई तिहाई बहुमतमा देखिन्छ। अझ कोषाध्यक्ष र प्रवक्तासहित ३३ केन्द्रीय सदस्य मनोनित गर्न बाँकी नै छ। यी मनोनित संख्यासहितको केन्द्रीय कार्यसमितिमा देउवा शक्तिशाली सभापतिका रूपमा रहने प्रस्ट देखिएको छ।

सभापतिको दौडमा पहिलो चरणमा ८८ मतले जित्न नसकेका देउवा दोस्रो चरणमा ५ सय मतान्तरले विजयी भए। पदाधिकारीतर्फ देउवा पक्षले सबैभन्दा क्षति महामन्त्रीमा बेहोर्नुपर्यो भने अन्य सबैमा सन्तोषकजनक नतिजा आयो। केन्द्रीय सदस्यमा दुई तिहाई संख्यामा देउवा पक्ष विजय भएपछि उनी केन्द्रीय समितिमा अत्यन्त सुविधाजनक अवस्थामा रहेका छन्।

पदाधिकारीतर्फ उपसभापतिमा एक जना र ८ सहमहामन्त्रीमध्ये ६ जना देउवा पक्षका छन्। यद्यपि पार्टीको कार्यकारी र शक्तिशाली मानिएको महामन्त्रीको दुवै सिट देउवा समूहले गुमाएको छ। महामन्त्रीमा शेखर कोइराला पक्षका गगन थापा र प्रकाशमान सिंह पक्षका विश्वप्रकाश शर्मा विजयी भएका छन्। महामन्त्रीमा देउवा पक्षबाट प्रकाशरण महत र प्रदीप पौडेल उमेदवार बनेका थिए।

महामन्त्रीमा पराजित महतले सम्रगमा १४ औँँ महाधिवेशनमा समग्रमा आफ्नोतर्फ राम्रै नतिजा आएको निष्कर्ष निकालेका छन्। “महामन्त्रीमा क्रस भोटिङ धेरै भयो” महतले नेपालभ्युजसँग भने, “क्रस भोटिङ नभएको भए हाम्रो प्यानल नै आउने अवस्था थियो।”

देउवा समूहको नजर अब विश्वप्रकाश शर्मातिर छ। आफ्नो समूहबाट एक जना पनि महामन्त्री हुन नसकेपछि देउवाले शर्मालाई समूहमा फर्काउने प्रयत्न गरिरहेका छन्। शर्मालाई यस अघिको कार्यसमितिमा देउवाले नै पार्टी प्रवक्ताको जिम्मेवारी दिएका थिए।

१४ औँ महाधिवेशनमा पनि देउवाले शर्मालाई आफनै प्यानलमा समेटिन खोजेका थिए। जसकारण समूहभित्रका नेताहरूको व्यवस्थापनको दबाबमा रहेका देउवाले शर्मालाई सहामहामन्त्रीको उम्मेदवार बन्न आग्रह गरे। उक्त प्रस्तावलाई अस्वीकार गर्दै शर्मा सिंह प्यानलबाट उम्मेदवार बने।

सुविधाजनक गणित

३५ सिटको खुला केन्द्रीय सदस्यमा भएको निर्वाचनमा देउवा पक्षले २५ सिट हात पारेको छ। ९ महिला सिटमा भएको निर्वाचनमा देउवा पक्षले ८ सिटमा जीत हात पार्यो। भूगोल तर्फ सात वटै प्रदेशबाट एक महिलासहित तीन जना गरी २१ केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा देउवा पक्षका १८ उम्मेदवारले जिते।

केन्द्रीय सदस्यतर्फ खुला ३५, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी–जनजाति १५, खस–आर्य १३, मधेसी नौ, थारू चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसंख्यकबाट एक र अपांगबाट एक सदस्य निर्वाचित हुने व्यवस्था कांग्रेसमा छ।

केन्द्रीय सदस्यमा निर्वाचित देउवा पक्षका नेता रमेश लेखकका अनुसार कांग्रेसमा अहिलेमा सभापति देउवाको विकल्प नरहेको सन्देश महाधिवेशनले दिएको छ। “बहश र छलफलको क्रममा कसले के बोल्छ भन्दा पनि व्यहवारिक रूपमा अहिले राष्ट्रिय राजनीतिमा देउवाजीको विकल्प नै छैन” लेखक भन्छन्, “पार्टी महाधिवेशनमा व्यक्त मतको सन्देश पनि यही नै हो।”

युवा अनुहारको बाहुल्यता

गणितीय संख्यामा देउवा नयाँ कार्यसमितिमा अत्यधिक बहुमतमा देखिए पनि यो पटकको महाधिवेशनवाट पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म युवा पक्षको उपस्थिति कांग्रेसमा बलियो देखिन्छ। पदाधिकारीमा सभापति देउवा र उपसभापति पुर्णबहादुर खड्काबाहेक सबै नयाँ अनुहार देखिएका छन्। पदाधिकारी जस्तै समावेशी क्लस्टरको केन्द्रीय सदस्यमा पनि अधिकांश नयाँ र युवा पुस्ताका अनुहार निर्वाचित भएका छन्। जानकारहरू यसले सभापति देउवाले विगतमा जस्तो ढिलासुस्ती वा मनपरी गर्न नदिने अवस्था बनेको बताउँछन।

१३ औँ महाधिवेशनमा सभापतिमा निर्वाचित भएपछि देउवाले दुई पदाधिकारीकै भरमा दुुई वर्षसम्म पार्टी चलाएका थिए। आफ्नै नेतृत्वको पार्टी र सरकार भएको बखत तीन तहको निर्वाचनमा पार्टी पराजय भएपछि मात्रै देउवाले पदाधिकारीहरू मनोयन गरेका थिए। त्यो पनि सर्वसम्मत हुन सकेको थिएन। रामचन्द्र पौडेल र शशांक कोइराला पक्षले आपत्ति जनाउँदै बैठक नै बहिष्कार गरेको अवस्थामा देउवाले पदाधिकारी मनोयन गरेका थिए।

यद्यपि देउवालाई यो पटक पहिलाको जस्तो सुविधा छैन। नयाँ विधानले कोषाध्यक्षबाहेक अन्य सबै पदाधिकारी निर्वाचित हुने व्यवस्था गरेकोमा  केन्द्रीय सदस्यमा पनि ३३ जना मात्रै मनोनित गर्ने अधिकार सभापतिलाई दिएको छ। त्यही भएर देउवा दोस्रो कार्यकालमा पहिलो कार्यकालमा झैं पेलेर अघि बढ्न सक्ने छैनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved