ओलीको कटाक्ष, ‘‘सरकार दक्षिणतिर फर्किएर बोल्न समेत सक्दैन’’

‘‘मलाई चुनौती दिन त यो सरकारले काम गरोस्। मैले भन्नु परोस् कि एउटा काम त सरकारले गर्यो। हेर्दै जानु तैपनि सरकारले केही गर्दैन।’’

नेपालभ्युज

ओलीको कटाक्ष, ‘‘सरकार दक्षिणतिर फर्किएर बोल्न समेत सक्दैन’’

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार दक्षिणतर्फ फर्किएर बोल्नै नसकेको भन्दै आलोचना गरे। भारतले आम नागरिकलाई दु:ख दिँदा पनि आफ्ना नागरिकका लागि सरकार बोल्न नसकेको आरोप उनले लगाएका हुन्।

ओलीले भने ‘‘नेपाली आकाशमा विदेशी हेलिकप्टर घुम्यो भन्छन्। यो सरकारले हो कि होइन पनि भन्न सक्दैन। विदेशीले तुइन काटेर नदीमा झरेर एक नेपाली मर्छ। सरकारले पत्रकारलाई यसबारे नबोल् भन्छ। समितिको रिर्पोट लुकाउँछ। सरकार दक्षिणतिर फर्किएर बोल्न समेत सक्दैन। आफ्नो नागरिकको न्यायको लागि बोल्न सक्दैन भने कस्तो सरकार? अरूलाई अरूको धन्दा यो सरकारलाई खानको धन्दा।’’

ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनको अन्तिम दिन प्रतिनिधिहरूको प्रश्नहरूको जवाफ दिँदै ओलीले आफू बाँचेकोमा केही व्यक्तिहरू चिन्तित भएको आरोप लगाएका छन्।  विपक्षीहरूप्रति संकेत गर्दै ओलीले आमजनताले आफूलाई माया गरेकोमा उनीहरू छटपटिएका टिप्पणी गरे। उनले भने ‘‘म बाँचेकोमा केही मान्छेहरू चिन्तित छन्। मलाई आमजनताले माया गरेकोमा उनीहरू छटपटिएका छन्। मप्रति आम जनताले देखाएको विश्वासमा एक इन्च पनि तलमाथि हुन दिन्न।’’

ओलीले पहिरोको कारण अवरुद्ध  मेलम्ची पानी सरकारले वैशाखमै पुनसंञ्चालन गर्न नसक्ने आरोप लगाए। उनले भने ‘‘म दाबीका साथ भन्छु यो सरकारले वैशाखभित्र मेलम्चीको पानी काठमाडौं ल्याउन सक्दैन। मलाई चुनौती दिन त यो सरकारले काम गरोस्। मैले भन्नु परोस् कि एउटा काम त सरकारले गर्यो। हेर्दै जानु तैपनि सरकारले केही गर्दैन। बैशाखमा फेरि मैले भन्नुपर्नेछ देख्नुभयो मैले गोदावरीबाटै भन्या थिएँ यो सरकारले वैशाखभित्र पानी ल्याउन सक्दैन भनेर।’’

२०५२ देखि काठमाडौँमा सिन्धुपाल्चोकबाट मेलम्चीको पानी ल्याउने योजना अघि बढेको थियो। २६ वर्षपछि गत वर्ष चैत २५ गते काठमाडौँमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण शुभारम्भ भएको थियो। तर असारमा गएको पहिरोका कारण मेलम्चीमा क्षति पुगेपछि काठमाडौँमा मेलम्चीको पानी अवरुद्ध छ। अध्यक्ष ओलीले चुनावपछि आफ्नो सरकार बन्ने र पानी काठमाडौँमा ल्याउने बताए। ओलीले पार्टीलाई बहुमत दिलाएर नेतृत्व छाड्ने बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved