घर पसेका लुटेराको समूहको आक्रमणबाट बाँकेमा घरधनीको मृत्यु, श्रीमती गम्भीर घाइते

नेपालभ्युज

घर पसेका लुटेराको समूहको आक्रमणबाट बाँकेमा घरधनीको मृत्यु, श्रीमती गम्भीर घाइते

काठमाडौं । चोरी गर्न घर पसेका चोरको आक्रमणबाट बाँकेमा घरमालिकको मृत्यु भएको छ । समूहमा आएका चोरको आक्रमणबाट घर मालिक सन्तोष थारुको मृत्यु भएको हो ।

चोरले कुटपिट गर्दा गम्भीर घाइते भएका थारुको नेपालगञ्जमा उपचारका क्रममा बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । चोरको कुटपिटबाट अर्का एक जना गम्भिर घाइते भएका छन् ।

जानकी गाउँपालिका ५ रुद्रपुर नयाँ बस्तीका थारुको घरमा गएराति १ बजेतिर चोरहरु आएका थिए । सात जनाको संख्यामा रहेका चोरहरुले घर प्रवेश गरेलगत्तै घरमा रहेकामाथि कुटपिट गरेका थिए ।

चोरको कुटपिटबाट गम्भिर घाइते भएकी मृतक थारुकी श्रीमती सबिता थारुको भेरी अस्पतालमा उपचार भइरहेको छ । लुटेराहरूले लुट्न खोज्दा थारु परिवारले प्रतिकार गरेको हुँदा धारिलो हतियार प्रयोग गरेर उनीहरूमाथि आक्रमण र कुटपिट भएको प्रहरीले जनाएको छ ।

प्रहरी नायब निरीक्षक जय बहादुर थारुको कमान्डमा खटिएको प्रहरी टोलीले लुटेराको खोजी गरिरहेको छ । चोरहरूले दुई वटा कानको झुम्का, एउटा नाकको फुली, दुई वटा मोबाइल र करिब ४० हजार नगद लुटेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट नजिकै रहेको ठाँउमा समेत लुटपाट र हत्या भएको भन्दै स्थानीय आक्रोशित भएका छन् ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved