राष्ट्रिय जनगणनामा राना थारुको अर्थपूर्ण सहभागिता

नेपालभ्युज

राष्ट्रिय जनगणनामा राना थारुको अर्थपूर्ण सहभागिता

धनगढी। कैलाली कञ्चनपुरमा मात्रै बसोबास गर्ने रानाथारू समुदायले राष्ट्रिय जनगणना–२०७८ मा सहभागिताका लागि समुदायलाई सचेतीकरण गरी सशक्त बनाएको छ। रानाथारू समुदायको बाहुल्यता रहेका क्षेत्रमा नेपाल राना थारु समाजले सचेतीकरण अभियान सञ्चालन गरेको हो। ‘‘जनगणनाका लागि घरदैलोमा पुग्ने गणकलाई सघाउ पुर्‍याउनकालागि अभियान सञ्चालन गरेका हौँ’’, नेपाल राना थारु समाजका केन्द्रीय अध्यक्ष कृपाराम रानाले भने।

सचेतीकरण अभियान सकेर गणकलाई सत्य तथ्य विवरण उपलब्ध गराउने कार्यमा जुटेको उनले बताए। ‘‘यसअघिका जनगणनामा राना थारूलाई छुट्टै रूपमा समेटिएको थिएन’’, उनले भने ‘‘यस पटकको जनगणनाका लागि तयार गरिएको भाषाभाषीको प्रश्नावलीमा समेत रानाथारू भाषालाई समेटिएको छैन।’’

रानाथारू समुदायको उपस्थितिबारे राज्यलाई पूर्णरुपमा जानकारी नहुँदा रानाथारू समुदाय अधिकारबाट वञ्चित हुँदै आएको रानाथारू समुदायका अगुवाहरूको भनाइ छ। ‘‘सूचीकृत भएर मात्रै नपुग्ने भएकाले राना थारु समुदायको अवस्थाबारे जानकारी हुन आवश्यक छ’’ , सुग्रीव रानाले भने–‘‘यसका लागि जनगणनामा रानाथारूको भाषासँगै, छुट्टै संस्कृति, पहिरन, चालचलन, रहनसहन र सङ्ख्या यकिन हुन्छ। त्यसकै आधारमा राज्यले नीति निर्माण गर्ने, कानुन निर्माण गर्ने र आरक्षणको व्यवस्था गर्छ।’’

भूगोल, जातिअनुसार आरक्षण र जनसंख्याका आधारमा नीति निर्माण हुने भएकाले जनगणनाका लागि पुग्ने गणकलाई सत्य तथ्य सूचना उपलब्ध गराउनका लागि खटिएको उनले जनाए। ‘‘पछाडि पारिएको समुदाय भएकाले अधिकारबाट वञ्चित रहेको छ’’, स्थानीयवासी रामभरोसा रानाले भने।

जनगणनाका लागि गणकलाई सत्य तथ्य जानकारी उपलब्ध गराई शिक्षा, स्वास्थ्य, आवाससँगै रोजगारीका हरेक क्षेत्रमा राना थारु समुदायको पहुँचका अभिवृद्धि गर्ने लक्ष्य रहेको उनको भनाइ छ। जनजातिको सूचीमा छुट्टै रूपमा सूचीकृत भएपछि भाषा सूचीकरणसँगै राना थारु समुदायको शब्दकोश निर्माण र व्याकरण निर्माणको कार्यसमेत गरिएको छ। जनगणनामा छुट्टै रूपमा राना थारु समुदायको जनगणना हुँदै छ, यो नै उपलब्धि भएको सुदूरपश्चिम प्रदेशसभाका सदस्य श्यामलाल रानाले बताए।

विसं २०७६ माघ २० गते सरकारले रानाथारू समुदायलाई छुट्टै पहिचान दिई आदिवासी जनजातिको सूचीमा सूचीकृत गरेको थियो। कैलाली र कञ्चनपुरमा तीन लाख ३० हजारभन्दा बढी रानाथारू समुदायको जनसङ्ख्या रहेको बताइन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved