अंग्रेजी नयाँ वर्षबाट जनकपुर-जयनगर रेल सञ्चालनमा आउने

नेपालभ्युज

अंग्रेजी नयाँ वर्षबाट जनकपुर-जयनगर रेल सञ्चालनमा आउने
फाइल फोटो।

काठमाडौं । लामो समयदेखि अन्योलग्रस्त बन्दै आएको नेपालमा रेल सञ्चालनको विषयले बल्ल टुंगोमा पुगेको छ।

भारतको जयनगरदेखि नेपालको कुर्थासम्म ३४५ किलोमिटर लामो भारत-नेपाल रेल सेवा सन् २०२२ को जनवरी पहिलो दिनदेखि सञ्चालनमा आउने भएको छ।

जयनगरदेखि कुर्था, कुर्थादेखि बिजिलपुरा र बिजिलपुरादेखि बर्दिबाससम्मको ६८ किलोमिटरको यो महत्वाकांक्षी आयोजना तीन चरणमा सम्पन्न गर्ने जिम्मा भारतको रेल्वे शाखा इरकोन इन्टरनेशनल लिमिटेडलाई दिइएको थियो।

भारत ईसीआरका प्रमुख जनसम्पर्क अधिकारी (सीपीआरओ) राजेश कुमारका अनुसार रेल्वेले जयनगरदेखि कुर्थासम्मको परियोजना पूर्ण रूपमा सम्पन्न गरिसकेको जनाएको छ। जनकपुर- जयनगर रेल सञ्चालनका लागि नेपाल रेल्वे कम्पनी र भारतीय कोनकन रेल्वेज कर्पोरेसनबीच सम्झौता भएको थियो।

कोंकण रेल्वेले सेप्टेम्बर २०२० मा नेपाल सरकारलाई कम्तीमा १० वटा रेलको डिब्बा हस्तान्तरण गरेको थियो तर दुई छिमेकी देशबीच रेल सेवा सञ्चालनमा आउन सकेको भने थिएन।

अहिलेको अवस्थालाई मध्यनजर गर्दै नेपाल सरकारले यात्रुको आवश्यकता पूरा गर्न शुरुमा जयनगर र कुर्थाबीच पाँच डिब्बाको लोड कम्पोजिसनसहित यात्रुवाहक रेल सञ्चालन गर्न इच्छुक रहेको बताउँदै रेल्वेले ट्र्याक बिछ्याउने काम पनि पूरा गरिसकेको राजेशकुमारले बताए।

जयनगर र कुर्था बीचको रेल सेवा शुरु भएपछि भारत र नेपालका विज्ञहरूको संयुक्त टोलीले ट्र्याकको फिटनेसको निरीक्षण र कुर्था-बिजिलपुरा मार्गको द्रुत परीक्षण गर्नेछन्।

तेस्रो चरणले बिजिलपुरादेखि बर्दिबाससम्म १७ किलोमिटर लम्बाइ समेट्नेछ। तर, रेल्वेले यस खण्डमा नयाँ लाइन बिछ्याउन र स्टेशन भवन निर्माणका लागि नेपाल सरकारबाट कुनै जग्गा प्राप्त गर्न नसकेको टाइम्स अफ इन्डियाले जनाएको छ।

जयनगरदेखि बर्दिबाससम्मको पूरै खण्डमा आठ वटा स्टेशन र छवटा हल्ट हुने जनाइएको छ। सन् २०१८ अगस्टमा नेपाल र भारतबीच भएको सम्झौताअनुसार यो परियोजनाको अनुमानित लागत ७ अर्ब ८७ करोड भारतीय रुपैयाँ हुने भारतीय विदेश मामिला मन्त्रालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved