बागमतीको मुख्यमन्त्रीमा गठबन्धनको समर्थन पाण्डेलाई

प्रदेशसभामा बैठकमा बोल्दै माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेलले राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने प्रस्ताव गरिएको बताएका हुन्।

नेपालभ्युज

बागमतीको मुख्यमन्त्रीमा गठबन्धनको समर्थन पाण्डेलाई

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री बन्ने निश्चित भएको छ। बिहीबारको प्रदेशसभामा बैठकमा बोल्दै माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेलले एमाले संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने प्रस्ताव गरिएको बताएका हुन्।

संघीय सरकारमा गठबन्धन गरेका नेपाली कांग्रेस, नेकपा समाजवादी र माओवादी केन्द्रको पनि बागमती प्रदेशसभामा समेत बहुमत रहेकाले पाण्डे नै मुख्यमन्त्री बन्ने निश्चित भएको छ।

यसअघि नै एकीकृत समाजवादी पार्टीले दुई राजेन्द्रलाई सम्बन्धित प्रदेशसभाको संसदीय दलको नेता चयन गरिसकेको छ। प्रदेशमा संसदीय दलको नेता नै मुख्यमन्त्री बन्न पाउने व्यवस्था रहिआएको छ।

अहिले एमाले नेतृत्वको सरकार अल्पमतमा छ। एमाले नेतृ अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारले विश्वासको मत लिँदा बहुमत नपाउने निश्चित छ। मुख्यमन्त्री शाक्यलाई अविश्वासको प्रस्ताव लैजाने तयारी रहे पनि शीर्ष नेताका कारण पछि हटेको माओवादी बिहीबारको बैठकमा संसदीय दलका नेता जम्कट्टेलले बताए।

उनले भने ‘‘अविश्वासको प्रस्ताव दर्ता गर्नुभन्दा विश्वासको मत पक्रियासम्मत रुपमा जान सुझाव आएको छ। सोही अनुसार आजसम्म आएका हौँ। तर, एमालेले सत्ता छोड्न हुँदैन, जसरी सत्तामा बस्नुपर्छ, सत्ताका लागि जे गरे पनि हुन्छ भन्ने संस्कार एमालेले दियो। जसले समग्र देशको राजनीति अस्थिरतामा पुग्यो। एमाले विधि र प्रक्रियाभन्दा बाहिर जान खोज्यो।’’

जम्कट्टेलले अष्टलक्ष्मी शाक्यलाई विश्वासको मत दिन नसक्ने बताए। विश्वासको मत लिन लाग्नुभन्दा मार्ग प्रसस्त गर्न शाक्यलाई आग्रह गरे । ‘‘व्यक्तिगत रुपमा भन्दा विश्वासको मत दिनु पर्थ्यो तर संविधान र व्यवस्था विरोधी पार्टीमा उभिनुभयो । त्यसकारण विश्वासको मत दिन सकिँदैन । विश्वासको मत प्रक्रियामा जानुभन्दा मार्ग प्रशस्त गर्नुहोस् । केन्द्रको गठबन्धन सरकारले प्रदेशमा पनि नयाँ सरकार बनाउँछ । अब बन्ने सरकार कुनै दम्भ राख्दैन ।’’

प्रदेशसभा बैठकमा बोल्दै मुख्यमन्त्री शाक्यले संघीय सरकारले दल विभाजन अध्यादेश ल्याएर राजनीतिक अस्थिरता निम्त्याएको बताइन् । प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले संघीय सरकारले दल विभाजन अध्यादेश ल्याएर एमाले विभाजन गराएको आरोप लगाइन् ।

उनले भनिन् ‘‘राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश संविधान विपरीत प्रदेश र स्थानीय तह समेत विभाजन हुन पुग्यो ।’’ अध्यादेशकै आडमा एमाले विभाजन भएको र एमालेका सांसदहरू अर्को दलमा सहभागी भएको बताइन् । आफूले प्रदेश सरकारको नेतृत्व लिएको केही घण्टा बित्न नपाउँदै आफ्नै पार्टीका नेता तथा सांसदहरू अन्य गतिविधिमा लागेको पनि आफूलाई राम्ररी थाहा भएको उनले बताइन्।

छलफलमा भाग लिँदै कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दल विभाजन सम्बन्धी अध्यादेश संविधानको रक्षा कालागि संघीय सरकारले ल्याएको दाबी गरे। उनले भने ‘‘संविधान र परिवर्तनका एजेन्डा खतरामा पर्ने देखेपछि गठबन्धन बन्यो। त्यही गठबन्धनको निर्णयमा अध्यादेश ल्याउनु परेको हो। आगामी निर्वाचन सम्म यो गठबन्धन जान्छ। यो गठबन्धनले जनताको समस्या सम्बोधन गर्छ।’’

उनले विश्वासको मत लिने प्रक्रिया नलम्ब्याउन आग्रह गरे । उनले  मार्ग प्रशस्त गर्न मुख्यमन्त्रीलाई सुझाव दिए।

छलफलमा भाग लिँदै एमाले नेता रामेश्वर फुयाँलले नयाँ जनादेशले अहिलेको गठबन्धनलाई जवाफ दिने बताए ।  उनले भने ‘‘सरकार परिवर्तन सामान्य कुरा हो, तर देश निर्माणको अभियानमा एमाले छ। हामी विकास र सम्बृद्धिको सपना पुरा गर्छौँ।’’

विवेकशील पार्टीका सांसद रमेश पौडेलले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पुर्‍याउएको त्याग र बलिदानप्रति सम्मान रहे पनि अहिले हटाउने अवस्थामा आएको बताए ।

उनले भने ‘‘प्रधानमन्त्रीले हुँदै नभएको अधिकार प्रयोग गरेर संसद विघटन गर्नुभयो । त्यसवेला अहिलेका मुख्यमन्त्री र हामी सँगसँगै थियौ । उहाँले केपी ओली प्रवृतीविरुद्ध बोल्नुभएको थियो । हामीले पनि समर्थन गरेका थियौ । तर, पछिल्लो समय ओलीको अहंकार शैलीमा मुख्यमन्त्रीकै अभिव्यक्ति आइरहेको छ। यो हिसाबले उहाँलाई कसरी विश्वासको मत दिने भन्ने नैतिकताको प्रश्न उठेको छ। अर्कोतर्फ उहाँले अहिले पनि ओलीलाई साथ दिइरहनुभएको छ । यो अवस्थामा शाक्यलाई कसरी विश्वासको मत दिने ?’’

प्रदेशसभा बैठक कात्तिक १० गते सम्मकोलागि स्थगित भएको छ।  बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने प्रक्रिया शूरु हुनेछ।

आधाआधा कार्यकाल

बागमतीमा कांग्रेस र नेकपा एसले पालैपालो आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमति जुटेको छ। एमाले नेतृ तथा मुख्यमन्त्री शाक्यले विश्वासको मत नपाउने निश्चित भएपछि गठबन्धनबीच आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमति जुटेको नेताहरु बताउँछन्। पहिले नेकपा एसका पाण्डे मुख्यमन्त्री बन्ने  र पछि कांग्रेसबाट इन्द्र बानियाँ मुख्यमन्त्री बन्ने सहमति भएको छ। बुधवार बेलुका काठमाडौंमा गठबन्धनका शीर्ष नेताबीच यस्तो सहमति भएको बताइएको छ।

यस्तो छ समीकरण

एमाले नेतृ शाक्यसँग प्रदेशसभामा विश्वासको मत पाउने संख्या छैन। वाग्मतीमा एमालेको ४३ सांसद छन्। संघ सरकारमा सत्ता गठबन्धन दल माओवादीको २३, कांग्रेसको २२, नेकपा एकीकृत समाजवादीको १३ र जसपाको १ सांसद छन्। यसैगरी विवेकशील साझा पार्टीको ३, नेमकिपाको २ र राप्रपाको २ जना सांसद वाग्मती प्रदेशमा रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved