काठमाडौं। ३१ असोजपछिको लगातार तीन दिनको बेमौसमी झरीले काठमाडौं उपत्यकासहित देशभरको तापक्रम घटेको छ। झरीसँगै हिमाली र उच्च भेगमा भएको हिमपातले चिसो बढाएको हो।
वर्षा रोकिए पनि बेमौसमी वर्षा गराउने मौसमी प्रणालीले छोडेको जलवाष्प बाँकी छ। यही बेला स्थानीय र पश्चिमी वायु सक्रिय भएकाले चिसो बढेको, तराईसहित पहाडमा भुइँ कुहिरो देखिन थालेको मौसमविद् वरुण पौडेलले बताए।
“यसपटक मनसुन बाहिरिएपछि लगातार बेमौसमी वर्षा भयो। बेमौसमी वर्षा रोकिएपछि राम्रोसँग घाम लागेको छैन। राम्रोसँग घाम नलाग्दा तापक्रम घटिरहेको छ, हिमपातको चिसो पनि धेरै ठाउँमा फैलिएको छ।”
काठमाडौं उपत्यकामा १ कात्तिकयता तापक्रम खस्किन थालेको छ। १ कात्तिकमा उपत्यकाको न्यूनतम तापक्रम १८ डिग्री थियो। बिहीबार १६.५ डिग्री, शुक्रबार १५ र शनिबार बिहान १७.६ डिग्री मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जुम्लालगायत उच्च भेगमा पनि तापक्रम खस्किएको छ।
डडेलधुरा, ओखलढुंगा, ताप्लेजुङ, जिरीजस्ता भेगको न्यूनतम तापक्रम १५ डिग्रीभन्दा तल छ। धेरै ठाउँको न्यूनतम तापक्रम एक/डेढ डिग्री तलमाथि हुन थालेको उल्लेख गर्दै पौडेलले भने, “राति आकाश खुला भयो भने न्यूनतम तापक्रम घट्छ। दिउँसो घाम लागेन भने अधिकतम तापक्रम खस्किन्छ।” सोमबार (८ कार्तिक) देखि मौसम खुल्ने भएकाले तापक्रम सुधार हुने उनले बताए।