छाउगोठ भत्काएपछि भैंसीगोठमा बस्न थाले महिला

प्रभावकारी जनचेतनाबिनै छाउगोठ भत्काउँदा छाउगोठको रूप मात्रै फेरिएको छ भने चेतना बदलिएको छैन।

छाउगोठ भत्काएपछि भैंसीगोठमा बस्न थाले महिला

बझाङ। बझाङका महिलाहरू महीनावारीको समयमा घरबाहिर बस्नुपर्ने बाध्यताबाट अझैंं मुक्त हुन सकेका छैनन्। स्थानीय प्रतिनिधि, प्रहरी र सरोकारवालाहरूको अगुवाइमा छाउगोठ भत्काएर छाउगोठ मुक्त अभियान चलाए पनि प्रभावकारी जनचेतना अभावका कारण महिलाहरू महीनावारी हुँदा बाहिरै बस्न बाध्य छन्।

छाउगोठहरू भत्काएर छाउगोठ मुक्त घोषणा गरिएपछि यहाँका महिला महीनावारी हुँदा गाईभैँसीको गोठ र बाख्राखोरमा बस्न थालेका छन्।

पहिलोपटक महीनावारी हुदाँदेखि नै छाउगोठमा बस्न थालेकी मष्टा गाउँपालिकाकी सरिता (नाम परिवर्तित) भन्छिन्, “घरभित्रै बस्ने मन भएपनि देउता रिसाउने भन्दै बूढाबूढी (सासु–ससुरा)ले बस्नै दिँदैनन्। त्यसैले महीनावारी हुँदा पाँच दिन बाध्य भएर छाउगोठमै बस्ने गर्छुं।”

उनले गाउँ छाउगोठहरू भत्काउने अभियान चले पनि आफूले कहिल्यै घरभित्र बस्न नपाएको पीडा सुनाइन्। प्रहरी-प्रशासनको डरले नयाँ छाउगोठ बनाउन भने छाडेका छन्। तर अहिले गाउँका धेरै महिला दिदीबहिनी गाईभैँसीको गोठ, बाख्राखोर, स्नानघर र ओडारमा बस्ने गरेको उनी बताउँछिन्।

घरमा बसे देउता रिसाउँछन् भन्ने अन्धविश्वासले गर्दा आफूहरू महीनावारी हुँदा घरबाहिर (छाउगोठ) बस्न बाध्य हुँदै आएको तल्कोट गाउँपालिकाकी बिनिता (नाम परिवर्तित)ले बताइन्। देउता रिसाउने र घरमा अनिष्ट हुने अन्धविश्वासले गर्दा आफूहरूले बर्षौंदेखि छाउगोठमा बस्दा हैरानी खेप्नु परेको उनको भनाइ छ। उनी भन्छिन्, “छाउ बार्न मन छैन तर देवी–देवताको डरले घरमै बस्न पाउँदैनौं।”

छाउगोठको रूप मात्रै फेरिएको तर संस्कार र सोच जहाँको त्यहीँ रहेको महिला अधिकार मञ्चकी अध्यक्ष जयन्ती जोशीले बताइन्। देउता रिसाउने अन्धविश्वास भएकै कारण महीनावारी भएका महिलाहरू स्वयं समेत पानी पँधेरा प्रयोग गर्न, फलफूलका बोटविरुवा छुन र दूध दही खानबाट पनि वञ्चित हुने गरेको जोशीले भनाइ छ।

‘‘छाउगोठमा बस्दा कतिपय महिला दिदी बहिनीहरू बलात्कृत हुने, विषालु सर्प, बाघ, भालु लगायत जंगली जनावरको शिकार हुने गरेका छन्’’, अधिकारकर्मी जोशीले भनिन्, “महीनावारी भएका महिलाले भूलबस फलफूलका बोटबिरुवा छोइहाले सुनपानी छर्केर शुद्ध गर्ने, देउता रिसाउने र देवता रिसाएमा घरमा अनावृष्टी, अतिवृष्टी हुने भन्ने जस्ता अन्धविश्वासले गर्दा महिलाहरूले लामो समयदेखि यस्ता उत्पीडन भोग्दै आएका छन्।”

महीनावारी हुँदा छाउगोठमा नबस्न र अन्धविश्वास तोडेर अघि बढ्न जोशीले सुझाव दिइन्। महीनावारी भएको समयमा घरबाहिर एक्लै बस्नु पर्दा असुरक्षा समेत हुने गरेको उनले बताइन्।

छाउगोठ भत्काए पनि परिवर्तन नभएपछि अब कसरी अघि बढ्ने भनेर रणनीति बनाउन लागिएको जनप्रतिनिधिहरू बताउँछन्।

मष्टा गाउँपालिका अध्यक्ष कर्ण बहादुर बठायत भन्छन्, “छाउगोठहरू भत्काएपछि कतिपय घरको दैलोभित्र बस्न थालेका छन्, बाँकीलाई पनि घरभित्र बसाल्नको लागि विभिन्न विकल्प छन्। तीमध्ये कुनै विकल्प अघि सार्छौँ।”

महीनावारी हुँदा घरबाहिर र छाउगोठमा बस्नेहरूलाई सरकारी सेवा सुविधा रोक्नेदेखि धामीलाई आश्वस्त गर्ने विकल्पहरू आफूसँग रहेको स्थानीय सरकारका अधिकारीहरूले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय बझाङले विभिन्न समयमा गरी हालसम्म १४३ वटा छाउगोठहरू भत्काएको जनाएको छ। बझाङमा जम्मा ४२५ छाउगोठ रहेका र जिल्लामा छाउगोठ भत्काउने अभियानलाई निरन्तरता दिइने जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर कमल प्रसाद चौधरीले बताए।

महीनावारी भएका बेला बस्न भनेर बनाइएका छाउगोठमा बस्ने क्रममा महिला एवं किशोरीले वर्षेनी ज्यान गुमाउन थालेपछि त्यस्तो अभियान शुरु गरिएको थियो। अभियानलाई साथ दिँदै महिलाहरू स्वयं सहभागी भएर आफूहरू बस्दै आएका छाउगोठहरू भत्काएका थिए।

जिल्लाको धामीलेक, खप्तडछान्ना गाउपालिका, मस्टा गाउपालिका, तलकोट गाउपालिका, साइपाल गाउपालिका, बुगंल नगरपालिकाका महिलाहरू महीनावारी हुँदा पुनः छाउगोठमै बस्न बाध्य छन्।

महिलाको रजस्वला वा सुत्केरी अवस्थामा छाउगोठमा राख्न, कुनै किसिमको भेदभाव, छुवाछुत, अमानवीय व्यवहारको कसुर गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved