तीन बुँदे सहमति कार्यान्वयन नभए फेरि विद्रोह हुन्छ : विप्लव

‘‘सहमति कार्यान्वयन नगर्नु सरकारको कमजोरी हो । हामीलाई घेराबन्दी पार्न खोजे फेरि विद्रोह हुन सक्दछ ।’’

नेपालभ्युज

तीन बुँदे सहमति कार्यान्वयन नभए फेरि विद्रोह हुन्छ : विप्लव

धनगढी। नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफैँले गरेको तीन बुँदे सहमति कार्यान्वयनबाट सरकार पछाडि हट्न थालेको आरोप लगाएका छन्। तीन बुँदे सहमति भएको एक वर्षसम्म पनि कार्यान्वयन नभएको बताउँदै उनले सहमति कार्यान्वयन गर्न आनाकानी गरे फेरि विद्रोह हुने चेतावनी दिएका छन्।

‘‘सहमति भएको एक वर्षसम्म पनि सरकार आफ्ना वाचा पूरा गर्न आनाकानी गरिरहेको छ,’’ शनिबार धनगढीमा सुरु भएको दलित मुक्ति मोर्चा नेपालको पाँचौं राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै महासचिव विप्लवले भने, ‘‘सहमति कार्यान्वयन नगर्नु सरकारको कमजोरी हो। हामीलाई घेराबन्दी पार्न खोजे फेरि विद्रोह हुन सक्दछ।’’

उनले आफ्नो पार्टीसँग हतियार नभएको दाबी गरे। अहिले चौतर्फी रूपमा विप्लवसँग हतियार छ भन्ने आवाज उठ्न थालेको बताउँदै उनले आफ्नो पार्टीसँग कुनै हतियार नभएको बताए।

‘‘सरकारले आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाउँदा कुनै चौकीमाथि हामीले आक्रमण गरेनौँ,’’ उनले भने, ‘‘न विदेशीसँग सहयोग माग्यौँ। अनि कसरी हतियार हुन्छ। बिना प्रमाण किन आरोप लगाइँदै छ ?’’

सरकारसँग वार्ता गरे पनि यो संविधान भने आफ्नो पार्टीले नमान्ने उनले बताए। वार्तामा संविधान मान्नुपर्छ भन्ने सहमति नभएको बताउँदै उनले आफूहरूको एजेन्डा जनमत सङ्ग्रह भएको बताए।

‘‘संसदीय व्यवस्था पूर्ण रूपमा असफल भइसक्यो,’’ उनले भने, ‘‘यस्तो व्यवस्था मानेर कुर्सीमा बस्न यो पार्टी जन्मेको होइन। हाम्रो माग जनमत सङ्ग्रह गर्ने हो। त्यसैका लागि हामी सङ्घर्ष गर्ने छौँ।’’

यस्तै पार्टी एकता सम्भव रहेको तर एक भएर कुर्चीको लागी न दौडिने उनले बताए। ‘‘माओवादीसँग मात्र एक नभई समग्र कम्युनिस्ट पार्टी एक हुने सम्भावना छ’ उनले भने, ‘कुर्चीको लागी लड्नेहरू भन्दा पनि जनताको लागी लड्नेसँग एकता गर्छौ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved