नयाँ वर्षमा नेपाली फिल्मलाई दर्शकको साथ, शुक्रबार र शनिबार हाउसफुल !

नेपालभ्युज

नयाँ वर्षमा नेपाली फिल्मलाई दर्शकको साथ, शुक्रबार र शनिबार हाउसफुल !

काठमाडौं । नयाँ वर्षलाई लक्षित गरी हलहरूमा तीन नेपाली चलचित्र भिडेका छन् । एक फिल्म पहिलै लागेको हो भने २ वटा नयाँ प्रदर्शनमा आएको हो ।

२०८० सालको अन्तिम दिन शुक्रबारदेखि रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला’, फिडेल देवकोटा निर्देशित ‘द रेड सुटकेस’ प्रदर्शनमा आयो । चौथो सातामा ‘महाजात्रा’ प्रदर्शन भइरहेको छ । २०८०को अन्तिम दिन शुक्रबार र शनिबार वर्ष २०८१ को पहिलो दिन तीनै फिल्ममा दर्शक भरिभराउ भए ।

शनिबार नयाँवर्ष भएकाले पनि तीनै चलचित्रका अधिकांश सो ‘हाउसफुल’ थिए । नयाँ वर्षमा दर्शकले नेपाली चलचित्र हेर्न चाहेको यसले प्रमाणित गरेको छ ।

डिग्री पास बेरोजगारको कथालाई प्रस्तुत गरिएको चलचित्र ‘डिग्री माइला’मा अभिनेता दयाहाङ राई शीर्ष भूमिकामा छन् । युवाको सपना र क्षमतालाई प्रस्तुत गरिएको नाटक ‘डिग्री माइला’कै पात्रबाट प्रभावित भई चलचित्र तयार गरिएको हो ।

डिग्री माइलामा अभिनेता राईसँगै आँचल शर्मा, विजय बराल, बुद्धि तामाङ, माओत्से गुरुङ, प्रकाश घिमिरेलगायत कलाकारले अभिनय गरेका छन् ।

शुक्रबारबाटै प्रदर्शन गरिएको अर्को चलचित्र ‘द रेड सुटकेस’मा वैदेशिक रोजगारीमा पुगेका युवाको कथा देखाइएको छ । चलचित्रमा अभिनेता विपिन कार्की, सौगात मल्ल, प्रवीन खतिवडा, अभिनेत्री सृष्टि श्रेष्ठलगायतले अभिनय गरेका छन् ।

विमानस्थलबाट एउटा रातो सुटकेस लिएर गाउँतर्फ लाग्ने यात्रीले यात्राका क्रममा भोगेको कथालाई चलचित्रमा प्रस्तुत गरिएको लेखक तथा निर्देशक देवकोटाले बताए ।

चौथो सातामा प्रदर्शनरत चलचित्र ‘महाजात्रा’मा दर्शकको उपस्थिति घटेको छैन । प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको महाजात्रामा हरिवंश आचार्य, विपिन कार्की, वर्षा राउत, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, दिव्य देवलगायतको अभिनय छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved