रास्वपा संसदीय दलमा कांग्रेसको संसद अवरोधबारे छलफल

नेपालभ्युज

रास्वपा संसदीय दलमा कांग्रेसको संसद अवरोधबारे छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गरेको संसद अवरोधको बारेमा छलफल भएको छ ।

आईतवार सिंहदरबारस्थित पार्टीको संसदीय दलको बैठकमा संसदमा नेपाली कांग्रेसले सहकारी प्रकरणको विषयमा उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि प्रश्न उठाउँदै संसद अवरोध गर्दै आएको बारेमा छलफल भएको हो ।

बैठकको बारेमा जानकारी गराउँदै पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बैठकमा प्रमुख प्रतिपक्ष दलले संसदमा आन्दोलन गरिरहँदा संसद पेचिलो बन्दै गएको बारेमा संसदीय दलको बारेमा छलफल भएको बताए । उनले आफू प्रमुख प्रतिपक्ष दल कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलासँग संवादमा रहेको बताए ।

उनले सभामुख देवराज घिमिरेले सोमवार प्रमुख सचेतक र नेताहरुको बैठक बोलाएको र सोही बैठकबाट मंगलवारको संसद निर्वाध रुपमा अघि बढ्ने अपेक्षा राखेको बताए । उनले संसदीय दलको बैठकमा पार्टी सभापति लामिछानेले आफ्ना भनाइहरु राखेको र पार्टीबाट सरकारमा गएका मन्त्रीहरुले अहिलेसम्मको कार्यप्रगतिबारेमा जानकार गराएको पनि बताए ।

उनले भने, ‘हाम्रो पार्टी सत्ता साझेदारीमा गएपछि संसदमा खेल्नुपर्ने भुमिका र प्रभावकारीता बढाउने विषयमा छलफल भयो । सरकारले विभिन्न विधेयक ल्याएको छ, विभिन्न काम गर्छ, त्यो काम कारबाहीलाई कसरी संप्रेषण गर्ने, एकरुपता ल्याउने भन्नेबारेमा संसदीय दलको बैठकमा छलफल भयो ।’

प्रमुख सचेतक परियारले सरकारले गरेका कामलाई संप्रेषण गर्ने, संसदमा प्रभावकारी रुपमा प्रस्तुत हुने बारेमा छलफल भएको पनि बताए । संसदीय दलको बैठक जारी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved