लुटपाट र बम विष्फोट आतंक मच्चाउने पासवानका आपराधिक गतिवधि

नेपालभ्युज

लुटपाट र बम विष्फोट आतंक मच्चाउने पासवानका आपराधिक गतिवधि

काठमाडौं । नेपाल प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेकामध्येका एक लुटेरा गत मंगलबार पक्राउ परेका छन्। सर्लाहीको लालबन्दी नगरपालिका-२ पुनर्वास घर भएका ४० वर्षीय पासवान महोत्तरीको सोनमा गाउँपालिका ३ रघुनाथपुरबाट पक्राउ परेका हुन्।

उनीसहित ९-१० जनाको समूहले महोत्तरी सम्सी गाउँपालिका-१ पर्सा बजारमा बस्ने ५७ वर्षीय वीरेन्द्र साहले आफ्नो घरमा सञ्चालन गरेको राजीव ज्वेलर्स सुनचाँदी पसलमा चोरी गरेका थिए। पासवानसहितको डाँका समूहले घरपछाडिबाट पर्खाल नाघेर साह तथा उनकी श्रीमती तथा छोराछोरीलाई रड प्रहार गरी घाइते बनाएका थिए।

त्यस्तै साहमाथि कटुवा पेस्तोलबाट गोली हानी करिब ९ लाख बराबरको नगद तथा सुनचाँदीका गरगहनाहरु लुटेका थिए। पासवानमाथि थप अनुसन्धान भइरहेको उनका अन्य आपराधिक गतिविधिहरूबारे पनि खोजी भइरहेको प्रहरीले जनाएको छ।

पासवानका यसअघिका आपराधिक घटना यस्ता छन्

७ वैशाख २०६६ मा सर्लाहीमा रामकिशोर महतो समूहको साथबाट पासवानको समूहले नगद ७ लाख ५० हजार रुपैयाँ लुटेका थिए। उक्त घटनामा संलग्न एक जना हतियार र नगद १० लाख ९७ हजार १२० रुपैयाँसहित पक्राउ परेका थिए। उक्त घटनामा पासवान पनि संलग्न रहेको र सर्लाही प्रहरीमा उनीमाथि डाँका तथा हातहतियारसम्बन्धी मुद्दा चलिरहेको छ।

त्यसैगरी १९ भदौ २०६४ मा मा लालबन्दीबाट नयाँरोड हरिवनतर्फ गइरहेको ना २ ख ८७८५ नम्बरको ट्रकमा पासवानसहितका व्यक्तिले बम प्रहार गरी क्षति पुर्‍याएका थिए। उक्त घटनामा संलग्न पासवानसहितका व्यक्तिमाथि इलाका प्रहरी कार्यालय हरिपुर, सर्लाहीमा बम बिष्फोटक शीर्षकमा मुद्दा चलेको छ।

१ असार ०७३ मा सिरहाको मिर्चैया नगरपालिका ७ का रामेश्वर पासवान समेतका घरमा हातहतियार देखाएर २ लाख १७ हजार ८२५ रूपैयाँ बराबरको सुनचाँदी लगायतका समान लुटेको आरोपमा पासवानसहित उनको समूहमाथि सिरहा प्रहरीमा डाँका तथा हातहतियार शीर्षकमा मुद्दा चलेको छ।

सिरहाको धनगढीमाई नगरपालिका-४ का प्रदिप कुमार साहको घरमै प्रवेश गरी उनलाई कुटपिट गर्नुका साथै अपहरण गर्न खोज्दा स्थानीय मानिसहरूले देखेपछि गाडी चढेर भागेको पासवानमाथि इलाका प्रहरी कार्यालय गोलबजारमा अपहरण वा शरीर बन्धक मुद्दा चलेको छ। उक्त घटनामा सन्तोष पासवान पक्राउ परेका थिए।

यसैगरी २० कात्तिक ०६४ मा चन्द्रमणि कँडेलको घरबाट नगद ३० हजार, सुनको गरगहना ८ तोला, क्यामरा, मोबाइललगायत समान लुटेर लगेका आरोपमा इलाका प्रहरी कार्यालय बुटबलमा पासवानमाथि चोरी मुद्दा दर्ता छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved