एमालेको दशौँ महाधिवेशन

विश्व कम्युनिष्ट आन्दोलनसँग कसरी जोडिएको छ नेकपा (एमाले)?

नेपाली कम्युनिष्ट आन्दोलनमा रहेको चिनियाँ प्रभावको धारबाट विकसित नेकपा (एमाले) अहिले सहकार्यको तहमा पुगेको छ।

विश्व कम्युनिष्ट आन्दोलनसँग कसरी जोडिएको छ नेकपा (एमाले)?

दशौँ महाधिवेशनको संघारमा रहेको नेकपा (एमाले)को नेतृत्व तहले यसलाई नेतृत्व छनोटको मञ्चको रूपमा स्थापित गरिरहेछ। तर हरेक पार्टीको महाधिवेशन त्यसको सर्वोच्च अंग त हो नै, साथै त्यो पार्टीको विगत, वर्तमान र भविष्यको दिशा आकलन गर्ने अवसर पनि हो। हरेक दल विश्व राजनीतिबाट अलग हुन सक्दैन। यसै पनि हाम्रा हरेकजसो आन्दोलन विश्वका आन्दोलनहरूको लहरबाट प्रभावित छन्। यो पृष्ठभूमिमा नेकपा (एमाले)ले आफ्नो अन्तर्राष्ट्रिय सम्बन्ध कसरी स्थापित गरिरहेछ ? यसको विगत कस्तो थियो ? वर्तमान कस्तो छ ? यो आलेख यिनै प्रश्नको सेरोफेरोमा केन्द्रित छ।

सम्पर्कदेखि विभाजनको कारकसम्म

‘विदेशी साम्राज्यवाद र भारतीय पुँजीवादको घेराबाट अलग हुँदै चीनमा जस्तो नव प्रजातन्त्र’ स्थापना गर्ने उद्देश्यसहित २००६ सालमा पुष्पलालको नेतृत्ववमा नेपाल कम्युनिष्ट पार्टी भारतको कलकत्तामा स्थापित भयो। (नेपाल कम्युनिष्ट पार्टीको पहिलो पर्चा, पुष्पलाल, २०७३, पृ. ३२)

साम्राज्यवाद र विस्तारवाद तत्कालीन समयमा राजनीतिक भाष्य मात्रै थिएनन्, बरु तत्कालीन विश्व व्यवस्थाको प्रतीक पनि थिए।

दोस्रो विश्वयुद्धको अन्त्यसँगै संयुक्त राज्य अमेरिका र सोभियत संघबीच कसले विश्वको नेतृत्व गर्ने भन्ने होडबाजी शुरु भयो।

विश्वका अधिकांश देश अमेरिकाले नेतृत्व गरेको पुँजीवादी र सोभियत संघले नेतृत्व गरेको समाजवादी ध्रुवमा बाँडिए। स्वतन्त्र भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरू लगायतले थालेको ‘तेस्रो बाटो’ असंलग्न आन्दोलनको बिज तयार हुँदैथियो। नेपाल कम्युनिष्ट पार्टीले भने घोषित रूपमै सोभियत संघको पक्षधरता लिएको थियो। १५ सेप्टेम्बर १९४९ मा प्रकाशित नेपाल कम्युनिष्ट पार्टीको घोषणा-पत्रमा निकालिएको निष्कर्ष थियो-

‘आज संसार तीव्र गतिले दुई गुटमा बाँडिदैछ। एउटा गुट हो- पुँजीवादी गुट, जसको थाप्लोमा अंग्रेज अमेरिकन एकाधिकार पुँजी छ। अर्को गुट हो- समाजवादी गुट। यस गुटको नेतृत्व समाजवादी सोभियत प्रजातन्त्र संघ र अन्तर्राष्ट्रिय मजदूर वर्ग हुन्। हरेकले यी दुई गुटमध्ये एउटा भित्र पस्नु नै पर्दछ, एउटा बाटोमा लम्कनु नै पर्दछ। आफ्ना विश्वासघाती अनुहारहरूलाई ढाक्न र प्रतिक्रियावादीहरूसँगको आफ्नो मेलमिलापलाई लुकाउन यी नकच्चराहरूले “तेस्रो बाटो”को नारा लगाएका हुन्। यसो गर्नु नक्कली राजनीति गर्नु हो। नेहरूको “तेस्रो बाटो” को नमूना यसको मनग्ग प्रमाण हो। …यस्ता झूठा साथी र नक्कली प्रजातन्त्रवादीहरूसँग एकदमै होसियार हुनुहोस् जनताको जनतन्त्रको आन्दोलनलाई सुलहनामा (मेल-मिलाप)को बाटो त्यागी यसलाई अगाडि बढाउनको निम्ति सोभियत संघको नेतृत्वमा खडा भएको विश्व साम्राज्यवाद विरोधी गुटमा हाजीर हुनुहोस्।’ (पुष्पलाल, २०७३, पृ. ४४)

घोषणापत्रमा विश्व राजनीतिको साँगोपाँगो विश्लेषण गरिएको भए पनि नवजात नेपाल कम्युनिष्ट पार्टीको सम्बन्ध भने भारतीय कम्युनिष्टहरूमा सिमित थियो। त्यसको शुरुआत भएको थियो, पश्चिम बंगालका कम्युनिष्ट नेता नृपेन्द्र चक्रवर्तीसँगको भेटबाट। नेकपाका संस्थापक नेता पुष्पलालले त्यसलाई पहिलो अन्तर्राष्ट्रिय सम्पर्क भनेका छन्। उनी लेख्छन्- ‘उनले (दार्जिलिङका कम्युनिष्ट एम. एल. ए. रतनलाल) मलाई भारतीय कम्युनिष्ट पार्टी पश्चिम बंगालका मन्त्री नृपेन्द्र चक्रवर्तीसँग भेट गराइदिए। अब मेरो अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीसँग बिधिवत सम्पर्क भयो।’ (पुष्पलाल, २०५३, पृ. २७)

भारतीय कम्युनिष्टसँग नजिक भएका नेपाली कम्युनिष्टहरूको अन्य मुलुकहरूसँगको सम्बन्धको शुरुआत भने चीनबाट भयो। नेपालमा कम्युनिष्ट पार्टी गठन हुनुको एक वर्षअघि लामो गृहयुद्धबाट विजय प्राप्त गरेर सत्ता सम्हाल्न थालेको चिनियाँ कम्युनिष्ट पार्टीको प्रभाव नेपाल र भारतलगायत तेस्रो विश्वमा मनग्गे थियो। यो सम्बन्धको शुरुआत भने प्रतिबन्धित अवस्थामा रहँदा भएको थियो, त्यो पनि एउटा प्रशिक्षणबाट।

२०१३ सालमा टंकप्रसाद आचार्यको नेतृत्वको सरकारले कम्युनिष्ट पार्टीमाथिको प्रतिबन्ध फुकुवा गरेपछि नेकपाले खुला गतिविधी गर्ने अवसर पायो। त्यो अवसर अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारका लागि पनि थियो।

के. आई. सिंह नेतृत्वको विद्रोहलाई साथ दिएको भन्दै मातृकाप्रसाद कोइराला नेतृत्वको तत्कालीन सरकारले २००८ सालमा नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगायो। त्यसको एक वर्षपछि प्रतिबन्धित अवस्थामा रहेको ‘नेकपाले प्रान्तीय समितिका सदस्य गौरीभक्त प्रधान (मनमोहन अधिकारी र पुष्पलालका जेठान)लाई चीनमा तालिम लिन गुप्त रूपमा पठाएको थियो’ (रावल, २०४७, पृ. ३७)। प्रधानले लिएको तालिम भने गुरिल्ला युद्धको थियो।

प्रतिबन्धित अवस्थामा रहेको पार्टीले गुरिल्ला युद्ध सिक्न पठाएको उक्त घटनालाई नेकपा (एमाले)का सचिव एवं प्रवक्ता प्रदीप ज्ञवाली ‘रमाइलो प्रसंग’ ठान्छन्।

भन्छन्, “चिनियाँ कम्युनिष्ट पार्टीसँग गुरिल्ला युद्ध सिक्नका निम्ति गौरीभक्त प्रधान चीन जानुभएको थियो। सशस्त्र क्रान्तिबाट मात्रै आन्दोलन सफल हुन्छ भन्ने त्यो समयमा एक प्रकारको विश्वास थियो, त्यही विश्वासका कारण प्रधान चीन जानुभएको हो। यद्यपि सशस्त्र क्रान्तिले मात्रै आन्दोलन सफल हुँदैन भन्ने पछिल्ला कालखण्डका उदाहरणले प्रस्तुत गरेका छन्।”

त्यसो त १३-१७ माघ २०१० मा सम्पन्न नेकपाको पहिलो महाधिवेशनमै सोभियत कम्युनिष्ट पार्टी, चिनियाँ कम्युनिष्ट पार्टी र भारतीय कम्युनिष्ट पार्टीबाट बधाई सन्देश आएको थियो। त्यसपछि क्रमश तीनै देशका पार्टीबीचको अन्तरदेशीय सम्बन्धमा निकै नै बढोत्तरी आएको थियो (भूसाल र अन्य, २०७८, पृ. १११)

२०१३ सालमा टंकप्रसाद आचार्यको नेतृत्वको सरकारले कम्युनिष्ट पार्टीमाथिको प्रतिबन्ध फुकुवा गरेपछि नेकपाले खुला गतिविधि गर्ने अवसर पायो। त्यो अवसर अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारका लागि पनि थियो।

२०१३ असोजमा चिनियाँ कम्युनिष्ट पार्टीको आठौं महाधिवेशनमा भाग लिन निम्तो आएपछि नेकपाले केन्द्रीय समितिमा मतदानबाटै तत्कालीन महासचिव मनमोहन अधिकारी र केन्द्रीय सदस्यहरू शम्भुराम श्रेष्ठ र कमर साहलाई चुनेको थियो (रावल, २०४७, पृ. ४१)। अधिकारी दोस्रो सम्मेलनताका पनि चीनमा उपचाररत थिए।

उपचारका लागि चीन गएको प्रसंगले चीनसँगको सम्बन्ध राम्रो भएको बताउने एमालेका विदेश विभाग प्रमुख राजन भट्टराई बताउँछन्।

चीन भ्रमणमा जाँदा अधिकारीले आफ्नो महासचिव पद भने गुमाउनुपर्‍यो। उनी नहुँदा पार्टीको कार्यवाहक महासचिवमा केशरजंग रायमाझी चुनिए। पछि उनै रायमाझीको नेतृत्वले पार्टीलाई सोभियत संघनिकट उभ्याउँदा नेपालको कम्युनिष्ट आन्दोलन सोभियत विचारधारा र चिनियाँ विचारधारमा विभक्त भयो।

स्थापनादेखि २०१७ सालसम्म आईपुग्दा नेपालको कम्युनिष्ट आन्दोलनको भारत, चीन र सोभियत संघसँग सम्बन्ध रहेको पाइन्छ।

यो विभाजनको शुरुआत भने विश्व कम्युनिष्ट आन्दोलनमा आएको विभाजनबाट भएको थियो।

१ देखि ४ मंसीर २०१४ (१६-१९ नोभेम्बर १९५७) मा सोभियत संघको मस्कोमा भएको अन्तर्राष्ट्रिय कम्युनिष्ट र मजदूर पार्टीहरूको सम्मेलनमा नेपालका कम्युनिष्ट नेताहरूको पनि सहभागीता रह्यो। अक्टोबर क्रान्तिले ४० वर्ष पूरा गरेको अवसरमा आयोजित कार्यक्रममा विश्वभरका ६४ कम्युनिष्ट पार्टीको सहभागिता थियो। सोभियत संघको २० औँ राष्ट्रिय कांग्रेस र स्टालिनको निधनपछि आयोजना भएको सम्मेलनमा भारतीय कम्युनिष्ट पार्टीको सहभागीता हुँदा नेपाल भने सहभागी भएन। तर त्यहाँबाट शुरु भएको विश्व कम्युनिष्ट विवादले नेपालको कम्युनिष्ट आन्दोलनलाई प्रशस्त प्रभाव पार्‍यो।

पुष्पलालको समूहबाट राजनीति शुरु गरेका हाल नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें ‘का. रोहित’ लेख्छन्-

‘१९५७ मा मस्कोमा समाजवादी देशहरूको कम्युनिष्ट र मजदूर पार्टीको एक बैठक बस्यो। त्यस बैठकमा सोभियत कम्युनिष्ट पार्टीले पुँजीवाद समाजवादमा शान्तिपूर्ण तरिकाले नै फेरिन सक्छ भन्ने कुरामा जोड दियो। …१९६० मा मस्कोमा विभिन्न देशका ८१ वटा कम्युनिष्ट र मजदूर पार्टीका प्रतिनिधिको एक बैठक बस्यो। त्यस बैठकमा पनि रुसी कम्युनिष्ट पार्टीका नेतृत्व गुटले समाजवादमा ‘शान्तिपूर्ण तरिकाले भित्रिने’ कुरामा बल दिइनै रह्यो। …सोभियत कम्युनिष्ट पार्टीको त्यस नीतिलाई नेपालका सच्चा कम्युनिष्टहरूले आलोचनात्मक ढंगले हेर्नथाले। तर नेपाल कम्युनिष्ट पार्टीका माथिल्ला नेताहरू भने सोभियत कम्युनिष्ट पार्टी र भारतीय कम्युनिष्ट पार्टीका पिछलग्गु बने। (का. रोहित, २०४९, पृ. क-ख)

२०१७ सालमा राजा महेन्द्रले कू गरेपछि यो विवाद आन्तरिक राजनीतिमा प्रवेश गर्‍यो। १ पुस २०१७ मा कू हुँदा नेकपाका तत्कालीन महासचिव केशरजंग रायमाझी मस्कोमा थिए। उनले त्यहीँबाट पञ्चायतलाई स्वागत गरे।

यही विन्दुबाट नेपालको कम्युनिष्ट विचार पनि धुव्रीकृत भएको एमाले सचिव ज्ञवाली बताउँछन्। भन्छन्, “रायमाझी समूह सोभियत समर्थनमा लाग्दा पुष्पलाल, मनमोहन अधिकारी चिनियाँ विचारनजिक पुगे।”

स्थापनादेखि २०१७ सालसम्म आईपुग्दा नेपालको कम्युनिष्ट आन्दोलनको भारत, चीन र सोभियत संघसँग सम्बन्ध रहेको पाइन्छ।

भारतको कम्युनिष्ट आन्दोलनसँग सम्बन्धित व्यक्तिसँग नेपाली कम्युनिष्ट आन्दोलनका तत्कालीन नेतृत्वको सम्बन्ध राम्रो थियो। यस्तै अन्य समाजवादी आन्दोलनसँग सम्बन्धित व्यक्तिसँग पनि व्यक्तिगत सम्बन्ध थियो। मनमोहन अधिकारी भारतको स्वतन्त्रता संग्राममा सहभागी भएका थिए भने पुष्पलाल श्रेष्ठको पनि भारतीय नेताहरूसँग राम्रो सम्बन्ध थियो।

प्रयत्नमा बितेको पञ्चायती काल

सोभियत निकट रहेको केशरजंग रायमाझी समूहले खुलेरै पञ्चायतको समर्थन गर्‍यो भने चिनियाँ कम्युनिष्ट पार्टी निकट रहेका पुष्पलाल र अन्य नेताले विरोध गरे।

“सोभियत निकट रहेका रायमाझी समुहलाई पञ्चायती शासकले खासै गिरफ्तार नगरे पनि चीन निकटका कम्युनिष्टहरू गिरफ्तारीमा परे, एमाले नेता ज्ञवाली भन्छन्।

चिनियाँ कम्युनिष्ट विचारधारासँग नजिक रहेका नेता मनमोहन अधिकारी, मोहन विक्रम सिंह, शम्भुराम श्रेष्ठ लगायतका गिरफ्तार परे भने यही धारका अर्का नेता पुष्पलाल भारत निर्वासनमा रहे।

१ पुसमा संसद् विघटन भएपछि सोही वर्षको फागुनमा भारतको दरभंगामा पार्टीको केन्द्रीय समितिको विस्तारित बैठक (प्लेनम) बस्यो। चर्को विवादबीच एक महीनासम्म चलेको यो बैठकले पार्टीमा तीन लाइनको विकास गर्‍यो। वैधानिक राजतन्त्र र निर्देशित प्रजातन्त्रको पक्षमा पार्टीका महासचिव रायमाझीको समुह थियो। भने, विघटित संसद्को पुनस्थापना र संयुक्त जनआन्दोलनको पक्षमा पार्टीका स्थापक पुष्पलाल समुह थियो। यस्तै मोहनविक्रम सिंह समुह संविधानसभाको निर्वाचनको पक्षमा उभियो।

पार्टी सोभियत नजिक रहेन कि चीन निकट भन्ने विवाद त पार्टीभित्र थियो नै पार्टीले दरभंगा प्लेनमबाट तीन लाइन लिँदा त्यसले पार्टीको आन्तरिक जिवनमा ठूलो असर पार्‍यो।

एमालेका विदेश विभाग प्रमुख राजन भट्टराई भन्छन्, “पार्टीभित्र आन्तरिक विवाद त थियो नै सोभियत निकट रहने वा चीन निकट भन्ने विषयमा पार्टी विभाजन हुनपुग्यो।”

पार्टी विभाजन हुँदा नेपाली कम्युनिष्ट आन्दोलनको अन्तर्राष्ट्रिय सम्बन्ध पनि दुई धारमा बाढिएको भट्टराई बताउँछन्। सोभियत र चीनबीच सम्बन्ध बिग्रँदै जाँदा नयाँ जनवादी क्रान्तिलाई स्वीकार गर्ने नेपाली कम्युनिष्टहरूले सोभियतलाई स्वीकार नगर्ने, सम्बन्धै राख्न नचाहने, संशोधनवादी भन्ने जस्तो समस्या देखापरेको उनी बताउँछन्।

यस्तै सोभियत धारमा रहेका कम्युनिष्टहरूले चिनियाँ धारलाई उग्र-वामपन्थी भनेर सम्पर्क नगर्ने समस्या देखियो। यसले अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीसँगको सम्पर्कमा समस्या निम्त्यायो।

पार्टी विभाजनपछि पुष्पलाल समुहले बनारसमा आयोजना गरेको तेस्रो महाधिवेशनबाट तुलसीलाल अमात्य पार्टीको महासचिवमा चुनिए।

पार्टी विभाजन नै भए पनि रायमाझी समुहको सोभियतसँगको सम्बन्ध भने खास असर परेन। उनको समुहमा रहेका नेताहरूले पटकपटक सोभियत संघ भ्रमण गरेको एमालेका विदेश विभाग प्रमुख भट्टराई बताउँछन्।

“कम्युनिष्ट आन्दोलन विभाजित भए पनि सोभियतसँग नेपाली कम्युनिष्ट आन्दोलनको सम्बन्ध भने राम्रो थियो,” विदेश विभाग प्रमुख भट्टराई भन्छन्, “यद्यपी, कम्युनिष्ट आन्दोलन विभाजित हुँदा त्यसको असर नेपालको कम्युनिष्ट आन्दोलनलाई नपर्ने प्रश्न उठ्दैन, स्वभाविक रूपमा पर्‍यो।”

वर्तमान नेकपा (एमाले)को आरम्भ रूप नेकपा (माले) गठन हुँदा त्यसको सम्बन्ध विनोद मिश्रले नेतृत्व गरेको भारतीय कम्युनिष्ट पार्टी (माले) र चिनियाँ कम्युनिष्ट पार्टीसँग रहेको पाइन्छ। चिनियाँ कम्युनिष्ट पार्टीसँग सम्बन्ध विस्तारका लागि ईश्वर पोखरेल र अमृत बोहोरा ल्हासाको बाटो हुँदै चीन पुगेका थिए।

अर्कोतर्फ चिनियाँ जनवादी धार समातेका पुष्पलाल लगायतका व्यक्तिहरूको त्यस समयमा अन्तर्राष्ट्रिय सम्पर्क कम भएको भट्टराई बताउँछन्। भूमिगतकालका धेरै अभिलेख नभएको बताउँदै नेता भट्टराई भन्छन्, “पञ्चायत कालमा चिनियाँ विचारधारा बोकेको नेपालका कम्युनिष्टहरूले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्न सक्ने अवस्था खास थिएन।”

चिनियाँ कम्युनिष्ट पार्टीसँग सघन रूपमा छलफल गर्ने अवस्था नभए पनि एकले अर्कालाई सहयोग भने गरेको भट्टराईले बताए।

चीनमा जब सांस्कृतिक क्रान्तिको अन्त्य भयो, मोहनविक्रम सिंह लगायतका नेताले २०३६ सालको आसपास माओ विचारधारलाई अगाडी बढाउने कोशिस गरेका थिए। विशेषगरी चीनमा रहेका ग्याङ अफ फोरलाई हिरासतमा लिने काम भएपछि त्यसलाई प्रतिक्रान्तिको संज्ञा दिँदै नेपालमा उक्त कदमको विरोध पनि भएको थियो।

त्यही क्रममा मोहनविक्रम सिंहको पार्टी धेरै पटक विभाजित हुन पुगेको छ। नेपाल कम्युनिष्ट पार्टी (चौथो महाधिवेशन) बाट फुटेर नेपाल कम्युनिष्ट पार्टी (मसाल) गठन भएपछि उक्त पार्टी रिभोलुश्नरी इन्टरन्याशनल मुभमेन्ट (रिम) सँग जोडिन पुग्यो। १ चैत २०४० मा रिम स्थापना हुँदा नेपाल कम्युनिष्ट पार्टी (मसाल) त्यसको संस्थापक सदस्य थियो। रिम स्थापना हुनुभन्दा एक वर्षअघि मोहनविक्रम सिंह नेतृत्वको पार्टी स्थापना भएको हो।

वर्तमान नेकपा (एमाले)को आरम्भ रूप नेकपा (माले) गठन हुँदा त्यसको सम्बन्ध विनोद मिश्रले नेतृत्व गरेको भारतीय कम्युनिष्ट पार्टी (माले) र चिनियाँ कम्युनिष्ट पार्टीसँग रहेको पाइन्छ। चिनियाँ कम्युनिष्ट पार्टीसँग सम्बन्ध विस्तारका लागि ईश्वर पोखरेल र अमृत बोहोरा ल्हासाको बाटो हुँदै चीन पुगेका थिए।

२०३८ सालको आसपासमा भूमिगत कालमा हवाई सेवाको प्रयोग गर्न नपाउने अवस्थामा हिँडेर नै दुई नेता चीन पुगेका थिए। चीनसँग सम्बन्ध बिस्तारका लागि सिपि मैनालीको भूमिका पनि महत्त्वपूर्ण रहेको नेता राजन भट्टराई बताउँछन्।

यता भारतमा भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादी (सिपिआईएम) सँग पनि त्यो अवधिसम्म नेकपा मालेको सम्बन्ध स्थापना भएको थिएन। भारतको माले (सिपिआई) सँग मात्रै नेपालको सम्बन्ध थियो। २०४६ सालसम्म पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध तुलनात्मक रूपमा सीमित रहेको नेता प्रदीप ज्ञवालीको ठहर छ।

प्रतिबन्धित कालमा पनि अन्तर्राष्ट्रिय फोरमको उपयोग गर्ने प्रयास भने पार्टीले गरेको थियो। सन् १९६८ मा हङकङमा स्थापना भएको एशियाली विद्यार्थीहरूको संगठनमा नेकपा (माले)का विद्यार्थीहरू सदस्य रहेको नेता भट्टराई बताउँछन्।

“विद्यार्थीको उक्त संगठनमा नेपालले पनि सदस्यता लिँदै कम्युनिष्ट आन्दोलनका अन्य सदस्यसँग सम्पर्क स्थापनका गर्ने माध्यम बनायो,” भट्टराईले भने।

प्रजातान्त्रिक राष्टिय एकता मञ्च, मानवअधिकार संरक्षण मञ्च जस्ता केही मञ्च पार्टीकै नेतृत्वमा स्थापना भयो। त्यही मञ्चको प्रयोग गर्दै पार्टीले विदेशमा रहेका कम्युनिष्ट पार्टीसँग सम्बन्ध विस्तार गर्ने काम गरेको पार्टीका नेताहरू बताउँछन्।

नेपाल कम्युनिष्ट पार्टीले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गरे पनि पञ्चायत कालमा नेपालका कम्युनिष्ट पार्टीका पक्षमा बोलिदिने कुनै अन्तर्राष्ट्रिय संगठन भने नभएको विश्लेषण छ उनको। भन्छन्, “पञ्चायत कालमा कम्युनिष्ट नेता पक्राऊ पर्दा अन्तर्राष्ट्रिय हिसाबमा दबाब दिने तवरमा भने हाम्रो सम्बन्ध विस्तार भएको थिएन।”

सोही अवधिमा नेपाली कांग्रेसको अन्तर्राष्ट्रिय सोसलिस्ट संगठनमा पहुँच रहेका कारण पञ्चायत कालमा कांग्रेसी नेता पक्राऊ पर्दा रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब आउने गरेको ज्ञवाली बताउँछन्।

“कम्युनिष्ट नेताको हकमा त्यो भएन”, ज्ञवाली भन्छन्।

यसमा अर्को कारण पनि छ।सोभियत पक्षधरलाई पञ्चायती शासनले खासै गिर्फतार गर्दैन थियो, गरी हाले पनि लामो समय जेलमा राख्दैन थियो। उता चिनियाँ धारका नेताहरू पक्राउ पर्दा चीन बोल्दैनथ्यो किनभने अन्य देशको आन्तरिक मामिलामा नबोल्ने पनि उसको नीति नै थियो।

२०४६ सालको विद्यार्थी आन्दोलनपछि नेपालका कम्युनिष्ट पार्टीले एम्नेष्टि इन्टरनेशनल, मानवअधिकार रक्षामा काम गर्ने संगठन लगायतसँग सम्बन्ध विस्तार गर्ने प्रयास गरेको थियो। आन्दोलनका क्रममा पक्राऊ परेकाको रिहाइका लागि संस्थाले दबाब सिर्जना गर्ने काम भने गर्‍यो।

फैलियो सम्बन्ध

२०४६ मा बहुदलको स्थापनासँगै खुला राजनीतिमा आएपछि अन्य देशका कम्युनिष्ट पार्टीहरूसँगको सम्बन्ध फराकिलो हुँदै गएको बताउँछन् एमालेका विदेश विभागका सदस्य गोपाल खनाल।

पञ्चायतको अन्त्यपछि १४ देखि २० माघ २०४९ मा काठमाडौँमा पार्टीको पाचौँ महाधिवेशनको आयोजना भयो।

उक्त महाधिवेशनमा तत्कालीन महासचिव मदन भण्डारीले पार्टीको अन्तर्राष्ट्रिय सम्बन्धका तीन आयाम व्याख्या गरे-

१. कम्युनिष्ट आन्दोलनमा रहेका विश्वका अन्य पार्टीसँग पनि भाइचारा सम्बन्ध राख्ने।

२. विचार नमिल्ने विश्वका अन्य पार्टीसँग कूटनीतिक सम्बन्ध राख्ने।

३. ठ्यक्कै विचार नमिल्ने तर विश्वशान्ति, मानवअधिकार रक्षा, उत्पीडित वर्गको अधिकारका लागि काम गर्ने देशसँग मित्रवत सम्बन्ध स्थापना गर्ने।

एमाले ‘एशियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन’ (आईक्याप) को सदस्य पनि भयो। सन् २००० मा स्थापना भएको एशियाली देशका सत्ता पक्ष र विपक्षी दल सहभागी हुन पाउने यो संस्थाका माध्यमबाट पनि एमालेले अन्तर्राष्ट्रिय सम्बन्धलाई विस्तार गर्ने काम गरेको छ।

यही अवधिमा भारतको कम्युनिष्ट धारमा रहेका कम्युनिष्ट पार्टी अफ इन्डिया (सिपिआई) र कम्युनिष्ट पार्टी अफ इन्डिया माक्र्सिस्ट (सिपिआईएम) सँग पार्टीको सम्बन्ध विस्तार भएको थियो। यस्तै भारतीय कांग्रेसदेखि भारतीय जनता पार्टीसँग पनि पार्टीको सम्बन्ध स्थापना भएको नेता प्रदीप ज्ञवाली बताउँछन्।

यसैबीच एमाले ‘एशियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन’ (आईक्याप) को सदस्य पनि भयो। सन् २००० मा स्थापना भएको एशियाली देशका सत्ता पक्ष र विपक्षी दल सहभागी हुन पाउने यो संस्थाका माध्यमबाट पनि एमालेले अन्तर्राष्ट्रिय सम्बन्धलाई विस्तार गर्ने काम गरेको छ।

अमेरिका, बेलायत, जापान लगायतका देशसँग पार्टीको औपचारिक सम्बन्धको मिति यही नै हो भन्ने नरहे पनि विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने क्रममा विभिन्न देशसँग पार्टीको सम्बन्ध विस्तार भएको ज्ञवालीले बताए।

“अमेरिकामा निर्वाचनको समयभन्दा अन्य समयमा पार्टीगत व्यवस्था खासै नदेखिने भएकाले अमेरिकाका कुनै पनि पार्टीसँग पार्टीगत सम्बन्ध छैन,” नेता ज्ञवाली भन्छन्, “यद्यपि, अन्तर्राष्ट्रिय कार्यक्रममा अमेरिकासँग सहकार्य हुन्छ।”

यस्तै विभिन्न देशमा रहेका पार्टीका प्रवास कमिटीका माध्यमबाट पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारको भूमिका खेलेको ज्ञवाली बताउँछन्।

दाबी आफ्नै सिकाइको

विश्वबाट सिक्दै नेपालको कम्युनिष्ट आन्दोलन शुरु भए पनि नेपालको कम्युनिष्ट आन्दोलन अन्य देशको भन्दा फरक रहेको ज्ञवाली र भट्टराई दुवैको निकर्ष छ। जन आधारित कम्युनिष्ट आन्दोलनका कारण नेपालको कम्युनिष्ट आन्दोलन अन्यको तुलनामा फरक रहेको नेताद्वय ज्ञवाली र भट्टराईले बताए।  नेपालको कम्युनिष्ट आन्दोलन अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनभन्दा फरक छ भन्ने चार आधार रहेको उनीहरूको तर्क छ-

१. नेपालको कम्युनिष्ट आन्दोलन नेपालको प्रजातान्त्रिक आन्दोलनको महत्त्वपूर्ण अंग थियो।

२. जनताको समस्यासँग पार्टी जोडिदा पार्टी जनताको नजिक पुग्यो।।

३. नेपालको कम्युनिष्ट आन्दोलनको मौलिक पाटोका विषयमा २०३६ सालपछि सघन छलफल भएको पाइन्छ। हामीले सोभियत र चिनियाँ दुवै बाटो  नअपनाउने निर्णय गर्दै पार्टीले प्रजातान्त्रिक बाटोबाट नै कम्युनिष्ट आन्दोलनअघि बढाउने निर्णय गर्‍यो।

४. अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनसँग नेपालको कम्युनिष्ट आन्दोलन भावनात्मक हिसाबमा मात्रै नजिक थियो।

विश्वका कम्युनिष्ट आन्दोलन प्रजातन्त्रसँग सम्बन्धित छैनन् भन्ने आरोप लाग्दै गर्दा नेपालको कम्युनिष्ट आन्दनेलन जनतासँग जोडिएको पूर्व परराष्ट्रमन्त्री समेत रहेका नेता ज्ञवाली बताउँछन्। सोभियत संघको गल्तिबाट आफ्नो पार्टीले पहिले नै पाठ सिकेको ज्ञवालीको तर्क छ।

“सोभियत संघ जसरी सञ्चालन भएको थियो, त्यो लामो समय चल्दैन भन्ने हामीलाई थाहा थियो,” नेता ज्ञवाली भन्छन्, “चीनसँग हाम्रो शुरुवाती चरणबाट भाइचारको सम्बन्ध भए पनि बाटो फरक थियो।”

२०४६ सालमा नेपालमा प्रजातन्त्र स्थापना हुँदै गर्दा विश्वमा भने कम्युनिष्ट आन्दोलन विघटनको अवस्थामा पुगेको थियो। त्यस अवस्थामा कुनै पनि देशको पक्षधरता नलिनुको फाइदा नेकपा (एमाले) लाई पुगेको ज्ञवालीको तर्क छ।

“हामी कतै आड लागेको भए विश्वबाट कम्युनिष्ट शासन  पतन हुँदा त्यसले हामीलाई असर पुर्‍याउँथ्यो,” नेता ज्ञवाली भन्छन्, “हाम्रो कम्युनिष्ट आन्दोलनको जग नै फरक भएका कारण कम्युनिष्ट पतनका दिशामा जाँदा पनि हामीलाई असर पुर्‍याएन।”

२०५० सालमा भण्डारीले भारतको कलकत्तामा दिएकोे भाषणले नेपालमा प्रतिपादन भएको जबजलाई अन्तर्राष्ट्रियकरण गर्ने काम गरेको ज्ञवालीको तर्क छ।

यसमा नेता मदन भण्डारी र जनताको बहुदलीय जनवादलाई श्रेय जाने ज्ञवाली बताउँछन्। २०५० सालमा भण्डारीले भारतको कलकत्तामा दिएकोे भाषणले नेपालमा प्रतिपादन भएको जबजलाई अन्तर्राष्ट्रियकरण गर्ने काम गरेको ज्ञवालीको तर्क छ। नेता ज्ञवालीसँगै पार्टीका विदेश विभाग सदस्य खनाल पनि यो तर्कमा सहमत छन्।

खनाल भन्छन्, “सम्मेलनमा बोल्दै कम्युनिष्ट आन्दोलनको अवस्था के छ र आन्दोलनलाई प्रजातान्त्रिक धारमा ल्याउन किन आवश्यक छ भन्ने विषयमा भण्डारीले स्पष्ट पार्नुभएको छ।”

भारतीय कम्युनिष्ट पार्टीले आयोजना गरेको अन्तर्राष्ट्रिय कम्युनिष्ट सम्मेलनमा कन्टेम्प्रोरि सिच्चवेशन एण्ड भ्यालिडिटी अफ माक्सिजम् भन्ने कार्यपत्र प्रस्तुत गर्दै भण्डारीले तीन विषयमा जोड दिएको ज्ञवाली सम्झिन्छन्-

१. मार्क्सवादले धक्का खाएको मार्क्सवादको असफलताका कारण होइन, त्यो निश्चित मोडलको असफलता हो।

२. कम्युनिष्ट पार्टी जनताको भावनासँग जोडिनुपर्छ।

३. विविधतताबाट एकतामा जोड। विश्वका सबै देशको अवस्था फरक रहेको बताउँदै सबै मोडल सबै देशमा लागू गर्न नसकिने हुँदा कम्युनिजमको अभ्यास सबै देशमा फरक हिसाबमले हुनसक्छ।

कम्युनिष्ट आन्दोलनको असफलतालाई ध्यानमा राख्दै र नेपालको अनुभावलाई विचार गर्दै भण्डारीले यी विचार अगाडि सारेको ज्ञवाली बताउँछन्। कम्युनिष्ट पार्टीलाई जनताको समर्थन छ भन्ने पुष्टि गर्ने आधार के? आधार पुष्टि गर्ने माध्यम  भनेकै आवधिक निर्वाचन हो। त्यसैले कम्युनिष्टहरूले निर्वाचनलाई बहिष्कार गर्ने होइन सहभागी हुनुपर्छ र प्रतिस्पर्धाबाट मात्रै श्रेष्ठता हासिल गर्न सकिन्छ भन्ने भण्डारीको कार्यपत्रको  निकर्ष थियो।

“ल्याटिन अमेरिकन देशमा पछिल्लो समय देखिएको कम्युनिष्ट हलचलमा ठोस् प्रमाण नभए पनि भण्डारीको विचारले काम गरेको भन्न सकिन्छ,” ज्ञवाली भन्छन्, “भेनेजुयलाका राष्टपति ह्युगो चावेजको कम्युनिजम्को अभ्यास फरक प्रकारको हो। तर, त्यही क्षेत्रको ब्राजिल, बोलिभिया, चिली, अर्जेन्टिना लगायतका देशमा बढेको कम्युनिष्ट आन्दोलनमा कतै न कतै भण्डारीको विचारले काम गरेको छ भन्न सकिन्छ।”

यी देशमा चुनाव बाहेक पनि शान्तिपूर्ण बाटोबाट जनताको मुद्दामा कम्युनिष्ट आन्दोलनलाई एकाकार गर्ने प्रयास भएको छ। सरकारमा रहँदा जनताको हितमा सुधारको काम गर्दै र सरकार बाहिर रहँदा जनताकै मुद्दालाई प्राथमिकता दिने काम भएको ज्ञवाली सुनाउँछन्।

पार्टीको अन्तर्राष्ट्रियकरणमा २०४८ को निर्वाचन पनि महत्त्वपूर्ण रहेको नेता भट्टराईको तर्क छ।

“तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई मदन भण्डारीले निर्वाचनमा पराजित गर्दा अन्तर्राष्ट्रिय सञ्चार माध्यमले ‘इन नेपाल, कार्ल मार्क्स लिभ्स’ शीर्षकमा अन्तर्वार्ता प्रकाशन गर्‍यो,” नेता भट्टराई भन्छन्, “त्यो घटनाले पार्टीको अन्तर्राष्ट्रियकरणमा महत्त्वपूर्ण भूमिका खेलेको विश्वास गर्न सकिन्छ।”

सहकार्यको शुरूआत

२०४८ पछि एमाले पार्टी राज्यको अंगको रूपमा छ। यो अवधिमा पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध व्यापक फारकिलो भएको पार्टीका नेताहरू बताउँछन्।

“हाम्रो अहिले भाइचाराको सम्बन्ध कम्युनिष्ट विचारधारमा विश्वास गर्ने पार्टीसँग त छदै छ गैरकम्युनिष्ट पार्टीसँगको हाम्रो सम्बन्ध पनि हार्दिक छ,” ज्ञवाली बताउँछन्।

ल्याटिन अमेरिकी देशका राजनीतिक पार्टीहरूको संगठनदेखि विश्वका धेरै देशका पार्टीसँग राम्रो सम्बन्ध छ।

दक्षिण एशियामा पार्टीको सम्बन्ध प्रायः सबै राजनीतिक दलसँग रहेको देखिन्छ। आईक्याप र कम्युनिष्टहरूको अन्तर्राष्ट्रिय संगठनमार्फत् सम्बन्धलाई बढाई राख्ने प्रयन्तमा पार्टी रहेको छ।

यो अवधिमा पार्टी नेतृत्वको सरकारले भारतसँग मात्रै निर्भर रहेको नेपालको व्यापार तथा पारवाहन सम्बन्धलाई विस्तार गर्ने काम गरेको खनाल बताउँछन्। “

केपी ओलीको पहिलो प्रधानमन्त्रीत्वकालमा नेपालको भूराजनीतिले जुन विविधता पायो त्यो आफ्नो महत्त्वपूर्ण छ,” खनाल भन्छन्।

६-७ असोज २०७६ मा चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी स्कूल विभागको सक्रियतामा दुई देशका कम्युनिष्ट पार्टीबीच विचार आदानप्रदान गर्न काठमाडौंमा कार्यक्रमकै आयोजना भयो।

नेपालले ३ असोज २०७२ मा संविधान जारी गरेपछि भारतले नेपालको संविधानमा आफ्नो मागको सम्बोधन नभएको बताउँदै नेपालमाथि नाकाबन्दी लगाउने काम गर्‍यो। त्यही अवधिमा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्षले चैत २०७२ मा चीन भ्रमणका क्रममा व्यापार तथा पारवहान सन्धि गरेका थिए। पार्टीका विदेश विभाग सदस्य खनालले यसलाई उपलब्धि बताउँदै गर्दा सन्धि भएको लामो अवधिसम्म पनि कार्यान्वयनको चरणमा भने प्रवेश गरेको छैन।

६-७ असोज २०७६ मा चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी स्कूल विभागको सक्रियतामा दुई देशका कम्युनिष्ट पार्टीबीच विचार आदानप्रदान गर्न काठमाडौंमा कार्यक्रमकै आयोजना भयो। भने, दुई देशका कम्युनिष्ट पार्टीबीच पार्टीगत सम्बन्ध विस्तारका लागि ६ बुँदे सहमति समेत भएको थियो।

सहमतिको ती बुँदा यस्ता थिएः

१. दुई पार्टीबीच उच्चस्तरीय भ्रमण आदान प्रदान गर्ने

२. कम्युनिष्ट विचारधारा र अनुभव आदानप्रदान गर्ने

३. विचारधारात्मक प्रशिक्षलाई निरन्तरता दिने

४. एकआपसमा विकासको मोडलको अनुभव आदनप्रदान गर्ने

५. कार्यकता तहको अध्ययन भ्रमणको वृद्धि गर्ने

६. जनस्तरको सम्बन्ध अभिवृद्धि गर्ने

यसै अवधिमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पटक पटक नेपालको भ्रमण गर्दा दुई देशबीचको सम्बन्धका साथै पार्टीगत सम्बन्ध विस्तारमा पनि सहयोग पुगेको खनालको बुझाई छ।

भने, संयुक्त राष्ट्रसंघको महासभा, विश्व आर्थिक मञ्च लगायतका अन्तर्राष्टिय सम्मेलनमा प्रधानमन्त्री ओलीको सहभागीताले देशका साथै पार्टीको गरिमा बढाएको खनाल बताउँछन्।

सन्दर्भ सूची

का. रोहित। २०४९ (पहिलो सं. २०३२)। सोभियत संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन। काठमाडौः युवा अध्ययन गोष्ठी।

पुष्पलाल। २०५३ (दोस्रो सं.)। नेपालमा कम्युनिष्ट आन्दोलनको संक्षिप्त इतिहास। काठमाडौंः पुष्पलाल स्मृति प्रतिष्ठान।

पुष्पलाल। २०७३। पुष्पलाल छानिएका रचनाहरू भाग १। सं. बेदुराम भुसाल। काठमाडौंः पुष्पलाल स्मृति प्रतिष्ठान।

भूसाल, डा. बेदुराम, पन्थी, डा. माधवराज र सापकोटा, डा. ढाकाराम। २०७८। नेपाल रत्न पुष्पलाल। काठमाडौंः पुष्पलाल स्मृति प्रतिष्ठान।

रावल, भीम। २०४७ (दोस्रो सं.)। नेपालमा साम्यवादी आन्दोलन उद्भव र विकास। काठमाडौंः पैरवी प्रकाशन।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved