किन गरिन्छ काग पूजा ?

यमलोकका अधिपति यमराजले पृथ्वीका मानिसको जन्म र मृत्युको विवरण राख्न कागले सहयोग गर्ने किंवदन्ती छ। यमराजको मात्रै होइन विश्वभर छरिएका नेपाली माझ कागलाई सन्देशवाहक पन्छीका रुपमा बुझ्ने गरिन्छ।

नेपालभ्युज

किन गरिन्छ काग पूजा ?

काठमाडौं। आजदेखि हिन्दू धर्मावलम्बीको दोस्रो ठूलो चाड तिहार शुरु भएको छ। पाँच दिनसम्म मनाइने भएकाले यो पर्वलाई यमपञ्चक समेत भनिन्छ। यसपटक काग र कुकुर तिहार एकै दिन परेको छ।

वैदिक सनातन हिन्दु धर्मअनुसार कागलाई यमदूतको सन्देश बाहकका रुपमा मानिन्छ/पूजिन्छ। यमपञ्चकको पहिलो दिन यमराजको दूत मानिने कागको पूजा गरेपछि तिहार शुरु हुन्छ।

काग तिहारको दिन यो पन्छीको पूजा-आजा नगरी खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ। खासगरी कागले अशुभ खबर छिटो ल्याउँछ भन्ने जनश्रुति छ। त्यसैले वर्षभरी घरमा शुभ खबर ल्याउने अपेक्षा गर्दै कागको पूजा गरिन्छ।

यमलोकका अधिपति यमराजले पृथ्वीका मानिसको जन्म र मृत्युको विवरण राख्न कागले सहयोग गर्ने किंवदन्ती छ। यमराजको मात्रै होइन विश्वभर छरिएका नेपाली माझ कागलाई सन्देशवाहक पन्छीका रुपमा बुझ्ने गरिन्छ।

मान्छेको जनजीवनसँग प्रत्यक्ष/अप्रत्यक्ष जोडिएको कागलार्ई अजम्बरी पन्छीका रुपमा समेत बुझ्ने गरिएको संस्कृतिविद् महेशराज पन्तले बताए।

यमपञ्चकको पहिलो दिन कागलाई पूजाआजा गरेर मिठा खानेकुरा दिएमा यसले दुःखको खबर ल्याउँदैन भन्ने धार्मिक विश्वास रहेको उनको भनाइ छ।

पन्तले भने, “तिहारमा हरेक दिनको धार्मिक महत्व छुट्टाछुट्टै छ। तर ऐतिहासिक पृष्ठभूमि खोज्ने काम भएको छैन। फल्ना दिन यस्तो पूजा गरिन्छ, उस्तो पूजा गरिन्छ भनेर भनिन्छ। किन गरिन्छ भन्ने ठोस प्रमाण छैन।”

दशैंभन्दा पुरानो चाड तिहार

नेपाली चाडपर्वसँग अनेक पत्र एक आपसमा गाँसिए पनि विस्तृत पक्ष नकेलाइएको पन्तको विश्लेषण छ। जनश्रुति, पुस्तान्तरण र किंवदन्तीका आधारमा चाडपर्व नयाँ पुस्ताले ग्रहण गर्दै आएको पन्तले बताए।

नेपालबाहेक भारत, बंगलादेश, म्यानमार लगायतका देशमा पनि तिहार मनाइन्छ। यूरोप, अमेरिका, बेलायत लगायतका मुलुकमा छरिएका नेपालीले नेपालकै झल्को आउने गरी तिहार मनाउँछन्। पन्तका अनुसार तिहार दशैंभन्दा पुरानो चाड हो।

“नेपालमा दशैंको इतिहास पाँच सय वर्षअघिसम्मको मात्रै पाइएको छ। तिहारको उल्लेख दशैंभन्दा धेरै अघि प्राचिनकालमा पनि भएको पाइन्छ”, उनले नेपालभ्यूजसँग भने।

तिहारलगायत धेरैजसो चाडपर्व औपचारिकतामा सीमित भएका उल्लेख गर्दै पन्तले भने, “अहिले चाडपर्वका धेरै पक्ष ‘रेडिमेड’ छन्। तिहारको ऐतिहासिक पक्ष केलाउने काम भएको छैन, खोजी गर्न पनि गाह्रो छ।”

धेरै मुलुकले मार्छन् काग

हिन्दु धर्मावालम्बीले पुज्ने कागले धेरै मुलुकमा सम्मान पाउँदैन। भारत, मलेसिया, सिंगापुर, अस्ट्रेलिया, अमेरिका लगायतका मुलुकमा काग मार्ने अभियान नै चलाइन्छ।

नेपालसँग मिल्दो धार्मिक र साँस्कृतिक परम्परा अंगालेको भारतको वन्यजन्तु संरक्षण ऐन १९७२ ले कागलाई रोग फैलाउने र मार्न मिल्ने पन्छीका रुपमा सूचिकृत गरेको छ।

मलेसिया, सिंगापुर, अस्टे«लिया सहितका यूरोपेली मुलुकमा कागको संख्या बढ्न नदिन सरकारले चासो लिने गरेको नेपाल पन्छी संरक्षण संघ (बीसीएन)की प्रमुख कार्यकारी अधिकृत ईशाना थापाले जानकारी दिइन्।

“धेरै देशमा कागलाई फोहोर बढाउने पन्छी भनेर चिनिन्छ”, उनले भनिन्, “कागले दुःख दियो भन्ने खबर प्रशासनलाई पुग्ने बित्तिकै प्रशासनले तत्कालै नियन्त्रणका लागि पहल अघि बढाउँछ।”

विश्वमा करीब ४० प्रजातीका काग अभिलेख भएका छन्। नेपालमा विभिन्न पाँच प्रजाती फेला परेका छन्। बीसीएनकै अगुवाइमा हरेक वर्ष काठमाडौं उपत्यकामा हुने शहरी पन्छी गणनामा परेवा धेरै भेटिने पन्छीमा छ। त्यसपछि काग दोस्रो अग्र सूचीमा छ।

नेपालमा घर काग, कालो काग, टेमु, टुङ्गा र राजा कागसहित पाँच प्रजाती अभिलेख भएका छन्। तराईदेखि मध्यपहाड, मानव बस्ती आसपासमा देखिने खैरो र कालो रङ मिश्रित काग घर काग हो।

पन्छीविद् डा. हेमसागर बरालका अनुसार मान्छेको बसोबास नभएको स्थानमा घर काग पाइँदैन। उनी भन्छन्, “घर कागलाई मान्छेले चाहेर पनि नचाहेर पनि साथीको रुपमा व्यवहार गरेको पाइन्छ।”

कालो काग तराईदेखि साढे चार हजार मिटरको उचाई हाराहारीमा भेटिने गर्छ। टेमु र टुङ्गा तीनदेखि पाँच हजार मिटरको उचाई हाराहारीसम्म पाउन सकिन्छ।

उच्च भेगमा पाइने टेमु र टुङ्गाका विशेषता प्रष्ट्याउँदै बरालले भने, “दुवै प्रजातीका खुट्टा राता हुन्छन्। टेमुको चुच्चो पहेंलो हुन्छ भने टुङ्गाको रातो हुन्छ।”

राजा काग भने मनाङ, मुस्ताङ, डोल्पा जस्ता भेगको तीन हजार मिटर उचाई भन्दा माथि मात्रै अभिलेख भएको छ। बरालका अनुसार राजा कागको प्रजातीमा सबैभन्दा ठूलो हुन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved