दलहरूको महाधिवेशन प्रभावः उकालो लाग्दै कोरोना संक्रमण

‘‘आजको संक्रमित संख्या हेर्दा केही बढेको पाइएको छ। चितवनमा १० मंसीरमा एमालेको महाधिवेशनको प्रभाव अब देखिन लागेको हो”, जनस्वास्थ्यविद् मरासिनी भन्छन्, “काठमाडौंमा कांग्रेसको महाधिवेशन भइरहेको छ। यसको प्रभाव पनि पक्कै देखिने नै छ।”

दलहरूको महाधिवेशन प्रभावः उकालो लाग्दै कोरोना संक्रमण

काठमाडौं। नेपालमा पछिल्लो समय कोरोना संक्रमण बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक हेर्दा पछिल्ला दिनहरुमा संक्रमितको संख्या बढेको देखिएको हो।

एकसाताअघि दुई सयको हाराहारीमा नयाँ संक्रमण पुष्टि भइरहेकोमा पछिल्लो २४ घण्टामा साढे तीन सयको हाराहारीमा संक्रमित थपिएका छन्।

मन्त्रालयका अनुसार २३ मंसीरमा नौ हजार ४५१ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा २११ जनामा संक्रमण पुष्टि भएको थियो। २४ मंसीरमा १० हजार ४४७ जनाको स्वाब परीक्षण गर्दा २५९ जनामा संक्रमण पुष्टि भयो।

यस्तै, २५ मंसीरमा भने नौ हजार १७८ जनाको स्वाब परीक्षण गर्दा २३६ जनामा संक्रमण पुष्टि भयो। २६ मंसीरमा आठ हजार ६८२ जनाको नमूना परीक्षण गर्दा २५४ जनामा संक्रमण देखियो भने आज १३ हजार २३६ जनाको स्वाब परीक्षण गर्दा ३४१ जनामा संक्रमण पुष्टि भएको हो।

यसरी अन्य दिनको तुलनामा आज सय जनाको हाराहारीमा संक्रमित थपिएका हुन्। ओरालो लागिसकेको संख्यामा पुनः वृद्धि हुनुलाई सहज रुपमा लिन नसकिने जनस्वास्थ्यविद् बाबुराम मरासिनी बताउँछन्।

‘‘आजको संक्रमित संख्या हेर्दा केही बढेको पाइएको छ। चितवनमा १० मंसीरमा एमालेको महाधिवेशनको प्रभाव अब देखिन लागेको हो”, जनस्वास्थ्यविद् मरासिनी भन्छन्, “काठमाडौंमा कांग्रेसको महाधिवेशन भइरहेको छ। यसको प्रभाव पनि पक्कै देखिने नै छ।”

स्वास्थ्य विज्ञहरुले बारम्बार जहाँ भीड त्यहाँ कोभिड छ भनिरहँदा पनि भीडभाड हुन नछोडेकोमा मरासिनीले गुनासो गरे। ‘‘पार्टीले यसरी भीडभाड गर्दै कार्यक्रम आयोजना गर्दा कोभिड–१९ संक्रमण बढ्छ। यो स्वाभाविक नै हो”, उनले भने।

अहिले देशभर कोरोनाको सक्रिय संक्रमितहरुको संख्या पाँच हजार ८२४ रहेको छ। हालसम्म कुल संक्रमितको संख्या ९ लाख २० हजार ३४५ जना पुगेको छ।

देशभरबाट अहिलेसम्म कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख ७ हजार १५४ पुगेको छ। हालसम्म ११ हजार ५५७ जना कोरोना संक्रमितको निधन भएको छ।

अहिले पनि बागमती प्रदेशमा दुई हजार ३९१ जना सक्रिय संक्रमित रहेका छन्, जसन प्रदेशगत रुपमा सबैभन्दा धेरै हो। गण्डकी प्रदेशमा ८९० जना सक्रिय संक्रमित रहेका छन्।

लुम्बिनी प्रदेशमा पनि ७४४ जना सक्रिय संक्रमित छन्। प्रदेश नम्बर १ मा पनि ६५५ जना र प्रदेश नम्बर २ मा ६०२ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार अहिले १२६ जना कोराना संक्रमित आईसीयूमा तथा ३३ जना भेन्टिलेटरमा उपचाररत रहेका मन्त्रालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved