नेपालमा खोप लगाएका ९० प्रतिशतमा एन्टिबडी बनेको स्वास्थ्य मन्त्रालयको दाबी

नेपालभ्युज

नेपालमा खोप लगाएका ९० प्रतिशतमा एन्टिबडी बनेको स्वास्थ्य मन्त्रालयको दाबी

काठमाडौं। नेपालमा कोरोना भाइरसविरुद्ध पहिलो डोज लगाएहरूमा ८० प्रतिशत र पूर्ण मात्रा खोप लगाएकाहरूमा भने ९० प्रतिशतमा एन्टिबडी बनेको एक अनुसन्धानले देखाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ संक्रमणको अवस्थालाई सूक्ष्म विश्लेषण गरी आवश्यक कार्ययोजना बनाउने उद्देश्यले देशभरिका ६ महिनाभन्दा बढी उमेरका व्यक्तिलाई समेटी ०७८ असार २१ गते देखि साउन ३० गतेसम्म संकलित नमुनामध्ये १३ हजार १६१ जनाको परीक्षण गरी यो विश्लेषण गरेको हो।

यस सर्वेक्षणबाट प्राप्त प्रारम्भिक नतिजाअनुसार देशभरि ६८.६ प्रतिशत नमुनामा कोभिड-१९ एन्टिबडी देखिएको छ।

त्यस्तै सातै प्रदेशका सबै सबै लिंग, उमेर, पेशाका मानिसमा लगभग समान रूपमा एन्टिबडी देखिएको मन्त्रालयका प्रवक्ता डा.कुष्णा पौडेलले बताए।

उनले भने, “एक मात्रा मात्र खोप लगाएका व्यक्तिहरू ८० प्रतिशतमा र पूर्ण मात्रा खोप लगाएका ९० प्रतिशतमा एन्टिबडी देखिएको छ, यसकारण हामीले लगाइराखेका खोपहरू अत्यन्त प्रभावकारी देखिएको हो।’

भाइरसले आफ्नो रूप परिवर्तन गरिरहने जोखिम कायमै रहेकाले संक्रमण रोकथाम, नियन्त्रण गर्नु नै एक मात्र प्रभावकारी उपाय हो। जुन हालको अवस्थामा समेत निकै सान्दर्भिक रहेको उनले भने।

भौतिक दूरी कायम गर्ने/गराउने, भीडभाड नगर्ने/नगराउने, घरबाहिर निस्कनैपर्ने भए अनिवार्य रूपमा मास्क प्रयोग गर्ने/गराउने, सरसफाइमा ध्यान दिने र आफ्नो पालोअनुसार खोप लगाउनुपर्ने उनले बताए।

कोभिड-१९ संक्रमणसँग मिल्दोजुल्दो कुनै पनि लक्षण भएमा आफ्नो स्थानीय तहसँग सम्पर्क गरी निःशुल्क परीक्षण गर्न/गराउनुहुन वा नजिकको सरकारी स्वास्थ्य संस्था र प्रयोगशालामा निःशुल्क परीक्षण हुने व्यवस्थासमेत रहेको मन्त्रालयले जनाएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved