सम्बन्ध सुधार्दै अमेरिका र फ्रान्स

अमेरिकी राष्ट्रपति जो बाइडेन र फ्रान्सका राष्ट्रपति इमान्युअल म्याक्रोनबीच बुधबार टेलिफोन वार्ता भएको थियो। करीब आधा घण्टा भएको टेलिफोन वार्तामा अकस सम्झौताले फ्रान्सलाई पारेको असरका विषयमा छलफल भएको बताइएको छ।

नेपालभ्युज

सम्बन्ध सुधार्दै अमेरिका र फ्रान्स

एजेन्सी। अमेरिका र फ्रान्सले दुई पक्षीय सम्बन्ध सुदृढ बनाउनका लागि पहल गरेका छन्। सेप्टेम्बर १५ मा अष्ट्रेलिया, अमेरिका र बेलायतबीच भएको ‘अकस’ सम्झौतासँगै बिग्रिएको अमेरिका र फ्रान्सबीचको सम्बन्ध सुधार गर्न दुवै देशले प्रयास गरेका हुन्।

उक्त सम्झौताका कारण फ्रान्सले ३७ बिलियन अमेरिकी डलर घाटा व्यर्होनु पर्दा दुई देशको सम्बन्धमा तिक्तता भएको बताइएको थियो। अमेरिकी र फ्रान्सेली राष्ट्रपतिले जारी गरेको संयुक्त वक्तव्यमा साझेदार मुलुकबीच सहमतिमा सम्झौता गर्न सकिएको भए अकस सम्झौताले सबै पक्षलाई फाइदा पुग्ने बताइएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेन र फ्रान्सका राष्ट्रपति इमान्युअल म्याक्रोनबीच बुधबार टेलिफोन वार्ता भएको थियो। करीब आधा घण्टा भएको टेलिफोन वार्तामा अकस सम्झौताले फ्रान्सलाई पारेको असरका विषयमा छलफल भएको बताइएको छ। दुवै देशका राष्ट्रपतिबीच अगामी महीना युरोपमा भेटवार्ता हुँदैछ।

अकस सम्झौतापछि अवस्था यस्तो थियो कि फ्रान्सका रक्षामन्त्रीले अमेरिकाले फ्रान्सलाई ‘पछाडिबाट छुरा धस्यो’ भन्दै आरोप लगाएका थिए।
उक्त सम्झौताका कारण फ्रान्सले अष्ट्रेलियासँग सन् २०१६ मा गरेको सम्झौतालाई असर पर्दा फ्रान्स अमेरिकाप्रति रुष्ट बनेको थियो। फ्रान्स र अष्ट्रेलियाबीचको सम्झौतामा फ्रान्सले अष्ट्रेलियालाई डिजेलबाट चल्ने पनडुब्बी जहाज बिक्री गर्दै थियो। यद्यपि, अकस सम्झौतापछि दुई देशबीचको व्यापारिक सम्झौतालाई असर पुगेको छ।

अकस सम्झौताअन्तर्गत अमेरिका र बेलायतले अष्ट्रेलियालाई परमाणु उर्जाबाट सञ्चालन हुने पनडुब्बी जहाज निर्माणमा सहयोग गर्दैछन्। यो सम्झौतासँगै अमेरिकाले क्वाडिलेट्रल (क्वार्ड) समूहमा रहेको अष्ट्रेलियालाई सैन्य हिसाबमा मजबुत बनाउने लक्ष्य लिएको बताइन्छ।

क्वार्ड अष्ट्रेलिया, अमेरिका, भारत र बेलायत सहभागी रहको चार देशको समूह हो। यो समूहको प्रमुख उद्देश्य इन्डो प्यासिफिक क्षेत्रमा बढ्दै गएको चीनको प्रभावलाई कम गर्नु भएको बताइन्छ।

करीब २० वर्ष अफगानिस्तानमा रहेको अमेरिकी सेना त्यहाँबाट फर्किएसँगै अमेरिकाले आफ्नो ध्यान इन्डो प्यासिफिक क्षेत्रमा केन्द्रित गर्न खोजेको विश्लेषण गरिन थालेको छ। अगष्ट ३१ मा सम्पूर्ण रुपमा अमेरिकी सेनाले अफगानिस्तान छाडेको थियो। अगष्ट १५ मा अफगानिस्तानको सैन्य विद्रोही समूह तालिबानले त्यहाँ सत्ता कब्जा गरेसँगै अमेरिकी सेना अफगानिस्तानबाट बाहिरिएको थियो।

यता अकस सम्झौताका विषयमा भारतले आफ्नो औपचारिक धारणा सार्वजनिक गर्दै उक्त सम्झौताको क्वार्ड देशसँग कुनै सम्बन्ध नभएको बताएको छ। दिल्लीमा आयोजित एक पत्रकार सम्मेलनबीच भारतका विदेश सचिव हर्ष बर्धन श्रीङ्ग्लाले क्वार्ड र अकसबीच हुने सम्बन्ध नरहेको बताएका हुन्।

अमेरिकाको न्यूर्योकमा आयोजित संयुक्त राष्ट्रसंघको ७६ औँ महासभालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार सम्बोधन गर्ने कार्यक्रम छ। सोही क्रममा प्रधानमन्त्री मोदी क्वार्ड समूहको वार्तामा पनि सहभागी हुँदैछन्। प्रधानमन्त्री मोदीको अमेरिका भ्रमणका विषयमा पत्रकारहरुले विदेश सचिव हर्ष बर्धनलाई जिज्ञासा राखेका थिए। क्वार्ड र अकस सम्झौतालाई जोड्दै पत्रकाहरुले सोधेको प्रश्नको जवाफ दिँदै भारतका विदेश सचिवले क्वार्ड र अकसबीच कुनै सम्बन्ध नरहेको बताएका हुन्।

यता अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि बाइडेन र भारतका प्रधानमन्त्री मोदीबीच पहिलो पटक औपचारिक भेटवार्ता हुँदैछ। भेटवार्ताका क्रममा अफगानिस्तानको पछिल्लो अवस्थाका विषयमा दुई देशका नेताबीच छलफल हुने भारतीय सञ्चार माध्यमको दाबी छ। अमेरिकी सेना स्वदेश फर्किएसँगै अफगानिस्तानमा भारतको प्रभावमा ठूलो धक्का लागेको बताइन्छ। अमेरिकासँगै भारतले पनि अफगानिस्तानमा ठूलो लगानी गर्दै आएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved