बौद्ध दर्शनमा आधारित उपन्यास सार्वजनिक

नेपालभ्युज

बौद्ध दर्शनमा आधारित उपन्यास सार्वजनिक

काठमाडौं । बौद्ध दर्शनमा आधारित आख्यान ‘दुङाल’ सार्वजनिक भएको छ। इतिहासकार डा. रमेश ढुंगेल, मानवअधिकारवादी सुदीप पाठक, साहित्यकार एवं पूर्व सचिव डा. सुधा शर्माले बौद्ध दर्शनका अध्येता एवं साहित्यकार मालिका केशरीको उपन्यास काठमाडौंमा विमोचन गरे।

‘दुङाल’ तिब्बत विलय र तिब्बती शरणार्थीको कथावस्तुमा आधारित छ। शनिबार आयोजित कार्यक्रममा बोल्दै पाठकले दुङाल उपन्यासमा शरणार्थीको मानवअधिकार, न्याय र आत्मसम्मानका कुरा समेटिएको बताए। उनले भने, ‘उपन्यास पढ्दा पाठकलाई हरेक घटनामा आफू पनि सँगै रहेको भान हुन्छ। आप्रवासन या शरणार्थी हुनु रहर नभएर बाध्यता भएको उपन्यासले राम्ररी स्थापित गरेको छ। मानवअधिकारका दृष्टिले ‘दुङाल’ रोचक र घोचक कोसेली हो।’

उपन्यासले तिब्बती समुदायको समस्याका अतिरिक्त उनीहरुको न्याय र आत्मसम्मानको वातावरण बनाउन कर्तव्यबोध गराएको उनको भनाइ थियो। पूर्व सचिव डा. शर्माले पुरुष लेखक भएर पनि महिलाका भावनाको गहिराइ छोएर शरणार्थीको कथा भन्न सक्नु उपन्यासको सफलता भएको टिप्पणी गरिन्। तिब्बती शरणार्थीको परिवेशको उपन्यासले समेटे पनि केशरीको कृतिले विश्वभरि विस्थापन र शरणार्थीको पीडा भोगेका मानिसको पक्षमा बोलेको उनले बताइन्।

त्यस्तै इतिहासकार डा. ढुंगेलले लगभग हराउन थालेको र बिर्सन लागेको शरणार्थी समस्यालाई साहित्यमार्फत उजागर गरेको बताए। आख्यानकार मालिका केशरीले आफ्नो बाल्यकालदेखिको शरणार्थी शिविरसँगको सामीप्यताका कारण ‘दुङाल’ जन्मिएको बताए। केशरीका यसअघि बौद्ध दर्शनमा आधारित उपन्यास ‘पुनरुत्थान’ र ‘सुवर्णलता’ प्रकाशित छन्। सांग्रिला बुक्सले प्रकाशन गरेको ‘दुङाल’ उनको तेस्रो उपन्यास हो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved