राप्रपा महाधिवेशन

निर्मल निवास भन्छ- हामी खेलेको भए दुई सय मत मात्र फरक पर्थ्यो र?

नेपालभ्युज

निर्मल निवास भन्छ- हामी खेलेको भए दुई सय मत मात्र फरक पर्थ्यो र?

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएसँगै कमल थापाले निर्मल निवासतर्फ आफ्नो रोष प्रकट गरे। महाधिवेशनमा आफूलाई निर्मल निवासले असहयोग गरेका कारण आफू हारेको उनले घुमाउरो अभिव्यक्ति दिएका थिए।

निर्मल निवासले भने थापाले आरोपको कुनै आधार नभएको प्रतिक्रिया दिएको छ। नेपालभ्यूजसँग कुरा गर्दा निर्मल निवास स्रोतले भन्यो, “निर्मल निवास खेलेको भए थापा के दुई सय मत मात्रले अध्यक्ष पदमा पराजित हुन्थे होलान्?,” भन्दै प्रतिप्रश्न प्राप्त भयो।  खेल्नै परेको भए निर्मल निवासले पार्टीको महाधिवेशन प्रतिनिधि छनोटबाट नै खोल्न सक्थ्यो होला स्रोतले भन्यो।

“सधैँ एउटै मान्छेले जित्नुपर्छ भन्ने छैन, निर्वाचनमा हार-जित हुन्छ त्यसलाई समान्य रुपमा लिनुपर्छ,” निर्मल निवासको भनाइ थियो।

राप्रपा स्थापनामा पार्टी स्थापना गर्न रवीन्द्रनाथ शर्मा, पद्म सुन्दर लावतीको ठूलो भूमिका रहेको बताउँदै निर्मल निवास स्रोतले कुनै एक व्यक्तिले पार्टीलाई नै आफ्नो जस्तो व्यवहार गर्नु गलत भएको आशय व्यक्त गर्‍यो।

समाजिक सञ्जालमा थापाले प्रकट गरेको रोषप्रति इंगित गर्दै निर्मल निवास स्रोत थप्छ, “हारेपछि त्यस्तो बोल्नु स्वाभाविक हो।”

महाधिवेशन दुवै पक्षले निर्मल निवासमा पूर्वराजा ज्ञानेन्द्रसँग भेटघाट गरेको आरोप लागेको थियो। थापाले लिङ्देनलाई निर्मल निवासको समर्थन रहेको आरोप लगाएका थिए। यसैबीच लिङदेनले १६ मंसीरमा महाधिवेशन आयोजना स्थल भृकुटीमण्डपमा पत्रकारमाझ थापा पूर्वराजा ज्ञानेन्द्रलाई भेट्न निर्मल निवास पुगेको दाबी गरे।

लिङ्देन र थापामध्ये निर्मल निवासको समर्थन कसलाई थियो भन्ने प्रश्नमा निर्मल निवास स्रोत भन्छ, “हामीलाई व्यक्तिसँग भन्दा एजेण्डासँग मतलब हो, कसले के भन्यो भन्नेसँग होइन। हिजो १० वर्ष बढी कमल थापाले पार्टीलाई नेतृत्व गर्नुभएको हो, अहिले नयाँले अवसर पायो,” निर्मल निवास भन्छ। आफूहरूको चासो एजेण्डामा मात्रै भएको भन्दै नयाँ नेतृत्व आउँदैमा खास उत्साहित भने नभएको पनि निर्मल निवासले प्रतिक्रिया दिएको छ।

कमल थापा नेतृत्वको राप्रपाले दोस्रो संविधानसभा निर्वाचनमा २४ सिट ल्याएको थियो। २४ सिट नै समानुपातिक सिट ल्याएको राप्रपाले राजतन्त्रकै मुद्दाका कारण त्यति भोट ल्याएको राजनीतिक वृत्तका जानकारहरू बताउने गर्छन्।

“२४ सिट ल्याएको पार्टीले मुद्दा स्थापित गर्न के गर्‍यो त?,” निर्मल निवास उत्तर दिन्छ, “सत्तामा जानुबाहेक मुद्दा स्थापित गर्न भूमिका नखेल्नेले अहिले निर्मल निवासलाई आरोप लगाउनुको कुनै तुक हुँदैन।”

थापाले राजतन्त्रको मुद्दा राजनीतिक फाइदका लागि मात्रै प्रयोग गरेको आरोप लाग्दै आएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved