३५ लाख रुपैयाँ चन्दा उठाएरै बनाइयो सभाहल

३५ लाख रुपैयाँ चन्दा उठाएरै बनाइयो सभाहल

म्याग्दी। बेनी नगरपालिका–७ मा चन्दा संकलनबाटै आठ सय जना क्षमताको सभाहल निर्माण गरिएको छ। नेपाल भाषा मंकाःखल म्याग्दीले सामुदायिक प्रयोजनका लागि उक्त सभाहल निर्माण गरेको हो।

खलका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले ३५ लाख रुपैयाँ चन्दा संकलन गरेर सभाहल निर्माण गरिएको जानकारी दिए। “संस्थाका पदाधीकारी र सदस्यबाट जुटाएको रकमले भवन ठडयाएका हौँ”, उनले भने, “हालसम्म सरकारी सहयोग मागेका छैनौँ। व्यक्तिगत रुपमा सहयोग प्राप्त भइरहेको छ।”

झण्डै २९ आना क्षेत्रफलको जग्गामा सभाहल र शौचालय निर्माण गरिएको छ। सभाहल परिसरमा पर्खाल लगाएर घेराउ गरिएको छ। रंगरोगन, फर्निचर, बिजुली, पानी जडानलगायत काम बाँकी छ। निर्माणको काम गत असारमा थालिएको हो। आगामी पुसभित्र सबै काम सम्पन्न हुने श्रेष्ठले बताए।

नेवार समुदायको अगुवाइमा उक्त सभाहल निर्माण गरिएको हो। सो सभाहल सबैले प्रयोग गर्न पाउने मंकाः खलका पूर्वअध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताए। बेनी बजारमा सभा समारोह, भोज भतेर आयोजना गर्दा सभाहल अभाव भएकाले सामाजिक आवश्यकता महशुस गरी सभाहल बनाएको बेनी नगरपालिका–७ का वडाध्यक्ष समेत रहेका श्रेष्ठले बताए। यहाँस्थित होटलमा पनि सभाहल अभाव थियो।

सभाहल निर्माणका लागि स्व चन्द्रशेखर श्रेष्ठको परिवारले चार आना र स्व काशीप्रसाद श्रेष्ठको परिवारले पाँच आना जग्गा उपलब्ध गराएका हुन्। थप २० आना जग्गा खरिद गरेको अध्यक्ष श्रेष्ठले बताए। नेपाल संवत ११४२ का अवसरमा अमेरिकामा रहेका दलप्रसाद श्रेष्ठ र पुष्पा श्रेष्ठले  तीन लाख ३३ हजार रुपैयाँ तथा तारा श्रेष्ठ जोशी र कृष्णबाबु जोशीले सभाहल निर्माणका लागि एक लाख १५ हजार रुपैयाँ उपलब्ध गराएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved