सुदूरपश्चिममा नागरिक उन्मुक्तिका चौधरीले पाए सामाजिक विकास मन्त्रालयको जिम्मा

नेपालभ्युज

सुदूरपश्चिममा नागरिक उन्मुक्तिका चौधरीले पाए सामाजिक विकास मन्त्रालयको जिम्मा

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का लक्ष्मणकिशोर चौधरीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

यसअघि विना विभागीय मन्त्रीको शपथ लिएका चौधरीलाई बिहीबार जिम्मेवारी दिएपछि उनले पदभार ग्रहण गरेका छन् ।

नाउपाको संस्थापक केन्द्रीय समितिको बैठकले सुदूरपश्चिममा पनि एमाले-माओवादीसहितको सत्ता गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको भोलिपल्ट मुख्यमन्त्री शाहले नाउपाका मन्त्रीको जिम्मेवारी तोकेका हुन् ।

मुख्यमन्त्री शाहले बुधबार राति सरकारमा सहभागी नाउपाका मन्त्रीहरूसँग छलफल गरी विनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिने तयारी गरेका थिए ।

नाउपाका अर्का मन्त्री खुसीराम चौधरीको भने जिम्मेवारी तोकिएको छैन । उनलाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिने मुख्यमन्त्रीको तयारी छ ।

बिहीबार पदभार ग्रहण गर्दै मन्त्री चौधरीले आफ्नो पार्टीले एक वर्ष पहिलेदेखि कांग्रेस नेतृत्वको सरकारलाई समर्थन दिएकोले हाल पदभार ग्रहण गर्नु सरकार सञ्चालनको प्रक्रिया मात्रै रहेको बताएका हुन् ।

उनले ‘सङ्घीय सरकार होस या प्रदेश सरकार, पार्टी चलाउने हो या जनताबाट चुनिएका जनप्रतिनिधिले हो भन्ने प्रश्न गरे ।

‘जनताले हामीलाई म्यान्डेट दिइसकेका छन् सरकार तपाईँहरू चलाउनुस् भनेर । त्यही म्यान्डेट हामी पालना गरिरहेका छौ । पार्टीले सल्लाह सुझाव दिन सक्छ ।’ उनले भने ।

हाल सुदूरपश्चिम प्रदेश सरकारमा नाउपाका ५ जना मन्त्री छन् ।

मुख्यमन्त्री शाहले यसअघि नाउपाको सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला र इन्दिरा गिरीलाई कृषि राज्यमन्त्रीको जिम्मेवारी दिएका थिए भने रामेश्वर चौधरी यसअघिदेखि नै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारीमा छन् ।

मुख्यमन्त्री शाहले प्रदेशसभामा आफ्नो बहुमत कायम राख्न नाउपा, राप्रपा र स्वतन्त्र सांसदको समर्थन लिने तयारी गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved