नाडाको साधारणसभामा अर्थमन्त्री शर्माले भने- सवारीसाधन आयातमा प्रतिबन्ध लगाउन सकिँदैन

नेपालभ्युज

नाडाको साधारणसभामा अर्थमन्त्री शर्माले भने- सवारीसाधन आयातमा प्रतिबन्ध लगाउन सकिँदैन
फाइल तस्वीर

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले नेपालमा भित्रिने सवारी साधनहरूको आयातमा प्रतिबन्ध लगाउन नसकिने बताएका छन्।

अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को ४५ औं वार्षिक साधारणसभामा अर्थमन्त्री शर्माले अहिले अटो व्यवसायीलाई कतै अहिले हुँदै आएको सवारी साधन आयातमा सरकारले प्रतिबन्ध गर्ने हो कि भन्ने त्रास बढेता पनि तत्काल प्रतिबन्ध लगाउन नसकिने बताए।

अर्थमन्त्री शर्माले अहिले विश्व प्रविधिमा धेरै अगाडि रहेकाले आयात प्रतिबन्ध लगाउन नसकिने स्पष्ट पारे। आयातलाई पनि निरन्तरता दिँदै अब नेपालमै सवारी साधन उत्पादनमा जोड दिन अटो व्यवसायीलाई उनले आग्रह गरे।

अर्थमन्त्री शर्माले सवारी साधन उत्पादन गर्न व्यवसायीलाई विद्युतमा सहुलियत, जग्गा उपलब्ध गराउने, न्यनूतम उद्योग सञ्चालन हुने ग्यारेन्टी दिने प्रतिबद्धतासमेत जनाए। “सवारी साधन आयातमा सरकारले प्रतिबन्ध गर्दैन। व्यवसायी यो विषयमा चिन्तित बन्नु पर्दैन। सरकारले प्रतिबन्ध होइन्। स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउने काम गर्नेछ। अहिले आयातमा प्रतिबन्ध लगाउन सकिन्न, विभिन्न ऐन कानूनले पनि दिँदैन, तर स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाएर आयात कम गराउन सकिन्छ।”

अर्थमन्त्री शर्माले आफू अर्थशास्त्र जानेको मान्छे नभए पनि देशलाई आत्मनिर्भर बनाउन कुन बाटो लानुपर्छ भन्ने थाहा भएको बताए। देश सम्पन्न र आत्मनिर्भर नभई जनताले सेवा सुविधा नपाउने मन्त्री शर्माले जिकिर पनि गरे।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारलाई राजश्व तिर्न एशोसिएशन मध्ये नाडा पहिलो नम्बरमा आउने बताए। उपाध्यक्ष ढकालले सरकारले अर्थतन्त्रलाई बलियो बनाउन परम्परागत नीतिगत व्यवस्थालाई परिर्वतन गर्नुपर्ने पनि बताए।

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको ४५ औं वार्षिक साधारणसभा आज र भोलि दुई दिनसम्म हुनेछ। सभाले नाडाको नयाँ नेतृत्व चयन गर्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved