नेपाल–भारत अन्तर्राष्ट्रिय संस्कृत सम्मेलन काठमाडौंमा हुने

नेपालभ्युज

नेपाल–भारत अन्तर्राष्ट्रिय संस्कृत सम्मेलन काठमाडौंमा हुने

काठमाडौं । विश्वव्यापीरूपमा संस्कृतप्रतिको रुचि र सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा संस्कृतको प्रभावको अन्वेषणका लागि छलफल गर्ने उद्देश्यले नेपाल–भारत अन्तर्राष्ट्रिय संस्कृत सम्मेलन आयोजना गरिने भएको छ ।

नीति अनुसन्धान प्रतिष्ठान, नेपाल (नेनाप), केन्द्रीय संस्कृत विश्वविद्यालय, नयाँदिल्ली र इन्डिया फाउन्डेशन, नयाँदिल्लीको संयुक्त आयोजनामा चैत १४ देखि १६ गतेसम्म काठमाडौँमा सम्मेलन आयोजना गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

आजको विश्वले संस्कृतलाई अध्ययनको विषय बनाउन थालेका सन्दर्भमा सम्मेलनमा छलफल हुनेछ । नेपाल र भारतमा संस्कृतका धेरै विश्वविद्यालय, महाविद्यालय र विद्यालय छन् । नेपाल, भारतबाहेकका विभिन्न विदेशी विश्वविद्यालयमा समेत संस्कृत अध्ययन गर्ने, गराउने धेरै शोधार्थी, प्राध्यापक रहेका छन् ।

प्राचीन संस्कृतका ग्रन्थको ज्ञानलाई वर्तमानमा पनि प्रयोग गर्ने परिपाटी विकसित हुँदै आएको छ । विश्वभरिको संस्कृतको नेतृत्व संशाधन एवं जनशक्तिका दृष्टिले नेपाल र भारतले मात्र गर्न सक्छन् र गर्नुपर्दछ भन्ने अपेक्षा विश्वले नै गरेकाले यससम्बन्धी छलफल गर्न सम्मेलनको आयोजना गरिएको आयोजक समितिका संयोजक डा प्रेमराज न्यौपानेले जानकारी दिए ।

नेपाल–भारत संस्कृत सम्मेलन यसअघि पनि नेपालमा भएका थिए । नेपालमा विसंं २०२४ मा पहिलो पटक दाङमा नेपाल–भारत संस्कृत सम्मेलन गरिएको थियो । त्यस सम्मेलनले नेपालमा संस्कृत विश्वविद्यालय स्थापना गरिनुपर्ने घोषणापत्र जारी गरेको थियो ।

त्यही सम्मेलनदेखि संस्कृत विश्वविद्यालय स्थापनाका बारेमा बहस सुरु भएको थियो । फलस्वरुप विसं २०४३ मा महेन्द्र संस्कृत विश्वविद्यालय स्थापना भयो । विसं २०६३ वैशाख ११ गतेको परिवर्तनपछि विश्वविद्यालयको नाम फेरि नेपाल संस्कृत विश्वविद्यालय राखिएको हो ।

त्यसैगरी दोस्रो पटक २०५१, तेस्रो पटक २०७५ र चौथो पटक २०७६ मा काठमाडौँमा नेपाल–भारत संस्कृत सम्मेलन भएको थियो । यस वर्ष हुने सम्मेलनले नेपालको संस्कृतको गतिविधिलाई भारतमा एवं भारतमा भइरहेको संस्कृतको कामबारे पनि नेपालमा परस्पर बोध गराउने संयोजक न्यौपानेले बताए ।

नेपाल र भारतका संस्कृतसम्बन्धी साझा धारणा यस सम्मेलनबाट निश्चित हुने जनाइएको छ । त्यसबाट विश्वभरिकै नेतृत्व दुवै देशका संस्कृतज्ञले लिन सक्षम हुने र ऐतिहासिक संस्कृत सम्मेलन बन्नेछ भन्ने विश्वास लिइएको छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved