धनुषा र महोत्तरीमा कांग्रेसको क्षेत्रीय अधिवेशन निष्कर्षमा पुगेन

नेपालभ्युज

धनुषा र महोत्तरीमा कांग्रेसको क्षेत्रीय अधिवेशन निष्कर्षमा पुगेन

जनकपुरधाम। नेपाली कांग्रेस धनुषा र महोत्तरीको क्षेत्रीय अधिवेशन आज पनि निष्कर्षमा पुग्न सकेन। धनुषा क्षेत्र नं. १ को ‘क’ र क्षेत्र नं. ४ ‘ख’ तथा महोत्तरी क्षेत्र नम्बर ४ ‘क’ मा भने सर्वसम्मत नेतृत्व चयन भएको छ।

नेपाली कांग्रेस धनुषा निर्वाचन सचिवालय प्रमुख रामगुलाम कर्णका अनुसार धनुषा क्षेत्र नं. १ ‘क’ बाट सभापतिमा जगतनारायण साह, क्षेत्र नं. ४ ‘ख’ बाट बासु पौडेल सर्वसम्मतबाट चयन भएका छन्।

अन्य क्षेत्रमा आकांक्षी संख्या बढी र सर्वसम्मतमा विवाद सिर्जना भएपछि क्षेत्रीय अधिवेशन निष्कर्षमा पुग्न नसकेको निर्वाचन सचिवालय प्रमुख कर्णले जनाए।

उनले धनुषा क्षेत्र नं. २ र ३ को दुवै प्रदेशसभा क्षेत्रमा सहमतिका लागि प्रयास जारी रहेको र क्षेत्र नं. १ ‘ख’ मा आज मतदान भएको बताए।

त्यसैगरी क्षेत्र नं. ४ ‘क’ मा भोलि शुक्रबार मतदान हुने र सहमति जुट्न नसकेको क्षेत्र भने चुनावी प्रक्रियामा जाने तयारी रहेको निर्वाचन सचिवालय प्रमुख कर्णले जनाए।

त्यसैगरी नेपाली कांग्रेस महोत्तरीमा पनि बिहीबार बेलुकीसम्म क्षेत्र नम्बर ४ मा मात्र सर्वसम्मत नेतृत्व चयन भएको छ। उपिनप्रसाद यादवको नेतृत्वमा २१ सदस्यीय क्षेत्रीय कार्यसमिति निर्वाचित भएको महोत्तरी कांग्रेसले जनाएको छ।

अन्य क्षेत्रमा भने छलफल सर्वसम्मत प्रयास जारी रहेको महोत्तरी कांग्रेसका सभापति महेन्द्र राय यादवले बताए।

निर्वाचन क्षेत्र नम्बर ३ को ‘ख’ मा अझै प्रदेश प्रतिनिधि चयन हुन सकेका छैनन्। निर्वाचन गर्न पनि नमान्ने र सर्वसम्मत गर्न पनि अस्वीकार गर्ने एक पक्षको अडानका कारण महोत्तरीमा वडादेखि पालिका र क्षेत्रीय अधिवेशन विवादित बन्दै आएको छ।

मनरासिस्वा नगरपालिकाको वडा नम्बर ८ मा अझै वडा अधिवेशन नै हुन सकेको छैन। त्यसैगरी प्रदेश प्रतिनिधि छनोटमा समेत ढिलाइ भइरहेको केन्द्रबाट खटिएर आएका निर्वाचन अधिकृत इन्द्र सुवेदीले बताए।

विवादित क्षेत्र नम्बर १, २ र ३ मा सहमति नभए निर्वाचनको विकल्प नरहेको सभापति यादवको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved