सोलुखुम्बु : कार्यालय छ कर्मचारी छैनन्, सेवाग्राहीलाई सदरमुकाम नै पुग्नुपर्ने बाध्यता

एक हप्ताभित्र कर्मचारी पुग्छन् : गृह मन्त्रालय

नेपालभ्युज

सोलुखुम्बु : कार्यालय छ कर्मचारी छैनन्, सेवाग्राहीलाई सदरमुकाम नै पुग्नुपर्ने बाध्यता

सोलुखुम्बु । जिल्लाको इलाका प्रशासन कार्यालय, सोताङ र सीमा प्रशासन कार्यालय, नाम्चेमा अधिकृत (कर्मचारी) नहुँदा सेवा प्रभावित बनेको छ ।

जिल्ला प्रशासन कार्यालय, सदरमुकाम सल्लेरीमा छ । सल्लेरीसम्म आइपुग्न नसक्ने सेवाग्राहीका लागि सोताङ गाउँपालिकाअन्तर्गत सोताङ बजारमा इलाका र खुम्बु पासाङल्हामु गाउँपालिकाअन्तर्गत नाम्चेमा नाम्चे सीमा कार्यालय स्थापना गरिएका छन् । तर, त्यहाँ कर्मचारी नहुँदा सेवा प्रभावित बनेको हो ।

इलाका प्रशासन कार्यालय, सोताङबाट कामु नायब सुब्बाबाट गत पुस मसान्तसम्म सेवा प्रवाह भइरहेको थियो । तर, उनी पनि हिँडेपछि अहिले त्यहाँबाट प्रवाहित हुने सेवा ठप्प भएको छ ।

यस्तै सीमा प्रशासन कार्यालय, नाम्चेबाट चार महिनायता सेवा प्रवाह भएको छैन । सरकारले सीमा प्रशासन कार्यालयका लागि भनेर अधिकृत दामोदर दाहाल पठाएको थियो । तर, उनी उमेरले पाको र सुगर, प्रेसरको बिरामी भएकाले त्यहाँबाट सेवा प्रवाह गर्न असमर्थ रहे ।

जिल्ला प्रशासन कार्यालय, सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी (प्रजिअ) देवी पाण्डे (खत्री) का अनुसार सीमाका लागि खटाइएका दाहाल ५५ वर्षका हुन् । “मन्त्रालयले उहाँ (दामोदर दाहाल) लाई खटाएको हो । तर, उहाँ उमेरले पनि पाको मान्छे, सुगर-प्रेसरलगायतका बिरामी हुनुहुन्छ । त्यसैले उहाँ जानुभएन,” प्रजिअ पाण्डेले नेपालभ्युजसँग भनिन् ।

त्यसो त नाम्चे चिसो ठाउँ हो । नाम्चे तीन हजार पाँचसय हाराहारीको उचाइमा अवस्थित छ । त्यसकारण मन्त्रालयले खटाएका दाहाललाई गाह्रो भएको प्रजिअ पाण्डको भनाइ छ ।

दाहाल अहिले सल्लेरीस्थित जिल्ला प्रशासन कार्यालयमै छन् । यसअघि उनी सीमित दिनका लागि इलाका सोताङ र सीमा नाम्चे पुगेका थिए । उनले सेवा प्रवाहसमेत गरेको प्रजिअ पाण्डे बताउँछिन् ।

उसो त सोलुखुम्बु हिमाली जिल्ला हो, जहाँका अधिकांश स्थानहरूमा बाह्रैमास चिसो/ठण्डा हुन्छ । खासगरी जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका, माप्य दुधकोशी गाउँपालिका, महाकुलुङ गाउँपालिकालगायतका स्थानहरूबाट सदरमुकाम सल्लेरी पुग्न गाह्रो पर्छ । त्यसैले इलाका र सीमा कार्यालय स्थापना गरिएका हुन् । तर, त्यहाँबाट पनि सेवा नपाउँदा सेवाग्राहीहरू मर्कामा परेका छन् ।

खासगरी खुम्बु पासाङल्हामुलगायतका क्षेत्रबाट सेवा लिनका लागि सल्लेरी नै पुग्नुपर्‍यो भने २ देखि ३ दिन लाग्छ । अन्य गाउँपालिका कतिपय स्थानहरू पनि त्यतिकै टाढा छन् । तर, इलाका तथा सीमा कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राहीलाई सल्लेरी नै पुग्नुपर्ने बाध्यता छ ।

कर्मचारी अभावबारे सरकारलाई जानकारी गराइएको भएपनि समाधान भने भइनसकेको प्रजिअ पाण्डे बताउँछिन् ।

एक हप्ताभित्र कर्मचारी पुग्छन् : गृह मन्त्रालय

गृह मन्त्रालयले भने एक हप्ताभित्र कर्मचारी पुग्ने बताएको छ । समस्याबारे जिज्ञासा राख्दा मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले नेपालभ्युजसँग भने, “अब एक हप्ताभित्र कर्मचारीहरू त्यहाँ पुग्छन् ।”

कर्मचारी अभावका कारण त्यस्तो समस्या भएको तर, अब चाँडै नै सेवा सुचारु हुने उनले बताए । “कर्मचारी अभावकै कारण हो । तर, त्यसमा आवश्यक कामहरू भइरहेकै छन् । चाँडै कर्मचारी पुग्छन् अब,” उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved