सुदूरपश्चिममा सत्ता टिकाउन मन्त्रालय फुटाइँदै, उन्मुक्ति र स्वतन्त्र सांसदलाई मन्त्रीको अफर

नेपालभ्युज

सुदूरपश्चिममा सत्ता टिकाउन मन्त्रालय फुटाइँदै, उन्मुक्ति र स्वतन्त्र सांसदलाई मन्त्रीको अफर

धनगढी । केन्द्रमा नयाँ गठबन्धन बनेपनि सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदलाई सरकारमा सहभागी गराएर मुख्यमन्त्री कमलबहादुर शाहले सत्ता टिकाउने रणनीति बनाएका छन् ।

प्रदेशसभामा सात सदस्य रहेको नागरिक उन्मुक्तिका ५ जनालाई मन्त्री बनाएर सत्ता टिकाउने रणनीतिमा मुख्यमन्त्री शाह छन् । स्वतन्त्र सांसदलाई समेत मन्त्री बनाएर बहुमत पुर्‍याउने कोसिसमा रहेका मुख्यमन्त्री शाहले सके राप्रपाका सांसदलाई समेत सरकारमा सहभागी गराउने नभए समर्थन लिएर सत्ता टिकाउने रणनिति बनाएका हुन् ।

केन्द्रमा कांग्रेस नेतृत्वको गठबन्धन भत्किएर एमाले र रास्वपासहितको सरकार बनेसँगै मुख्यमन्त्री शाहले माओवादीका ३ र एकीकृत समाजवादीका एक मन्त्रीलाई बर्खास्त गरे । उनीहरुको बर्खास्तीसँगै शाहले नागरिक उन्मुक्तिका एक राज्यमन्त्रीसहित ३ मन्त्री थपे ।

सरकारमा जाने र प्रतिपक्षमा बस्ने विषयकै कारण उन्मुक्तिमा देखिएको विवादपनि मन्त्री पद दिएपछि साम्य हुने देखिएको छ । सोहीकारण मन्त्री थपेका मुख्यमन्त्री शाह फेरि नागरिक उन्मुक्ति र स्वतन्त्र सांसदलाई मन्त्रीमा नियुक्त गर्दैछन् ।

फागुन २४ गते नागरिक उन्मुक्तिका तर्फबाट घनश्याम चौधरी आर्थिक मामिला, इन्दिरा गिरि कृषी राज्य र खुशिराम चौधरी बिना बिभागिय मन्त्री नियुक्त भएका थिए भने, रामेश्वर चौधरी यस अघि नै मन्त्री थिए ।

अब मुख्यमन्त्री शाहले उन्मुक्तिकै लक्ष्मण किशोर चौधरी र स्वतन्त्र सांसद डा तारा जोशीलाई मन्त्री बनाउने तयारी गरेका छन् । प्रदेशमा दुई मन्त्रालय फुटाएर भएपनि सरकार टिकाउने तयारीमा मुख्यमन्त्री शाह छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रदेशसभा सदस्य खेमा बिष्टलाई समेत शाहले मन्त्रीको अफर गरेका छन् । उनीसहितलाई ल्याउँदा मुख्यमन्त्री शाहले बहुमत प्राप्त गर्ने छन् । यसमा शाह पनि ढुक्क छन् ।

केन्द्र सरकारलाई समर्थन गर्नेदेखि प्रदेश सरकारको सहभागीको विषयले नागरिक उन्मुक्ति पार्टीमा विवाद देखिएको थियो । पार्टी संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरीबीचको विवाद नयाँ गठबन्धनमा जाने वा नजाने भन्नेमा त उत्कर्षमा पुगेको थियो ।

प्रदेश सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता हुनसमेत रञ्जिताले निर्देशन दिएकी थिइन् । तर, हाल सबै विवाद मिलिसकेको पार्टीले जनाएको छ । अब केन्द्रमा विपक्षी दल र प्रदेशको सत्तामा पार्टी रहने उपाध्यक्ष लक्ष्मण किसोर चौधरी बताउँछन् ।

‘अध्यक्ष र संरक्षकबीच पार्टीमा विवाद छैन,’ चौधरीले भने ‘उहाँहरुको घरमा होला भएपनि पार्टीको निर्णय केन्द्रमा विपक्षी र सुदुरपश्चिम सरकारमा जाने भन्ने नै हो ।’

प्रदेशसभामा नेपाली कांग्रेसका १८, नेकपा एमालेका १०, माओवादी केन्द्रका ११, उन्मुक्तिका ७, नेकपा एकिकृत समाजवादीका ४, एक स्वतन्त्र र एक राप्रपाका सांसद छन् ।

बहुमतका लागि आवश्यक पर्ने २७ सांसदको संख्या पुर्याउन मन्त्री पद बाँड्ने र मन्त्रालय फुटाउनेसम्मको तयारी भइरहेको हो ।

यस गतिििवधिलाई विश्लेषकहरु भने व्यक्तिगत स्वार्थका रुपमा लिन्छन् । कैलाली बहुमुखी क्याम्पसका पुर्वप्रमुख सुरेन्द्र चन्दले यसरी व्यक्तिगत स्वास्थ्य पार्टी चल्नु देश र जनताका लागी घात हुने बताउँछन् ।

केन्द्रमा बदलिएको गठबन्धनकै सरकार बनाउन सुदुरपश्चिममा स्वतन्त्र सांसद र राप्रपा निर्णयक बनेको छ । सो दुई जना सांसदले कांग्रेस नेतृत्वलाई सघाउँदा नयाँ गठबन्धन बनाउन सकस देखिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved