नकुन्नीले कहिले पाउँछिन् न्याय ?

नकुन्नीले कहिले पाउँछिन् न्याय ?

काठमाडौं। कुनैबेला भनाई थियो, ‘न्याय नपाए गोरखा जानु’। त्यतिबेलाका चौबिसे राज्यमध्ये एक थियो, गोरखा। पश्चिममा मर्स्याङ्दीदेखि पूर्वमा त्रिशुली नदीसम्म फैलिएको। त्यहाँका राजा राम शाह न्याय निसाफका लागि निकै कहलिएका थिए। पछि एकीकरणपछि अहिलेको संघीय राजधानी काठमाडौँसम्म गोरखा राज्य विस्तार भयो। अहिले पनि पश्चिम नेपालभन्दा उताका पुराना पुस्ताहरू काठमाडौँलाई गोरखा वा नेपाल भन्ने गर्दछन्।

उनीहरूकै भाषामा गोरखा वा नेपाल जे भने पनि मुलुकको संघीय राजधानी काठमाडौं आएका छन् बाँकेका ११ महिलासहित १४ जना।

उनीहरू न्यायको खोजीमा २० दिन हिँडेर काठमाडौं आइपुगेका हुन्। १ असोजमा रुबि खानसहित १४ जना नेपालगञ्जबाट  हिँडेका थिए।

२० दिनसम्म चर्को घाम र बर्खे झरीको सास्ती खेप्दै काठमाडौं आइपुग्दा पनि उनीहरूको पीडा राज्यले देखेन। उल्टो माइतीघरमा धर्ना दिँदा प्रहरीले पक्राउ गर्‍यो

“पहिला उतै धेरै संघर्ष गर्‍यौं। तर स्थानीय सरकार, प्रहरी प्रशासनदेखि मुख्यमन्त्रीसम्म गुहार्दा पनि न्याय पाएनौँ। प्रधानमन्त्री र राष्ट्रपतिसमक्ष न्यायको याचना गर्न काठमाडौं आएका हौँ। तर यहाँ पनि उल्टै हामीमाथि धरपकड भइरहेको छ”, खानले भनिन्।

किन काठमाडौंमा?

चर्को घाम बर्खे झरीको सास्ती खेप्दै काठमाडौं आइपुगेका उनीहरूको पीडा राज्यले देखेको छैन। अहिले दैनिक माइतीघरमा धर्ना दिँदै आएका उनीहरूका खुट्टाभरि ठेला उठेका छन्। केही ठेला फुटेर घाउ भएको छ। यस्तो सास्ती भोग्दै किन आए त काठमाडौैं ?

बाँके नेवाजी गाउँकी नन्कुन्नी धोबी ५ साउनमा मृत भेटिइन्। घरमै झुण्डिएको अवस्थाको शव भेटिएपछि उनको मृत्युप्रति शंका उब्जियो। लामो समययता घरेलु हिंसा व्यहोर्दै आएकी उनी मृत फेला परेपछि आशंका त हुने नै भयो। झुण्डिएको शवको प्रकृति हेर्दा खुट्टा भुईँमा टेकिएको थियो। सामान्यतः आत्महत्यामा खुट्टा भुईँमा टेकिएको शव फेला परेमा शंकास्पद रुपमा लिइन्छ।

घटनाको प्रकृति हेर्दा शंकास्पद देखिएपछि पीडितका परिवारले प्रहरीलाई खबर गरे। केहीबेरमै प्रहरीको टोली आयो। आफन्तहरूले नकुन्नीले आत्महत्या नभई हत्या गरेको हुनसक्ने भन्दै अनुसन्धान गर्न आग्रह गरे। तर, प्रहरीले उनीहरूको कुरा सुनेन। बिना अनुसन्धान नै ‘नकुन्नीको आत्महत्या हो’ भनिदियो।

प्रहरीले अनुसन्धान नगरी लापरवाही गरेको भन्दै नकुन्नीको आफन्त आक्रोशित भए। उनीहरूले घटनाको अनुसन्धानमा गरी रहस्य पत्ता लगाउन सयौं पटक बिन्ती गरे। तर प्रहरीले केही सुनेन। लगातार १९ दिनसम्म जिल्ला प्रशासन कार्यालय बाँकेमा धर्ना दिए। तर प्रशासनले समेत सुनेन।

कतैबाट सुनुवाइ नभएपछि १ असोजदेखि न्यायको खोजीमा काठमाडौँसम्मको पैदल यात्रा शुरु गरेका थिए। बाँकेबाट हिँडेको २० दिनमा उनीहरु काठमाडौं आइपुगे। प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउने तयारी रहे पनि प्रशासनले नदिएको आन्दोलनकारीले बताएका छन्।

नन्कुन्नीकी बहिनी शिला धोबी आफूहरू न्याय नपाएसम्म नफर्किने बताउँछिन्। शिलाले भनिन्, “मेरो दिदीको हत्यारा पत्ता नलागेसम्म र कारबाही नभएसम्म हामी यहाँबाट जाँदैनौैं।”

न्याय माग्न आएका उनीहरूमाथि २२ असोजमा प्रहरीले धरपकड गर्‍यो। साँझ माइतीघर मण्डला धर्नास्थलमै खाना खाने तयारी गर्दै थिए। प्रहरीको एक भ्यान आएर उनीहरु सबैलाई भ्यानभित्र कोच्यो। शुक्रबार साँझ नै केहीलाई छाड्यो। बाँकीलाई आज (२१ असोज) छाडिदियो।

उनीहरू पुनः काठमाडौं माइतीघरमै बसेका छन्। न्याय माग्न आएकाहरू प्रति नै राज्यले अन्याय गर्नुले राज्यमाथिको जनविश्वासको घटेको सरोकारवालाहरूले टिप्पणी गरेका छन्। सरोकारवालाहरू भन्छन्, “नागरिकले न्यायका लागि भरोसा गर्ने सरकार नै पीडितको आवाज दबाउन लागेपछि सरकारमाथिको विश्वास संकट देखिएको छ। जघन्य अपराध तथा क्रूरतापूर्वक भएका हत्यालाई दबाउन खोज्ने प्रवृत्ति सरकारमा देखियो।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved