यसकारण चितवन गएनन् प्रचण्ड

अहं र सम्बन्धमा तितोपनका कारण एमाले महाधिवेशनको उद्घाटनमा गएनन् माओवादी अध्यक्ष प्रचण्ड।

यसकारण चितवन गएनन् प्रचण्ड
फाइल तस्वीर

काठमाडौं। एउटा पाइलटले शुक्रबार चितवनमा भाषण गरिरहँदा उही जेटका अर्काे पाइलटले भने काभ्रेमा भाषण गरिरहेका थिए। एउटाले आफ्नो पार्टीको दशौं महाधिवेशन उद्घाटन गर्दै र अर्कोले महाभारत गाउँपालिकामा कार्यक्रम उद्घाटन गर्दै एकअर्कालाई सरापिरहेका थिए।

नेकपा (नेकपा) नामक जेट सर्वोच्च अदालतमा खसेपछि दुवै पाइलटले आफ्ना पुरानै जहाज उडाइरहेछन्। आआफ्ना जहाज चलाए पनि दुई पाइलट र तिनका कार्यकर्ता ‘नीतिगत’रुपमै निर्णय गरेजसरी तल्लो स्तरमै ओर्लेर एकअर्कालाई गाली गरिरहेका छन्।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पूर्ववत् अवस्थामा फर्केको महिनौं बित्दा पनि एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकअर्कालाई गाली गर्न थाकेका छैनन्। तथानाम गाली अझै सकिएका छैनन्। कतिसम्म तिक्तता साँधेका छन् भने आज (१० मंसीर) चितवनमा शुरु भएको एमाले महाधिवेशनमा माओवादी अध्यक्ष प्रचण्ड गएनन्। सत्तारुढ नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवा, लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष कमल थापालगायतका नेताले एमालेलाई शुभकामना दिइरहँदा प्रचण्डले काभ्रेमा भाषण गरिरहेका थिए।

“एमाले महाधिवेशनमा सहभागी हुन पार्टीलाई निम्तो आएको थियो। हामीले पार्टी प्रतिनिधि पठाएका छौं,” प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भने, “स्थायी समिति सदस्य लिलामणि पोखरेल कमरेडले अध्यक्ष प्रचण्ड र पार्टीको शुभकामना लिएर जानुभएको छ।”

ओली–दाहाल इगो

प्रचण्डको सचिवालयले काभ्रे जाने कार्यक्रम पहिले नै तय भएको भने पनि अन्तर्यमा भने दाहाल र ओलीको व्यक्तिगतरुपै बढेको तिक्तता र इगो नै हो। कुनै बेला ओली र दाहाल एकअर्काका कट्टर आलोचक थिए। माओवादीको आलोचना गरेरै माओवादी विरोधी शिविरमा ओली स्थापित भएका थिए। तर, राजकाजको डाडुपन्यु आलोपालो चलाउने सहमतिमा उनीहरूले पार्टी एकता गरे। त्यो एकता धेरै टिकेन।

ओलीले दाहाललाई राजकाजमा सहभागी बनाउन नखोजेको भन्दै पार्टी कलह शुरु भयो। त्यसै क्रममा नामसम्बन्धी विवादमा सुनुवाई गर्दै सर्वोच्च अदालतले नयाँ नाममा पार्टी दर्ता गर्ने आदेश दिएपछि एमाले र माओवादी पूर्ववत् अवस्थामा पर्किए। साथसाथै दुई नेता गालीगलौजमा उत्रिए। व्यक्तिगत तिक्तता पनि बढी भयो।

“यसबीचमा ओलीले जे जे हर्कत गरे, ती हर्कतका कारण अध्यक्ष नजानुभएको हो। उनले राजनीतिक संस्कार पनि देखाएनन्। अहिष्णु भएर प्रस्तुत भए,” एक माओवादी नेताले भने, “हामी राजनीतिक संस्कारसहितका भएकाले जेजस्ता हर्कत गरे पनि पार्टी प्रतिनिधि पठाएका छौँ। निम्तो पठाएपछि जानु नै पर्‍यो।”

अहिले एमाले, माओवादी नेताले बोल्दा विरोध गरेकै हुन्छन्। यद्यपी एउटा संसद्वादी दलको कार्यक्रममा अर्को संसद्वादी दलको नेताले आफ्ना कुरा राख्न जाने गरेको देखिन्छ। तर, यही कुरा अध्यक्ष दाहालले भने पचाउन नसकेर नगएको टिप्पणी पनि गरिएको छ।

स्मरणीय त के भने, एमालेले माधवकुमार नेपाल नेतृत्वको नेकपा(एकीकृत समाजवादी)लाई निम्तो समेत पठाएन। निर्वाचन आयोगले मान्यता दिएको नेपाल नेतृत्वको पार्टीलाई एमाले नेताहरूले सार्वजनिक रुपमै अवैधानिक भन्दै आएका छन्।

फुटको घाउ

एमाले र माओवादी केन्द्र अलग भएको प्रसंगभन्दा अलि अगाडिका कम्युनिष्ट टुटफुट हेरौँ।

दाहाल नेतृत्वको माओवादी फुट्यो। मोहन वैद्य ‘किरण’को नेतृत्वमा अर्को माओवादी बन्यो। वैद्यको पार्टी छाडेर नेत्रविक्रम चन्द ‘विप्लव’ले नयाँ दल खोले। बाबुराम भट्टराईले माओवादी छाडे। तर तिनले एकअर्कालाई गाली गरेनन्। ललकारेनन्। नीतिगत कुरामात्र गरे। तलै ओर्लेर तथानाम गाली गरेनन्। तर, एमाले र माओवादी पूर्ववत् अवस्थामा फर्केपछि, माधव नेपाल नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी बन्यो, त्यसपछि एकअर्कालाई गाली गरे। कम्युनिष्ट पार्टी फुट्दा यसअघि जसरी गाली गर्थे, उसरी नै एमाले र माओवादी गालीगलौजमा उत्रिए।

“वैद्य, भट्टराई, विप्लव अलग हुँदा सहिष्णु हुने नयाँ खाले संस्कृती बसाउन खोजेका थिए, त्यो अहिले देखिएन। जसरी पहिले पहिले कम्युनिष्ट पार्टी टुटफुटको अभ्यासमा तल्लो स्तरमै ओर्लन्थे त्यसरी नै एमाले र माओवादी तल ओर्ले,” राजनीतिक विश्लेषक भास्कर गौतम भन्छन्।

अहिले दुई दल प्रतिष्पर्धी दल र दुई प्रतिष्पर्धी ओली र दाहाल देखिएका छन्। जो तलै झरेर गालीगलौजमा उत्रिएका छन्।

महाधिवेशनथलो चितवन

एमालेले प्रचण्डको चुनावी क्षेत्र चितवनमा महाधिवेशन गर्ने भएपछि ओलीले चितवन र प्रचण्डलाई जोडेर आलोचना गर्दैआएका छन्। प्रचण्डले आफूलाई ताकेर नै एमालेले चितवनमा महाधिवेशन गर्न थालेको तर्क गरे। ओलीले प्रचण्डलाई आफ्नो गृह जिल्ला झापामा महाधिवेशन गरेर देखाउनसमेत चुनौती दिएका थिए।

एमाले सुरुमा महाधिवेशन बुटवलमा गर्ने निर्णय गरेको थियो। ओली दाहालबीच जुहारी चर्कदै गएपछि एमालेले चितवन सारेको थियो। एमालेले देशको बीच भागमा पर्ने भएकाले चितवनमा महाधिवेशन गर्ने भने पनि प्रचण्डकै कारण चिनवन छानिएको देखिन्छ। एमालेले प्रचण्डको निर्वाचन क्षेत्रमा शक्ति प्रदर्शन गर्न, उनलाई ललकार्न पनि चितवन रोजेको हो।

माओवादी नेताहरूको कथन छ, “ओलीले प्रचण्डको इगो साँधेरै चितवनमा राखेका हुन्। होइन भने त पहिले बुटवलमा गर्ने भनिएको थियो।”

प्रचण्डको लागि चितवनको चुनाव उनको राजनीतिक अस्तित्वसँग जोडिएको छ। भोट, चुनावी क्षेत्र, जनाधार गाँसिएको क्षेत्रसँग पनि भर पर्छ। प्रचण्डले त्यही भोट माग्नु छ।

“कार्यक्रममा सहभागी हुँदा, गएर बोल्दा, ओलीसँगै सँगै बस्दा र बोल्दा असर पर्ने हो कि भनेर पनि दाहाल रोकिएका हुन्,” राजनीतिक विश्लेषक भास्कर गौतमले भने।

दाहाल नगएर के भयो?

नेपालका मूलधारे राजनीतिक दलका महाधिवेशनमा मुख्य दलका शीर्ष नेता गएको देखिन्छ। तर, फुटको घाउमात्र होइन, गालीगलौज पनि आलै भएकाले दाहाल गएनन्। उनले पार्टीमा टप फाइभमा पनि नपर्ने नेता पठाए। माओवादीले पार्टीभित्र वरियताक्रममा दोस्रो, तेस्रो तहका नारायणकाजी श्रेष्ठ वा प्रबक्ता कृष्णबहादुर महरालाई पनि पठाएनन्।

“स्थायी समितिको पनि वरिष्ठ नेतालाई नै पठाएका छौँ। अध्यक्ष नै जानुपर्ने भन्ने थिएन,” स्वकीय सचिव मल्लले भने।

यसलाई गौतमले भोली हुने सहकार्यको लागि बाटो किन बन्द गरिहाल्ने भनेर पनि पठाएको भनेर अथ्र्याए।

“पठाउनुको कारण त भोलि पनि एक किसिमको समीकरण बनाएर जानुपर्ने अवस्था रहिरहन्छ। नेतालाई पठाएर त्यसो गरे। आफू गएर केही अप्ठेरो हन्छ कि भन्ने सिग्नल दिने कुरा रोक्न पनि हो,” गौतमले भने। कुन तहको पठाए भनेर त आन्तरिक रुपमामात्र हो।

एमाले र माओवादी पार्टी र नेताबीच जस्तो तिक्तता छ, त्यसले दलभन्दा बाहिर पनि आदानप्रदानको संस्कृति कायमै छ भन्ने देखाउँछ।

“पठाउनु अर्थ त एकअर्कालाई निषेध गर्न गाह्रो छ। पछि राजनीतिमा जे पनि हुन सक्छ भन्ने देखाउन पनि हो,” गौतमले भने, “हिजो जस्तो भए पनि भोलि सहकार्य गरेर जानुपर्ने, समीकरण बनाउनुपर्ने, कम्तिमा सार्वजनिक थलोमा हार्दिकता प्रस्तुत गर्नुपर्छ भनेर पनि पठाएको हो।”

कहाँ गए प्रचण्ड ?

प्रचण्ड शिवपुरीमा दिवंगत लामा गुरुको अन्त्येष्टिको बत्ती बाल्ने कार्यक्रममा सहभागी भए। त्यसपछि काभ्रेको महाभारत गाउँपालिकामा आयोजित कार्यक्रममा सहभागी भए।

“काभ्रेको महाभारत गाउँपालिकाको निम्तोमा जाने पहिलेदेखि नै कार्यक्रम तय भएको थियो। हामी त काभ्रे गएका छौँ। बिहान शिवपुरी पनि गयौँ,” स्वकीय सचिव मल्लले भने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved