बाल्यकालीन दशैं

स्कुलको बिदाले दशैंको मजा थप्थ्यो

स्कुलको बिदाले दशैंको मजा थप्थ्यो

मेरो बाल्यकालका दशैं बितेको मूलपानीमै हो। तर, पहिले यो मूलपानी थिएन। यो ठाउँलाई भैमाल भन्थे। भैमालमा जगराको ठूलो रुख थियो। त्यसलाई जगराबोट भन्थे। काठमाडौं उपत्यकाभरि नै त्यो रुख परिचित थियो। त्यो अहिले मासियो। भैमाल पनि पञ्चायतपछि मूलपानी भयो। अझै पनि यहाँ एउटा धारो छ। हिउँदमा सुक्छ तर नामचाहिँ मूलपानी नै छ।

बाल्यकालको दशैंको नोष्टाल्जिया अहिले पनि बाँकी छ। दशैंसँगै केही सम्झना लहरो लागेर आउँछन्।

दशैंमा बिदा हुन्थ्यो। पढ्न पर्दैनथ्यो। त्यसले दशैंको मजा थप्थ्यो। यसो भन्नुको खास कारण के थियो भने, तानाशाहजस्ता शिक्षक थिए। स्कुल जान नपरेपछि त लाठी खान पनि परेन। शिक्षकले बिनाकारणै पनि गराउने उठबसबाट जोगिइन्थ्यो।

दशैंको फुर्सदमा खोलामा हिले माछा मार्थ्यौं। पोलेर खान्थ्यौँ। खुब मिठो लाग्थ्यो। जति मारे पनि प्रकृतिले अर्को बर्ष उत्तिकै माछा दिन्थ्यो। पर्यावरण खत्तम भयो। अहिले कहाँ पाइनु हिलेमाछा ?

दशैंताका खेत पहेँलपुर हुन्थे। धानका बाला झुलेका हुन्थे। अचेल धानको फाँट कंक्रिट शहरमा फेरियो। काठमाडौं शहर काँठ क्षेत्रमा पसेर राजनीति गर्‍यो। पुरानो सौन्दर्य केही पनि बाँकी छैन।

बाल्यकालमा ठूलै हुल बाँधेर देवीथान जान्थ्यौँ। पछि थाहा पाएँ, देवी त मान्छेले नै बनाएको रहेछ। त्यसपछि जान छाडेँ।

बाल्यकालको दशैं भन्नेबित्तिकै नयाँ लुगाको याद आउँछ। अरू बेला नभए पनि दशैंको निहुँमा नयाँ लुगा किन्ने चलन थियो। त्यसैले केटाकेटी हुँदा त्यो नयाँ लुगाको झल्को बढी आएको होला।

त्यसैगरी, दशैंमा पिङ पनि खेल्थ्यौँ। त्यसबेला दुईखाले पिङ हुन्थे– रोटे र लिंगे। रोटे पिङमा फन्न फन्किँदाको आनन्द अहिले पनि सम्झन्छु।

बाल्यकालीन स्मृतिमा दशैंसँग नछुटी जोडिने एउटै चीज हो, मासु। त्यतिबेला वर्षमा चारपटक मात्र मासु खाइन्थ्यो। अरू बेला त आक्कलझुक्कल मात्र खान पाइन्थ्यो। मासु खान पाइने ती चार अवसर थिए– चैते दशैं, ठूलो दशैं, साउने संक्रान्ति र माघे संक्रान्ति।

मेरो मामाघर जीतपुरफेदीको डाँडागाउँ हो। ६ कोष टाढा थियो। त्यतिबेला दिनभर हिँड्नुपर्थ्यो। दशैंमा मामाघर पुगेको पर्सिपल्टसम्म पनि गोडा दुख्थ्यो।

गरिबका लागि भने दशैं समस्या नै हुन्थ्यो। त्यो समयमा शोषण पनि थियो, सेयरिङ पनि थियो। तराईको जस्तो जमिन्दारी थिएन। लोग्नेमान्छेमात्र कपालमा तेल लगाएर लरक्क लर्काएर हिँड्थे, जति धनी भए पनि महिलाले काम गर्थे।

मेरो टोलमा सार्की थिए। जो सबै हिसाबले विपन्न थिए। दशैंमा भोकै नबसून् भनेर प्रेमपूर्वक सेयरिङ पनि हुन्थ्यो। अहिले त व्यक्तिवाद हाबी भएको छ। कसैले खाए, नखाएको थाहा पनि हुँदैन। त्यसबेला भने परालको छानो भएकाका घरका लागि सित्तैमा पराल, बाँस र श्रम दिने चलन थियो। त्यतिबेलाको दशैं समाबेसी थियो।

धेरै दमनमा परेका सार्की अष्टमीको दिन रक्सी मात्थे। मातेर दमन गर्ने बाहुनलाई ‘मूर्दावाद’ तहसम्म ओर्लेर गाली गर्थे। हामी हाँस्दै भन्थ्यौँ, “आज खाएछ।” अरू बेला यसरी गाली गरे बाहुनले कुटिहाल्थे।

(नवीन विभाससँगको कुराकानीमा आधारित)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved