किसानको करोडौँ रकम ठगेर कार्यालय सहयोगी फरार

नेपालभ्युज

किसानको करोडौँ रकम ठगेर कार्यालय सहयोगी फरार

काठमाडौं । कृषि ज्ञान केन्द्र सिरहामा करार सेवामा कार्यरत एक कर्मचारीले किसानको करोडौं रुपैयाँ लिएर फरार भएका छन् । कर्मचारी अजयकुमार कर्णले अनुदानमा ट्याक्टर मिलाइदिने भन्दै किसानबाट करोडौं रुपैयाँ उठाएर फरार भएका हुन् ।

किसानले ट्याक्टर नपाएपछि पैसा फिर्ताकालागि दबाब दिएपछि कर्णले सबैको रकम फिर्ता गर्ने भन्दै विभिन्न मितिका बैंकको चेक पीडितलाई दिएका थिए । पीडितले पटक–पटक बैंक जाँदा पनि खातामा रकम नभएपछि प्रहरीमा चेक बाउन्सको निवेदन दिएका छन् ।

प्रहरी कार्यालय सिरहाले कर्ण फरार रहेको र खोजी भइरहेको बताएको छ । सिरहा प्रहरी प्रवक्ता रवीन्द्रराज पाण्डेले फरार कर्णको ‘केवाइसी’ अध्ययन भइरहेको र प्राप्त भएका निवेदनको आधारमा बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता गरी कारबाही अगाडि बढाइने बताए ।

कृषि ज्ञान केन्द्रका कर्मचारी भएकाले विश्वास गरी ट्र्याक्टर पाउने आशाले अग्रिम अनुदानको आधा रकम बुझाएको किसानले बताएका छन् ।

पीडितहरूको यकिन तथ्यांक नभए पनि सयौँको संख्यामा ठगिएको हुन सक्ने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कर्णले कम्तीमा पनि १० करोड रुपैयाँ हिनामिना गरेका छन् ।

छोराको बदमासीका कारण आफू तनाबमा परेको भन्दै बुबा कृष्णदेवलाल कर्णले प्रहरीमा शान्ति सुरक्षाको निवेदन दिएका छन् । कृषि ज्ञान केन्द्र सिरहाले फरार रहेका कर्ण कार्यालय सहयोगीमात्र भएको बताएको छ ।

पीडितका अनुसार कर्णले नायबसुब्बाको परिचयपत्र झुण्ड्याउने गरेका थिए । केन्द्रका प्रमुख नरेन्द्रकुमार महासेठले सर्वसाधारणको रकम हिनामिना गरेको सम्बन्धमा आफू जानकार नभएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved