कांग्रेस प्रदेश २ अधिवेशन : आफ्नो पक्ष जिताउन केन्द्रीय नेताहरूको दौडधुप

निधिले शेखर समूहलाई समर्थन गर्ने !

कांग्रेस प्रदेश २ अधिवेशन : आफ्नो पक्ष जिताउन केन्द्रीय नेताहरूको दौडधुप

जनकपुरधाम। आज मंगलबारदेखि शुरु हुँदै गरेको नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनले अहिले जनकपुरधामको माहोल पुस महिनाको जाडोमा पनि तातिएको छ।

आफ्ना आफ्ना पक्षका उम्मेदवारलाई जिताउन काठमाडौंबाट कतिपय नेताहरू जनकपुरधाम आइपुगेका छन् भने कतिपय आउने क्रममा छन्।

शेखर कोइरालाले निवर्तमान केन्द्रीय सदस्य गुरुराज घिमिरेको संयोजकत्वमा युवा नेता भूपेन्द्रजंग शाही, रामकृष्ण यादव र तेजुलाल चौधरीलाई प्रदेश २ निर्वाचनका लागि जनकपुरधाममा खटाएका छन्।

सभापति शेरबहादुर देउवा पक्षधर उम्मेदवार रौतहटका कृष्णा यादवलाई सघाउन केन्द्रीय सदस्यमा निर्वाचित गृहमन्त्री बालकृष्ण खाँडको नेतृत्वमा उदयशमशेर राणा र रामहरि खतिवडासहित टोली अबेर राति जनकपुरधाम आइपुगेका छन् भने प्रदेश-२ बाट केन्द्रीय सदस्य निर्वाचित रमेश रिजाल र आनन्दप्रसाद ढुंगानाले स्थानीयस्तरमा समूहको चुनावी रणनीति बनाइरहेका छन् ।

विमलेन्द्र निधि पनि सोमबारै जनकपुरधाम आइपुगेका छन्। नेता निधिले प्रदेश सभापतिमा प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवका लागि शेखर कोइराला समूहसँग मिलेर जाने प्रयास गर्दै छन्।

निधिमात्र होइन, कोइराला समूहले पनि प्रदेश २ को अधिवेशनलाई प्रतिष्ठाको विषय बनाएको छ । उक्त समूहबाट निर्वाचित उपसभापति धनराज गुरुङ र महामन्त्री गगनकुमार थापा पनि आज जनकपुरधाम आउँदै छन्। उनीहरू सोमबार अन्तिम फ्लाइटमा आउने कुरा भए पनि आज आउने भएका छन्।

सोमबार साँझ निधि र यादवसँग कोइराला समूहका नेताहरू रामकृष्ण यादव र गुरु घिमिरेले मन्त्री निवासमा छलफल गरेका थिए। “सहमतिका लागि संवाद भइरहेको छ”, कोइराला पक्षबाट वार्तामा रहेका यादवले भने, “तर हालसम्म सहमति हुन सकेको छैन।”

पदाधिकारी र सदस्यहरूमा बहुमत दिनुपर्ने माग आफूहरूले छलफलमा राखेको यादवले बताए। भने, “उहाँहरू आपसी छलफलमा जुट्नु भएकाले जवाफ प्राप्त भएको छैन। सभापतिमा रामसरोज यादवलाई सघाउन हामी तयार छौं”, तर अन्य पदहरूमा आफ्नो पक्षको बहुमत हुनुपर्ने उनले दाबी गरे।

प्रदेश सभापतिका लागि दुई जना उम्मेदवार मात्र रहे पनि समूह तीन छन्। कोइरालाको समूहले सभापतिमा दाबी नगरी अन्य पदहरूमा बहुमत खोजेको छ। सभापतिका लागि संस्थापन इतर ले प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवलाई प्राथमिकतामा राखेको छ।

स्रोतहरूका अनुसार कोइराला समूहले उपसभापति-१, महामन्त्री-१ र सहमहामन्त्री-२ मागेका छ। तर छलफलमा रहेका नेता निधिले महामन्त्री-१ र सहमहामन्त्री-१ मात्र दिने अडान लिएका छन्। सभापति, दुवै उपसभापति र दुई जना सहमहामन्त्री लिने अडान निधिले नछाडेका कारण सहमतिमा ढिलाइ भएको बुझिएको छ। सहमतिमा नेता निधि नै तगारो बनेको आरोप लगाउँदै सो समूहका एक जना नेताले भने, “भित्री रूपमा उनी कोइराला समूहलाई रोक्न खोजेका छन्।”

कोइराला समूहले संस्थापन पक्षका उम्मेदवार कृष्णा यादवलाई सघाउन इच्छुक नरहेकाले निधिले कमजोर मूल्यांकन गरी सीमित पद दिन चाहेको आरोप लगाएको छ।

प्रदेश २ मा बलियो रहेको संस्थापन पक्षका उम्मेदवारलाई पराजित गर्न कोइराला समूहलाई समर्थन अनिवार्य देखिएको छ। तर महाधिवेशनको सभापतिका लागि भएको दोस्रो निर्वाचनमा देउवालाई सघाएका निधिलाई प्रदेश चुनावमा सकस देखिएको छ।

देउवा पक्षका घोषित उम्मेदवार कृष्णा यादवले आफ्नो उम्मेदवारी कायम रहेको बताउँदै गृहमन्त्रीलगायत केन्द्रीय नेताहरूको टोली चुनावमा सघाउन जनकपुरधाम आइपुगेका बताए। “प्रदेशमा बहुमत प्रतिनिधिहरू संस्थापन पक्षमा रहेकाले चुनाव जित्नेमा म ढुक्क छु”, उनले दाबी गरे, “निधिलगायतका नेताहरूको समर्थन समेत मलाई नै छ।”

कोइराला समूहसँग सहमतिमा भइरहेको ढिलाइले मन्त्री रामसरोज यादवनिकटका नेताहरूमा भने छटपटी बढाएको छ। समयमै सहमतिको सन्देश प्रतिनिधिहरूमा जान सके त्यसको सकारात्मक असर हुने उनीहरूको विश्वास छ। तर नेता निधिले भने अडान छाडेका छैनन्। मन्त्री यादवले आफूलाई स्वतन्त्र उम्मेदवारको रूपमा प्रचार गरिरहेका छन्।

उनले स्वतन्त्र उम्मेदवारकै रुपमा उम्मेदवारी घोषणा गरेका कारण सबै समूहको मत सहज रूपमा आउने विश्वास गरेका छन्। संस्थापन पक्षविरुद्ध जित्ने उम्मेदवारका रुपमा कोइराला समूहले पनि उनलाई पत्याएका छन्।

निर्वाचन समितिले स्थानीय गोपाल धर्मशालामा दिउँसो २ बजे मनोनयन पत्र दाखिलाका लागि समय निर्धारण गरेको छ। त्यसअघि प्रदेशका सबै जिल्लाका प्रतिनिधिहरूले नाम दर्ता गराउन बिहान ८ बजेदेखि समय निर्धारण गरिएको छ।

कांग्रेस धनुषाका सचिव विशेश्वर यादवले जारी गरेको सूचनाअनुसार प्रतिनिधिहरूले नाम दर्ता गराउन २ हजार नगदको रसिद काट्नुपर्नेहुन्छ। प्रतिनिधिहरूलाई भोजन व्यवस्था गरिए पनि बासको व्यवस्था स्वयं गर्नुपर्ने कांग्रेस धनुषाका उपसभापति सन्तोष यादवले बताए।

३२ क्षेत्र रहेको प्रदेश २ को निर्वाचनमा करिब २ हजार ७५ मतदाता छन् । कांग्रेसको विधानअनुसार प्रदेश अधिवेशनमा महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधि मतदाता हुन्छन् । मतदानका लागि बुधबार बिहानदेखि समय निर्धारण गरिएको छ।

सोमबारसम्म ३० क्षेत्रमा अधिवेशन सम्पन्न भएर प्रतिनिधि छनोट भएका छन् । निर्वाचित क्षेत्रीय सभापतिमध्ये देउवा समूहका २१, कोइराला समूहका ७ र निधि समूहका २ जना छन् । महाधिवेशनमा समेत प्रदेश २ का तीनवटै केन्द्रीय सदस्यमा देउवापक्षीय उम्मेदवार निर्वाचित (दुई जना निर्विरोध) भएका छन् । १३ औं महाधिवेशनबाट निर्वाचित जिल्ला सभापतिमध्ये देउवा समूहका ६ र निधि समूहका २ जना छन्।

महाधिवेशन अघिसम्म तटस्थ रहेका सप्तरीका जिल्ला सभापति दिनेश यादव आफ्नो प्यानलबाट केन्द्रीय सदस्य उम्मेदवार बनेपछि देउवा समूह थप उत्साही छ ।

प्रदेश २ का आठवटै जिल्लामा अधिवेशन भएको छैन । केन्द्रीय निर्वाचन समितिले जिल्ला अधिवेशन नभए पनि महाधिवेशनअघि प्रदेश अधिवेशन गर्ने तयारी गरेको थियो तर केन्द्रीय सभापतिमा उम्मेदवारी दिएका निधिको आग्रहमा निर्वाचन रोकिएको थियो ।

“आफ्नै प्रदेशमा आफूले समर्थन गरेको उम्मेदवार पराजित भएमा त्यसको असर उम्मेदवारीमा पर्ने भएपछि निधिको आग्रहमा प्रदेशको निर्वाचन रोकियो,” एक कांग्रेस नेताले भने, “अहिले उहाँ जसरी, जोसँग मिलेर भए पनि प्रदेशमा आफ्नो नेतृत्व स्थापित गर्ने कसरतमा हुनुहुन्छ ।”

१७ मंसीरमा प्रदेश अधिवेशन उद्घाटन भए पनि केही जिल्लाबाट महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधि छनोटमा ढिलाइ भएको भन्दै प्रदेश निर्वाचन स्थगित भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved