बुटवलको पहिरो नियन्त्रण गर्न प्रधानमन्त्रीलाई विष्णु पौडेलको आग्रह

नेपालभ्युज

बुटवलको पहिरो नियन्त्रण गर्न प्रधानमन्त्रीलाई विष्णु पौडेलको आग्रह

बुटवल। नेकपा (एमाले) का उपमहासचिव विष्णु पौडेलले बुटवलको पहिरो नियन्त्रण गर्न प्रधानमन्त्री शेर बहादुर देउवालाई आग्रह गरेका छन्।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेको पौडेल सहितको टोलीले ज्योतिनगरमा झरेको पहिरो नियन्त्रणको काम तत्काल अगाडि बढाउन आग्रह गरेको छ। उक्त टोलीमा उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी, एमाले बुटवलका अध्यक्ष बाबुराम पन्थी, बुटवल वडा नम्बर ४ का अध्यक्ष टंक पराजुली, बुटवल १ का अध्यक्ष महेन्द्र लिगल र बुटवल १३ का वडा अध्यक्ष नारायण पुन रहका थिए।

नेता पौडेलले पहिरो प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन, पहिरो नियन्त्रण, बुटवलको संरक्षणका साथै गुरुयोजना निर्माण र प्रभावितहरुलाई पुनर्स्थापनाका बजेटको व्यवस्था गर्नुपर्ने बताए। ‘‘वन तथा वातावरण मन्त्रालय र राष्ट्रपति चुरे संरक्षण विकास समितिलाई निर्देशन दिनुहोस्,’’ प्रधानमन्त्री देउवालाई पौडेलले अनुरोध गरे।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले बुटवलको संरक्षणका लागि सम्बन्धित निकायहरुलाई निर्देशन दिने बताए। उनले चुरे क्षेत्रको संरक्षणका लागि गुरु योजना बनाएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे।

भदौ १३ र असोज ४ गते बुटवल–३ ज्योतिनगरमा चुरेबाट झरेको पहिरोले २० भन्दा बढी घर पुरिएका छन् भने बस्ती जोखिममा परेको छ। ज्योतिनगर चुरेको फेदमा पर्छ। ज्योतिनगर र लक्ष्मीनगरमाथि चुरेको शिरमा धाँजा फाटेर २०५५ सालदेखि पहिरो झर्न थालेपनि समस्या समाधानका लागि प्रभावकारी पहल हुन सकेको छैन। त्यतिबेला पहिरोले झरेर ५७ घरमा क्षति पुगेको थियो। २३ वर्षपछि अहिले फेरि पहिरो झरेर बुटवल क्षेत्र नै जोखिमपूर्ण बनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved