राष्ट्रनिर्माणका लागि अमेरिकी युद्धको युग सकियो : बाइडेन

नेपालभ्युज

राष्ट्रनिर्माणका लागि अमेरिकी युद्धको युग सकियो : बाइडेन

काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेनले अन्य राष्ट्र निर्माणका लागि अमेरिकाले गर्ने गरेको युद्धको युगको सकिएको घोषणा गरेका छन्। अफगानिस्तानबाट अमेरिकाको बहिर्गमनलाई उनले युग अन्त्यको संज्ञा दिएका हुन्।

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता बोलाउने निर्णय देशकै सबैभन्दा ‘लामो सैन्य अभियान’ अन्त्यका लागि एकमात्र विकल्प भएको दावी समेत गरेका छन्। १५ भदौको दिन अमेरिकी सेनाको अन्तिम दस्ताले काबुल विमानस्थल छोडेको केही घण्टामै बाइडेनले टेलिभिजन सम्बोधन गरेका थिए।

“म यो अनवरत युद्ध लम्ब्याउन गइरहेको थिइनँ”, उनले भने, “अफगानिस्तानमा हामी जे गर्न चाहन्थ्यौँ, त्यसमा एक दशकअघि नै सफल भइसकेका थियौँ। र हामी अर्को दशक पनि त्यहीँ बस्यौँ। यो युद्ध अन्त्य गर्नैपर्ने समय थियो। अफगानिस्तान छोड्ने निर्णय केवल अफगानिस्तानसँग सम्बन्धित छैन। अरू देश निर्माणका लागि ठूला सैन्य कारबाही गर्ने युगको अन्त्य पनि हो यो।”

दोस्रोपटक अफगानिस्तानको सत्ता कब्जा गरेको तालिबानले भने अमेरिका र उसको गठबन्धनको बहिर्गमनलाई विजयोत्सवको रूपमा मनाइरहेको छ। उनीहरूले अफगानिस्तान ‘स्वतन्त्र र सार्वभौम’ राष्ट्र भएको दाबी गरेका छन्।

तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले आफ्नो विजय संयुक्त राष्ट्र अमेरिकाका लागि ‘एक पाठ’ भएको उल्लेख गरेका छन्।

११ सेप्टेम्बर २००१ मा ट्वीन टावर आक्रमणपश्चात् त्यसका दोषी अलकायदाका नेता ओसामा बिन लादेनलाई संरक्षण दिएको भन्दै अमेरिकाले आक्रमण गरेको थियो।

अमेरिकी आक्रमणपश्चात् सत्ता छोड्न बाध्य तालिबानले २० वर्ष लामो युद्ध अन्त्य गर्दै अमेरिकी सेनाले अफगानिस्तान परित्याग गर्न थालेलगत्तै देशका विभिन्न मुलुक कब्जा गर्न थालेको थियो।

३२ साउन (१६ अगस्ट)मा राजधानी काबुल कब्जा गरेपछि अफगानिस्तानी राष्ट्रपति असरफ गनी देश छोडेर भागेका थिए। र सत्ता तालिबानको कब्जामा गएको थियो। (अलजजिरा र बीबीसीको सहयोगमा)

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved