काठमाडौं। कोभ्यास सुविधामार्फत गाभीले उपलब्ध गराउने भनेको कोरोनाविरुद्ध फाइजर खोप सोमबार (कात्तिक ८) नेपाल आइपुग्ने भएको छ।
गाभीले अनुदानमा दिएको एक लाख डोज सोमबार नेपाल आइपुग्ने स्वास्थ्य सेवा विभागअन्तर्गत खोप आपूर्ति व्यवस्थापन शाखाका प्रमुख उपेन्द्र ढुंगानाले बताए।
शुरुमा यो खोप बालबालिकालाई लगाउने भने अहिले दीर्घरोगीहरूलाई लगाउने योजना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण प्रसाद पौडेलले बताए।
पौडेल भन्छन्, ‘‘यो खोप लामो समयदेखि औषधि सेवन गरिहेका, बिरामी जो मुटु र चिनीजस्ता दीर्घरोगीलाई लगाइने योजना रहेको छ।”
परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखा प्रमुख सागर दाहालका अनुसार एक लाख डोज खोप दुई चरण अर्थात् ४५/४५ हजार दीर्घरोगीलाई पूर्ण मात्रा खोप लगाइने छ। ‘‘दीर्घ रोगीहरूलाई २२ वटा अस्पतालबाट उक्त खोप लगाइने तयारी गरेका छौं,” दाहालले भने।
धेरै दीर्घरोगीहरू जाने सरकारी अस्पतालहरूमा सरकारले खोप दिने योजना बनाएको पनि दाहालले जानकारी दिए। अहिले दीर्घरोगीहरू बढी जोखिममा भएकाले उनीहरूलाई लक्ष्य गरी यो खोप लगाउन लागिएको उनको भनाइ छ।
उनी भन्छन्, ‘‘यो खोप कोभ्याक्स सुविधामार्फत प्राप्त भएकाले केही शर्तहरू पालना गर्नुपर्छ। जसअन्तर्गत अति जोखिममा परेका दीर्घरोगीलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाउन लागिएको हो।”
यो खोप छठ पर्वपछि लगाउन थालिने पनि उनले बताए।
फाइजरलाई माइनस ७० देखि माइनस ८० डिग्री सेल्सियससम्म तापक्रम चाहिने कोभिड–१९ खोपविज्ञ सल्लाहकार समूहका संयोजक डा. श्यामराज उप्रेतीले बताए।
६ महिनासम्म फाइजर खोपलाई माइनस ७० देखि माइनस ८० डिग्रिसेल्सियस तापक्रम राख्न सकिन्छ। त्यसपछि दुई हप्तासम्म माइनस १५ देखि माइनस २५ डिग्री सेल्सियसमा राखेर एक महिनासम्म २ देखि ८ डिग्रिसेल्सियस तापक्रममा राख्न सकिने उनले बताए।
खरीद र अनुदानमा गरी नेपालमा अहिलेसम्म एक करोड ८८ लाख हाराहारीमा खोप आइसकेको शाखाका प्रमुख ढुंगानाले बताए।