बाढीले बढायो पानीजन्य रोगको जोखिम

जनचेतना मात्र दिनु सरकारको गरैरजिम्मेवारीपन : स्वास्थ्यविद्

बाढी पहिरोका कारण पानीजन्य र सरुवा रोगहरु धेरै फैलन सक्ने भन्दै सर्तक रहन स्वास्थ्य विज्ञहरुले आग्रह गरेका छन्। वर्षातले सरुवा रोगहरु अत्यधिक मात्रामा बढाउने भएकाले अब अस्पतालहरुमा बिरामीको चाप पनि बढ्न सक्ने विज्ञहरुले आंकलन गरेका छन्।

बाढीले बढायो पानीजन्य रोगको जोखिम

काठमाडौं। मनसुन सकिएपछि देशभर ३१ असोजदेखि परेको वर्षाले निकै ठूलो जनधनको क्षति पुर्‍यायो। बस्ती बस्तीमा बाढी पस्दा जनजीवन साह्रै कष्टकर भएको छ। गृह मन्त्रालयले बुधबार बिहान जारी गरेको विज्ञप्तिअनुसार तीन दिनयता परेको भारी वर्षाका कारण १९ जिल्ला नराम्रोसँग प्रभावित भएका छन्।

बर्सेनी नेपालमा बाढी पहिरोजस्ता प्राकृतिक प्रकोपका कारण धेरैले ज्यान गुमाइरहेका छन्।

तीन दिनयताको अविरल वर्षाले पहाडमा पहिरो त तराईंका धेरै जिल्ला डुबानमा परेका छन्। जसका कारण अहिले ती डुबानग्रस्त क्षेत्रमा स्वच्छ खानेपानीको अभाव हुन थालेको छ। बाध्यताले फोहोर पानी खानुपर्ने अवस्थामा छन् मानिसहरू। यसले गर्दा पानीजन्य रोग फैलिने खतरा बढ्न थालेको छ।

यसरी बाढी पहिरोका कारण पानीजन्य र सरुवा रोगहरू धेरै फैलन सक्ने भन्दै सतर्क रहन स्वास्थ्यविज्ञहरूले आग्रह गरिरहेका छन्। वर्षातमा सरुवा रोगहरू अत्यधिक मात्रामा बढाउने भएकाले अब अस्पतालहरूमा बिरामीको चाप पनि बढ्न सक्ने विज्ञहरूले बताएका छन्।

यसअघि चिकित्सा शिक्षा सुधार अभियान्ता डा.गोविन्द केसीले बाढी प्रभावित क्षेत्रहरूमा बसोबास गर्ने मानिसहरू पानीजन्य रोगबाट बिरामी हुन सक्ने भन्दै विभिन्न जिल्लाहरूमा पुगेर उपचार सेवा दिएका थिए।

बाढीपछि आउन देखिन सक्ने पानीजन्य रोगहरू

कपिलवस्तु जिल्लाको कृष्णनगरमा १८ असोजदेखि फैलिएको झाडापखालाका कारण चार जनाको मृत्युसमेत भइसकेको छ। एक सयभन्दा बढी बिरामी परेका छन्।

झाडापखालाका बिरामीको दिसामा भिब्रियो कलेरा भेटिएपछि विज्ञहरूले हैजाको आशंकासमेत गरेका थिए। यो झाडापखाला फैलिनुको पछाडि दूषित पानी हो भनेर स्वास्थ्य मन्त्रालयले बताएको थियो।

दूषित पानीका कारण हैजा, झाडापखालाका, फ्लू , टाइफाइट, भाइरल हेपाटाइटिस र वर्षातका समयमा पशुको दिसापिसाबबाट सर्ने रोगहरू पनि फैलिन सक्ने वरिष्ठ सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले बताए।

डा.पुनका अनुसार बाढी पहिरोका कारण पानी अत्यधिक दूषित हुने गर्छ। नेपालको पुरानो सिनारियोलाई आधार मानेर हेर्ने हो भने पानीजन्य रोगहरू नै बढी फैलिएको छ।

बाढी पहिरोका कराण विस्थापित बनेका व्यक्तिहरूलाई पानीजन्य रोगमात्र नभएर हावाबाट सर्न सक्ने रोगहरू पनि सजिलै लाग्न सक्ने उनले जानकारी दिए।

सरकारको तयारी के छ ?

बाढी प्रभावित क्षेत्रमा रहेकाहरूलाई राहत वितरण मात्र नगरेर उनीहरूको स्वास्थ्य अवस्थाबारे पनि विशेष ख्याल राख्नु पर्ने सरकारवालहरू बताउँछन्।

तर स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कुष्णप्रसाद पौडेल मन्त्रालयले स्वास्थ्य जनचेतना जगाउने काम गरेको दाबी गर्छन्। बाढीपहिरो गएका जिल्लाहरूमा पिउने पानीका मुहानहरूमा फोहोर पानी आउन सक्ने भन्दै पानी पिउदा जन्डिस, हैजा, आउँ टाइफाइटजस्ता रोग बढ्ने उनले बताए। यसबाट बँच्न सफा पानी पिउने, खानेकुराहरू पनि सफा गरेर खाने भनेर नै जनचेतना दिइरहेको उनले बताए।

‘‘भोलिका दिनहरूमा कतै स्वास्थ्य समस्या देखियो भने त्यहाँ औषधि उपचारको व्यवस्था गर्ने हो”, उनले भने। बाढी पहिराले गर्दा स्वास्थ्य समस्या निम्तन सक्ने भएकाले सबैलाइ सरसफाइमा ध्यान दिन आग्रह गरिएको उनको भनाइ छ।

विस्थापित परिवारहरूलाई पानी उमालेर खान आग्रह गरिएको उनले बताए।

यसरी मन्त्रालयले विपदमा परेकालाई जनचेतनामूलक सन्देश मात्र दिएर नपुग्ने डा.पुन बताउँछन्। यसरी विपद्मा परेकाहरूले आफन्त घरबार सबै गुमाएर आफ्नो ज्यान बचाउँदै अन्यत्र बसिरहेको समयमा सहयोग नगरी जनचेतनामात्र दिनु गैरजिम्मेवारीपूर्ण रहेको उनले तर्क गरे।

पुन भन्छन्, ‘‘जनचेतना पनि चाहिन्छ, नचाहिने होइन। तर यसरी विस्थापित बनेकाहरूलाई व्यवहारिक रुपमा निकै गाह्रो हुन्छ। उनीहरूको गाँसबासको राम्रो व्यवस्था भइसकेपछि मात्र जनचेतनामूलक कार्यक्रम बढाउनुपर्छ।”

‘‘बाढी पहिरो गएका ठाउँमा जो सहयोगी हात बढाएर अघि गएका छन्, उनीहरूले नै विस्थापित परिवारको स्वास्थ्यको विशेष ख्याल गर्नुपर्छ”, उनले भने, ”त्यसपछि भने जनचेतनाका कार्यहरू प्रभावकारी हुन्छ।”

केही वर्षअघि महोत्तरीको बर्दिबासमा बाढी पस्ता स्वास्थ सेवा विभागको टोली नै त्यहाँ पुगेको थियो। त्यसमा डा.पुन पनि सहभागी थिए।

डा.पुन थप्छन्, ‘‘बर्दिबासको बाढी पहिरोमा परेका सबैलाई झाडापखला, ज्वरोजस्ता रोग बढी देखिएला भन्ने थियो। तर त्यहाँ कसैले सोच्दै नसोचेको छालासम्बन्धी समस्या लिएर आउने मानिस धेरै देखिए। ९० प्रशितशतभन्दा बढीमा छालाको समस्या र गर्भवतीहरूले भने पोषणको खाने कुराहरू मागेको देखियो।”

बाढी पहिरो जाँदा पानीजन्य रोगहरू लाग्नुका साथै नसोचिएका रोगहरू पनि देखिन सक्ने पुनले बताए। सरसफाइमा ध्यान दिन सके संक्रामक रोगबाट बच्न सकिने उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved