विश्वमा बढ्दो छ क्षेप्यास्त्र विस्तार र प्रयोगको चुनौती, यस्तो छ शक्तिराष्ट्रको होड

क्षेप्यास्त्र आज यस्तो यथार्थ भएको छ, जसलाई कसैले अस्वीकार गर्न सकिरहेको छैन । क्षेप्यास्त्रबाट बढ्ने युद्ध लागत, युद्धको विध्वंसकता, मानवीय क्षति र अर्थतन्त्रमाथिको दबाब सबैले बुझेका छन् । तर, बुझेर पनि अछुतो रहन गाह्रो परेको छ ।

नेपालभ्युज

विश्वमा बढ्दो छ क्षेप्यास्त्र विस्तार र प्रयोगको चुनौती, यस्तो छ शक्तिराष्ट्रको होड

काठमाडौं । विश्वमा क्षेप्यास्त्र चुनौती बढ्दै गएको छ । पछिल्लो दशकमा क्षेप्यास्त्र प्रविधि विस्तार, उत्पादन र प्रयोग उच्च हुँदै गएका छन् ।

विचारधारात्मक भिन्नता, राजनीतिक तनाव, महाशक्ति बन्ने महत्वाकांक्षा र होड-शक्ति सन्तुलन रणनीति, राष्ट्रिय सुरक्षा नीति तथा प्रतिरक्षाजस्ता कारणले क्षेप्यास्त्र प्रविधि विस्तार, उत्पादन, भण्डार र प्रयोग बढ्दै गएको हो ।

तथ्यहरूले भन्छन् कि पछिल्लो दशकमा ब्यालेस्टिक र क्रुज दुवै प्रकारका मिसाइलको प्रसार र वृद्धि भइरहेको छ । जस्तो कि हुथी विद्रोहीलगायतले पछिल्लो समय क्षेप्यास्त्र प्रयोग गरेको देखिन्छ । यसभित्र अरब देशबीचको तनावले काम गरेको छ ।

अरब जगत्‌मा इरान लामो समयदेखि आणविक शक्तिसम्पन्न राष्ट्र थियो । ऐतिहासिकरूपमा पनि इरान यो क्षेत्रको प्रभुत्व केन्द्र हो । इरान-इराक युद्धले लामो समय यो क्षेत्रलाई तनावग्रस्त बनायो । अहिले क्षेत्रीय प्रभुत्वको लागि इरान र साउदी अरेबियाबीचको प्रतिस्पर्धा बढ्दो छ ।

साउदी अरेबियाको पछाडि अमेरिका छ । र, यो अरब जगत्‌को नयाँ प्रभुत्व केन्द्र बन्दैछ । हुथी विद्रोहीलाई प्रयोग गरेर इरान साउदी अरेबियालाई कमजोर पार्न चाहन्छ । यसो गर्दा अमेरिकासँगको दुश्मनी साँध्न पनि इरानलाई सजिलो हुन्छ ।

यसको अर्थ हो, इरानले आफ्नो विरासतको लडाइँ छोडेको छैन । हुथी विद्रोहीले सामुद्रिक मार्ग नियन्त्रणका लागि गरिरहेका सङ्घर्षमा इरानी क्षेप्यास्त्रको पृष्ठपोषण छ । इरान समर्थित विद्रोहीले त्यस क्षेत्रमा ठूलै आतङ्क मच्चाइरहेका छन् ।

लालसागर क्षेत्रको सामुद्रिक मार्ग प्रयोग हुथी विद्रोहीका कारण पश्चिमा र उसका साझेदार देशका लागि असहज भएको छ । पछिल्लोपटक इरानले सन् २०२० को जनवरीमा इराकको अल असद एयर बेसमा क्षेप्यास्त्र आक्रमण गरेको थियो ।

यस मामिलामा सधैँ तनाव सृजना गर्ने अर्को राष्ट्र उत्तर कोरिया हो । यो राष्ट्र कोरिया युद्धको सन्त्रासबाट सधैँ विक्षिप्त जस्तो देखिन्छ । उत्तर कोरियाले अहिलेसम्म कसैमाथि क्षेप्यास्त्र आक्रमण गरेको छैन । तर, एक साम्यवादी राष्ट्र हुनुको वैचारिकीले उसलाई अनावश्यकरूपमा हतियार सङ्घर्षमा फसाएको छ । उत्तर कोरियाले क्षेप्यास्त्रहरूको ठूलो परिमाणमा निर्माण र परीक्षण गरिरहेको हुन्छ ।

कुनै बेला क्षेप्यास्त्र आधुनिक विज्ञानसम्पन्न महाशक्ति राष्ट्रहरूको मात्र क्षमता र पहुँचको विषय हो भन्ने ठानिन्थ्यो । आज कतिपय साना र तुलनात्मकरूपमा कमजोर विद्रोही समूह र राष्ट्रले पनि क्षेप्यास्त्र प्रयोग गरेको पाइन्छ ।

साउदी अरेबियाको भनाइअनुसार हुथी विद्रोहीले मात्र उमाथि १२०० भन्दा बढी क्षेप्यास्त्र प्रयोग गरिसकेका छन् ।

यूक्रेन युद्ध अहिले त्यस्तो उदाहरण बनेको छ कि जसले व्यापक क्षेप्यास्त्र प्रयोग हुने युद्ध कतिसम्म अमानवीय र विनाशकारी हुन सक्दछ भन्ने पुष्टि गर्दछ । यूक्रेनमा प्रयोग गर्नकै लागि रुसले क्षेप्यास्त्र उत्पादन बढाएको छ भने अर्कोतिर अमेरिकाले यूक्रेनलाई क्षेप्यास्त्र आपूर्ति गरिरहेको छ ।

विश्वमा क्षेप्यास्त्र प्रयोग हुन थालेको ८० वर्ष भयो । संसारको पहिलो ब्यालेस्टिक मिसाइल नाजी भी-२ थियो भने क्रुज मिसाइल नाजी भी-१ । यी हतियार हवाईजहाजजस्तो उडेर जान्थे र निश्चित लक्ष्यमा ध्वंस मच्चाउँथे ।

पश्चिम यूरोपेली केन्द्रहरू यहाँसम्म कि लण्डनलाई तर्साउन यिनै क्षेप्यास्त्र प्रयोग भएका थिए । यति शक्तिशाली हतियारका बाबजुद दोस्रो विश्वयुद्धको परिणाम नाजी जर्मनको पक्षमा हुन सकेन । त्यसले मृतक र ध्वंसको सङ्ख्या मात्र बढायो ।

अन्य देशले त्यसपछि नाजी जर्मनको सिको गर्न थाले । सन् १९५५ मा सोभियत सङ्घले छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र स्कड बनायो । इरान-इराक युद्धमा इराकी शासक सद्दाम हुसेनले इरानी शहरलाई लक्षित गरेर स्कड क्षेप्यास्त्र व्यापक प्रयोग गर्थे । सन् १९९१ को खाडी युद्धमा पनि स्कड क्षेप्यास्त्रको व्यापक प्रयोग भयो ।

अमेरिकाले भने प्यैट्रियक एयर डिफेन्स सिस्टम बनायो । त्यसपछि स्कड र प्यैट्रियटिक क्षेप्यास्त्रको सङ्घर्ष विश्वभर चर्चित भयो । प्यैट्रियक क्षेप्यास्त्र मूलतः प्रतिमारक दृष्टिकोणबाट निर्मित थिए । यो एक प्रकारले स्कड क्षेप्यास्त्रलाई निस्तेज पार्ने प्रतिमारक क्षेप्यास्त्र थियो ।

स्कड प्रजातिका मिसाइलको विशेषता के हो भने यिनले पाइलटको जीवनलाई जोखिममा पार्दैनन् । थोरै मान्छेबाट अपरेट गर्न सकिन्छ । तसर्थ, यसको प्रयोग व्यापक भएको हो । सन् १९८० र ९० को दशकमा विश्वभर जे-जति क्षेप्यास्त्र आक्रमण भए, ती अधिकांश स्कड थिए । स्कड क्षेप्यास्त्रको प्रभावकारितामा कमै शङ्का गरिन्छ ।

सन् २०१९ को सेप्टेम्बरमा इरान समर्थित एक विद्रोही समूहले साउदी तेल प्रशोधन तथा भण्डारण केन्द्रमा गरेको आक्रमण र ध्वंस स्कड क्षेप्यास्त्रको प्रभावकारिताको पराकाष्ठा थियो । तिनले लक्षित स्थानमा सबै चिज ध्वंस्त पारिदिएका थिए ।

यो भनिन्छ कि उत्तर कोरियाले क्षेप्यास्त्र प्रविधि सोभियत सङ्घबाट पाएको थियो र इरानलाई बेचेको थियो । इरानले प्रयोग गर्ने क्षेप्यास्त्र उत्तर कोरियामा बनेका हुन्छन् । सन् १९९० देखि तेहरानले प्योङयोङबाट क्षेप्यास्त्र खरिद गर्ने गरेको छ ।

उत्तर कोरिया र इरान दुवैको सैन्य क्षमता बलियो बनाउन सोभियतकालीन स्कड क्षेप्यास्त्रको ठूलो भूमिका छ । उनीहरू यसै कारणले अमेरिकाजस्तो महाशक्ति देशसँग तनावका बीच बाँच्न सक्ने भएका हुन् ।

भियतनाम युद्धमा अमेरिकाले गरेका हवाई आक्रमण क्षेप्यास्त्र प्रयोगका खराब दृष्टान्त थिए । सर्बियाली युद्धमा नेटोले छोटो र भीषण हवाई आक्रमणको कारण मध्ययूरोपको राजनीतिक परिदृश्य नै बदलिदियो ।

अहिले इरान र उत्तर कोरियाको काम रुसका लागि क्षेप्यास्त्र आपूर्ति गर्नु हो भने अमेरिका र नेटोको काम युक्रेनका लागि । युक्रेन युद्धको कारण अमेरिकी हतियार कम्पनीको व्यवसायमा व्यापक वृद्धि मात्र भएको छैन, अमेरिकी रक्षा बजेटको आकार नै बढाएको छ ।

ब्यालेस्टिक तथा क्रुज क्षेप्यास्त्रका अतिरिक्त ड्रोन आक्रमण अहिलेका युद्धको यथार्थ हो, ड्रोन आक्रमण बीसौं शताब्दीको अन्तिमसम्म उल्लेख्य थिएन । तर, क्षेप्यास्त्र शक्तिको प्रभावलाई कम गर्न ड्रोन आक्रमणसमेत पर्याप्त हुन सकिरहेका छैनन् ।

यसको राम्रो उदाहरण लालसागर क्षेत्रको तनाव हो । जहाँ इरान समर्थित हुथी विद्रोहीले इरानी स्कड क्षेप्यास्त्रको बलमा अमेरिकी प्रयत्नलाई अहिलेसम्म विफल पार्दै आएका छन् ।

क्षेप्यास्त्र विस्तार र निर्माणले त्यो देशको अर्थतन्त्रमा राम्रो प्रभाव भने पार्दैन । क्षेप्यास्त्र निर्यातक राष्ट्रको हैसियतमा पुगेका उत्तर कोरिया र इरानको अर्थतन्त्रलाई समग्रमा राम्रो भन्न सकिन्न । अझ बढी आज यी दुवै समकालीन विश्वबाट टुटेका ‘परिह-राज्य’ जस्तो बनेका छन् ।

रुस-युक्रेन युद्धमा यूक्रेनको कुरै छोडौँ, रुसको क्षति सानो छैन । यसले अमेरिकी तथा नेटो अर्थतन्त्रमाथि बढाएको दबाब झनै चर्को छ । धन जनको व्यापक विनाश हुने जान्दाजान्दै किन मानव समाजमा यस्ता विध्वंसक युद्ध निम्त्याइन्छ ? कसैले उत्तर दिन सक्दैन ।

यूक्रेन युद्ध दुइ वर्षभन्दा बढी समयदेखि जारी रहेकै अवस्थामा इजरायल-हमास युद्ध सुरू भयो । यसले प्यालेस्टाइनलाई मात्रै हैन, मध्यपूर्वका अरु धेरै देशलाई लपेट्दछ । लेबनान, लिबिया, इजिप्टलगायत हिज्बुल्ला आधार भएका देशमा क्षेप्यास्त्र सम्भावनालाई विस्तार गर्दछ ।

अफगानिस्तान र म्यानमार क्षेप्यास्त्र विस्तारका लागि नयाँ सम्भावित स्थान हुन् ।

क्षेप्यास्त्र आज यस्तो यथार्थ भएको छ, जसलाई कसैले अस्वीकार गर्न सकिरहेको छैन । क्षेप्यास्त्रबाट बढ्ने युद्ध लागत, युद्धको विध्वंसकता, मानवीय क्षति र अर्थतन्त्रमाथिको दबाब सबैले बुझेका छन् । तर, बुझेर पनि अछुतो रहन गाह्रो परेको छ ।

(फरेन अफेयर्सको एक आलेखमा आधारित)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved