एमाले महाधिवेशन

उम्मेदवारी फिर्ताको प्रयासमा लाग्दा निर्वाचन प्रक्रिया धकेलियो

नामावली प्रकाशनपछि प्रक्रिया पूरा गर्न ४ घण्टा लाग्ने, अनि मात्र मतदान

नेपालभ्युज

उम्मेदवारी फिर्ताको प्रयासमा लाग्दा निर्वाचन प्रक्रिया धकेलियो

चितवन। उम्मेदवारहरूलाई सर्वसम्मत गराउन खोज्दा नेकपा एमालेको १०औँ महाधिवेशनको निर्वाचन प्रक्रिया फेरि धकेलिएको छ। राति ९ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने भनिए पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका विभिन्न समूहका उम्मेदवारहरूलाई सर्वसम्मत गराउन खोज्दा निर्वाचन पर धकेलिएको हो।

चितवनको सौराहामा जारी बन्दसत्रमा १९ सदस्यीय पदाधिकारीमा एक वरिष्ठ उपाध्यक्ष, एक महासचिव, ३ उपमहासचिव पदमा सर्वसम्मत चयन भएको छ। यस्तै, १ अध्यक्ष, ५ उपाध्यक्ष, ७ जना सचिवका लागि पनि मतदान हुन लागेको हो। यस्तै केन्द्रीय सदस्य पदमा पनि मतदान हुन लागेको हो।

केन्द्रीय सदस्यका केही उम्मेदवारहरू आफ्नो उम्मेदवारी फिर्ता लिन सहमत भएका बताइएको छ। भूगोलबाट प्रतिनिधित्व गर्ने विभिन्न समूहबाट उम्मेदवारी दिएकाहरूलाई सर्वसम्मत गराउने कोसिस भएकाले निर्वाचन प्रक्रिया ढिलो भएको बताइन्छ। एक नेताले भने ‘‘सदूपश्चिमलगायत अन्य प्रदेशबाट उम्मेदवारी दिएकाहरूलाई सर्वसम्मत गराउने कोसिस भइरहेको छ।’’

यता सचिव पदका उम्मेदवार भीम आचार्य र टंक कार्की भने उम्मेदवारी फिर्ता नगर्ने अडानमा छन्। उनीहरूले अडान राखे पनि संस्थापन पक्ष भने अरू उम्मेदवारलाई मनाउन प्रयासरत छन्।

अहिलेसम्म खुला महिलातर्फ ५३ जना सर्वसम्मत निर्वाचित भएका छन्। भूगोल अन्तर्गतको प्रदेश नम्बर २ र कर्णालीको केन्द्रीय कमिटीका लागि सर्वसम्मत भएको छ।

निर्वाचन समितिले अन्तिम नामावली प्रकाशन गरेपछि ती नामहरू इलेकट्रोनिक्स भोटिङ मेसिनमा एन्ट्री’ गर्न दिइन्छ। नामावली प्रकाशनपछि ती नामावली एन्ट्री गर्नलगायत अन्य प्रक्रिया पूरा गर्न करिब ४ घण्टा समय लाग्ने बताइन्छ। हालसम्म अन्तिम नामावली प्रकाशन नहुँदा मतदान प्रक्रिया तत्काल नहुने बताइन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved