डब्लुएचओको दक्षिण-पूर्वी एसिया क्षेत्रीय समितिको बैठक शुरु

खोप, औषधि, औजार तथा प्रविधिमा समतामूलक पहुँच हुनुपर्छ - प्रधानमन्त्री देउवा

नेपालभ्युज

डब्लुएचओको दक्षिण-पूर्वी एसिया क्षेत्रीय समितिको बैठक शुरु

काठमाडौं। उत्थानशील स्वास्थ्य प्रणालीहरू निर्माण गर्न र स्वास्थ्यमा सर्वव्यापी पहुँच हासिल गर्न स्वास्थ्य क्षेत्रका नेतृत्व प्रदायकहरूको थप प्रतिबद्धता माग गर्दै विश्व स्वास्थ्य संगठनको दक्षिण-पूर्वी एसिया क्षेत्रीय समितिको ७४ औं बैठक आज शुरु भएको छ।

यस क्षेत्रमा विश्व स्वास्थ्य संगठनलाई शासन गर्ने निकायको रूपमा रहेको यस वार्षिक बैठकको उद्घाटन गर्दै नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले भने, “हाम्रा स्वास्थ्य प्रणालीहरूले अत्यावश्यक स्वास्थ्य सेवाहरू प्रदान गर्ने क्रममा क्षमताभन्दा बढी भार थेग्नु परिरहेको अहिलेको अवस्थामा यस क्षेत्रका मानिसको स्वास्थ्य अवस्थामा सुधार ल्याउनका लागि महत्वपूर्ण निर्णयहरू लिनका लागि यो बैठक आयोजना गरिएको छ।”

मानवताका लागि खोप, औषधि, औजार तथा प्रविधिमा समतामूलक पहुँच सुनिश्चित गर्नु आवश्यक भएको र पहुँच नपाएकासम्म पुग्ने प्राथमिकता हुनुपर्ने देउवाले बताए।

विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा। टेद्रोस अधानोम घेब्रेसियसले भने, “कोभिड-१९ महामारीले अझै पनि जीवन, जीविका, समाज तथा अर्थतन्त्रमा क्षति पुर्‍याइरहेको छ। दक्षिणपूर्वी क्षेत्रमा गत मे महिना विनाशकारी रूपमा नै सङ्क्रमणको संख्या बढेकोमा हाल आएर सङ्क्रमण तथा मृत्युको संख्यामा कमी आएको देख्दा मलाई हर्ष लागेको छ। तथापि, देशपिच्छे र ठाउँपिच्छे फरक फरक अवस्था विद्यमान छ र केही स्थानहरूमा तीव्र संख्यामा सङ्क्रमण वृद्धि भइरहेको र अस्पतालहरू भरिएको अवस्था छ। हामीले अब भविष्यमा फेरि यस्तो ठूलो महामारी हुन दिनु हुँदैन। र हामीले यस्तो ठूलो परिमाणमा अन्याय हुन दिनु हुँदैन।”

क्षेत्रीय निर्देशक डा पुनम खेत्रपालले भनिन्, “कोभिडले हाम्रा स्वास्थ्य प्रणालीहरूलाई निकै ठूलो क्षति पुर्‍याएको छ। सेवाहरू अवरुद्ध भएका छन् र स्वास्थ्यकर्मीहरू गलेका छन्। हाम्रो सामुन्ने बहुमुखी चुनौती छ। हामीले स्वास्थ्यमा गुमाएका उपलब्धिहरूलाई पुनः प्राप्त गर्नु छ, क्षमता गुमाएका स्वास्थ्य प्रणालीहरूलाई पुनर्निर्माण गर्नुछ र यो सबै हामीले यस्तो अवस्थामा गर्नुछ, जुन बेला सबै देशका सरकारहरूको राजस्वमा ठूलो दबाब सिर्जना भएको छ।”

यस क्षेत्रका सदस्य राष्ट्रहरूका स्वास्थ्यमन्त्री तथा स्वास्थ्यका उच्च पदाधिकारी, संयुक्त राष्ट्र संघका निकाय, साझेदार, दातृ निकाय, तथा नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति रहने पाँच दिने भर्चुअल सत्रमा जनस्वास्थ्य आपत्कालको तयारी तथा प्रतिकार्यको सुदृढीकरण कसरी गर्ने तथा नसर्ने रोगहरूको रोकथाम र नियन्त्रणमा भएको प्रगतिलाई कसरी अझ द्रुत बनाउने भन्नेलगायत स्वास्थ्यसम्बन्धी मुद्दाहरूमा छलफल हुनेछ।

स्वास्थ्यमा सर्वव्यापी पहुँच हासिल गर्ने उद्देश्यका साथ कोभिड-१९ महामारीले क्षति पुर्‍याएका अत्यावश्यक स्वास्थ्य सेवाहरूको ‘अझ राम्रो पुनर्निर्माण’ विषयमा भोलि मन्त्रीस्तरीय गोलमेच हुने कार्यक्रम छ।

छलफल हुने अन्य मुख्य मुद्दाहरूमा खोपको कार्ययोजनाका लागि क्षेत्रीय खाका, विद्यालय स्वास्थ्यको पुनरुत्थान, र भाइरल हेपाटाइटिस, एचआईभी तथा यौनजन्य सङ्क्रमण अन्त्य रहेका छन्।

क्षेत्रीय समितिको गत बैठकमा गरिएका प्रतिबद्धताहरू-सन् २०२३ सम्ममा दादुरा तथा रुबेलाको उन्मूलन, अत्यावश्यक स्वास्थ्य सामग्री माथिको पहुँचमा अभिवृद्धि, तथा प्राथमिक स्वास्थ्य चौकीको स्तरमा नसर्ने रोगहरू सम्बन्धी सेवाको प्रवाहलाई तीव्र बनाउन स्वास्थ्य प्रणालीको सुदृढीकरणका सम्बन्धमा भएका प्रगतिहरू उपर पनि बैठकमा छलफल हुनेछ।

विश्वको एक-चौथाइ जनसंख्याको बसोबास रहेको यस क्षेत्रको रोगभार भने तुलनात्मक रूपमा उच्च रहेको छ। यस क्षेत्रले सन् २०२३ सम्ममा दादुरा तथा रुबेलाको उन्मूलन गर्ने, बहुक्षेत्रीय नीति तथा योजनाको माध्यमबाट नसर्ने रोगहरूको सम्बोधन गर्ने, मातृ, नवजात शिशु, तथा पाँच वर्षभन्दा मुनिको बालबालिकाको मृत्युदर न्यूनीकरणलाई थप गति दिने, स्वास्थ्यमा सर्वव्यापी पहुँचलाई बढाउने, एन्टिमाइक्रोबियल रेजिस्टेन्सलाई उल्टाउने, आपत्कालीन जोखिम व्यवस्थापन क्षमतालाई अभिवृद्धि गर्ने, वास्ता नगरिएका ट्रपिकल रोगहरू उन्मूलन गर्ने र क्षयरोग अन्त्य गर्ने जस्ता विषयहरूलाई प्राथिमिकता दिँदै आएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved