इलाम-२ उपनिर्वाचन : के गठबन्धनको साझा उम्मेदवार होला ?

त्यसो त इलाम- २ एमालेको गढ हो । २०४८ पछि त्यहाँबाट निरन्तररूपमा स्व. सुवासचन्द्र नेम्वाङले जित्दै आएका थिए । त्यहाँ एमालेसँग ३० हजार हाराहारीमा मत छ ।

नेपालभ्युज

इलाम-२ उपनिर्वाचन : के गठबन्धनको साझा उम्मेदवार होला ?

काठमाडौं । उपनिर्वाचन नजिकिँदैछ । इलाम प्रतिनिधिसभा- २ र बझाङ प्रदेशसभा (१) मा वैशाख १५ मा उपनिर्वाचन हुँदैछ, दलहरू तीव्र तयारीमा छन् ।

चुनावी सरगर्मी भने इलाम- २ कै छ ।

इलाम- २ का लागि सत्ता गठबन्धनमा रहेका नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी) ले उम्मेदवार घोषणा गरिसकेका छन् ।

एमालेले यसअघि सोही क्षेत्रबाट निर्वाचित पार्टी उपाध्यक्षसमेत रहेका स्व. सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङ (Suhang nembang) लाई उम्मेदवार बनाएको छ । उनी जीत निकाल्ने अपेक्षासहित चुनावी मैदानमा होमिइसकेका छन् ।

यस्तै रास्वपाले मिलन लिम्बू (Milan limbu) लाई उम्मेदवार बनाएको छ । पूर्वपत्रकारसमेत रहेका लिम्बू वामपन्थी पृष्ठभूमिका हुन् । सुरूमा स्वतन्त्ररूपमा उम्मेदवारी घोषणा गरेका उनी अब रास्वपाबाट उम्मेदवार बन्नेछन् । उनले रास्वपाले सङ्घीयता र पहिचानप्रति प्रतिबद्धता जनाएपछि आफू उम्मेदवार बन्न राजी भएको प्रष्टोक्ति दिएका छन् ।

यस्तै एकीकृत समाजवादीले जीतबहादुर राई (Jit bahadur rai) लाई उम्मेदवार बनाएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट इलामकै माईजोगमाई गाउँपालिकाको अध्यक्षमा निर्वाचित उनी तत्कालीन गठबन्धनबाट नेकपा (एमाले) उम्मेदवार कुशबहादुर थेवेसँग अध्यक्ष पदमै पराजित भएका थिए ।

केन्द्रीय सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) बाट ४ जनाको नाम सिफारिस भएको छ । सिफारिस हुनेहरूमा धीरेन्द्र शर्मा तिम्सिना, उर्मिला तामाङ, ओमबहादुर गुरुङ र कुमार बराइली छन् । नेताहरूले बताएअनुसार माओवादीले अन्तिममा उम्मेदवारी फिर्ता लिनेछ । माओवादी केन्द्रका एक नेताले नेपालभ्युजसँग भने, “त्यहाँ हाम्रो मत ५/६ हजारभन्दा बढी छैन । हामीले उम्मेदवारी दिँदा कांग्रेसलाई सहज हुन्छ । त्यसैले हामीले प्रक्रियामा भाग लिएको जस्तो मात्रै हुनसक्छ । तर, सत्ता गठबन्धनमा सहभागी अन्य घटकहरूले आ-आफ्नै तवरले उम्मेदवारी दिएपछि माओवादीले पनि उम्मेदवार सिफारिस गरेको हो ।”

यस्तै सत्ता गठबन्धनको अर्को घटक जनता समाजवादी पार्टी (जसपा) अनिर्णित छ । जसपाले अहिलेसम्म कसैलाई सिफारिस गरेको छैन । तर, नेताहरूले पहिचान पक्षधर उम्मेदवारलाई सघाउनेगरी जसपाले निर्णय गर्ने आशय व्यक्त गरेका छन् ।

यस्तो अवस्थामा सत्ता गठबन्धनबाट को उम्मेदवार हुने भन्ने विषय पेचिलो बन्दै आएको छ । उपनिर्वाचन सत्ता गठबन्धन भर्सेस नेपाली कांग्रेस हुने निश्चितप्राय: देखिन्छ । प्रमुख प्रतिपक्ष दलसमेत रहेको नेपाली कांग्रेसबाट भेषराज आचार्य, केशव थापा, डम्बरबहादुर खड्का, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र चन्द्रकला राईको नाम सिफारिस भएका छन् ।

कांग्रेस नेताहरूले बताएअनुसार डम्बरबहादुर खड्काको सम्भावना बढी छ । उनी यसअघि सोही क्षेत्रबाट एमालेका स्व. सुवासचन्द्र नेम्वाङसँग ११४ मतले पराजित भएका थिए । तत्कालीन वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार उनी साँघुरो मतले पराजित भएकाले उनैलाई कांग्रेसले टिकट दिने तयारी गरिएको छ ।

सत्ता गठबन्धनभित्र एमालेका सुहाङ र रास्वपाका मिलन प्रमुख उम्मेदवारका रूपमा देखिएका छन् । उनीहरू कुनै पनि हालतमा ‘ब्याक’ नहुने अडानमा छन् ।

त्यसो त इलाम- २ एमालेको गढ हो । २०४८ पछि त्यहाँबाट निरन्तररूपमा स्व. सुवासचन्द्र नेम्वाङले जित्दै आएका थिए । त्यहाँ एमालेसँग ३० हजार हाराहारीमा मत छ ।

यस्तै रास्वपा नयाँ दल हो, यद्यपि गत निर्वाचनमा उसले प्रत्यक्षतर्फ १ हजार र समानुपातिकतर्फ ४ हजारभन्दा धेरै मत प्राप्त गरेको थियो । त्यसैले यसपटक उसले आफैँलाई परीक्षण गर्न चाहन्छ । रास्वपा नेताहरूले कुनै पनि हालतमा उम्मेदवारी फिर्ता नलिने बताएका छन् ।

यसबाहेक त्यस क्षेत्रका लागि कम मतदाता भएका दलहरू माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा भने त्यति जबरजस्त देखिएका छैनन् । माओवादी केन्द्रका सचिव दीनानाथ शर्मा अन्तिममा सत्ता गठबन्धनका तर्फबाट एकजना मात्रै उम्मेदवार हुने बताउँछन् । माओवादीले केन्द्रीय सरकार र सत्ता गठबन्धनमा पनि सहजीकरण गरिरहेकाले चुनावबारे पनि सहजीकरण गरेर छलफलमार्फत समझदारी जुटाउने उनको भनाइ छ ।

“अहिले सत्ता गठबन्धनका दलहरूले आ-आफ्नै उम्मेदवार घोषणा गरिरहेका छन् । पछि मनोनयन दर्ता हुँदा गठबन्धनबाट एकजनाको मात्रै नाम हुन्छ, त्यसको प्रयास भइरहेको छ । सबै दलहरूले एउटै उम्मेदवारलाई समर्थन गर्ने वातावरण बन्छ,” उनले भने ।

यता एमाले नेताहरूले उम्मेदवारी फिर्ता नहुने बताउँछन् । उपमहासचिव प्रदीपकुमार ज्ञवाली भन्छन्, “एमालेले उम्मेदवारी फिर्ता लिने कुरा हुँदैन । गठबन्धनका अरु दललाई सहयोगका लागि भन्ने र नमाने प्रतिस्पर्धामै उत्रिने हो ।”

रास्वपा नेताहरूले आफूहरू सत्ता  गठबन्धनमा भएपनि चुनावी गठबन्धन नभएको प्रतिक्रिया दिँदै उम्मेदवार फिर्ता नहुने बताएका छन् । रास्वपा महामन्त्रीसमेत रहेका प्रवक्ता डा. मुकुल ढकालले भने, “सत्ता गठबन्धन भन्नु र चुनावी गठबन्धन भन्नु फरक कुरा हो । हामी सत्ता गठबन्धनमा छौँ, चुनावी गठबन्धनमा छैनौँ । यो कुरालाई सत्ता गठबन्धनमा अरु दलहरूले सहर्ष स्वीकारेका छन् ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved