८ मार्च : महिला दिवसको बैजनी रंगसँग के छ सम्बन्ध ?

नेपालभ्युज

८ मार्च : महिला दिवसको बैजनी रंगसँग के छ सम्बन्ध ?

एजेन्सी । महिलासँग जोडिएका कुनै पनि चिज चिन्नका लागि गुलाबी रंग हुन्छ भने पुरुषका लागि निलो रंगको प्रयोग गरिन्छ । तर, हरेक वर्ष ८ मार्चमा मनाइने अन्तर्राष्ट्रिय महिला दिवसमा बैजनी रंग लगाउने गरिन्छ ।

किन यसो गरिन्छ तपाईंलाई थाहा छ ? बैजनी मात्र नभएर अरु दुई रंग पनि यसमा सामेल छन् । जानौं यसबारेमा ।

बैजनी रंगको अर्थ

खासगरी बैजनी रंग न्याय र गरिमाको प्रतिक मानिन्छ । महिला दिवसको अवसरमा बैजनी रंग लगाउनुले संसारभरका महिलासँग एकजुटताको भाव दर्शाउँछ ।

आशाले भरिएको हरियो रंग

यस विशेष दिन मनाउन हरियो रंग पनि जोडिएको छ जो सकारात्मकता तथा आशाको प्रतिक हो । हरियो रंगलाई खुशियालीसँग जोडेर पनि हेरिन्छ । हरियो रंग समानता दर्शाउने रंग पनि हो । महिला दिवसको अभियानसँग जोडिएको हरियो रंग महिलाको ऊर्जावान व्यक्तित्वसँग पनि जोडिएको छ ।

शुद्धता र शान्तिलाई दर्शाउने सेतो रंग

सेतो रंग शुद्धताको प्रतिक मानिन्छ । सेतो रंगलाई सफल सुरुआतको प्रतिनिधित्व गर्ने रंग मानिन्छ । साथमा यो रंगले शान्ति र दृढतालाई पनि दर्शाउँछ । संसारभरमा शान्ति र सहजता बनाइराख्न महिलाको भूमिका एकदमै अहम मानिन्छ र यो रंग पनि यो उत्सवको विशेष हिस्सा हो ।

कसले गरेको थियो सुरुआत ?

महिला अधिकारवादी कार्यकर्ता रहेकी क्लारा जेटकिनले सन् १९१० मा अन्तर्राष्ट्रिय महिला दिवसको बारेमा बहस चलाएकी थिइन् । डेनमार्कको राजधानी कोपेनहेगेनमा कामकाजी महिलाको अन्तर्राष्ट्रिय सम्मेलनमा उनले यसको सुझाव दिएकी थिइन् ।

सम्मेलनमा १७ देशबाट एक सय महिला सहभागी भएका थिए र उनीहरुले क्लारा जेटकिनको यस सुझावमा सहमति जनाएका थिए । त्यसपछि सन् १९११ मा अस्ट्रिया, डेनमार्क, जर्मनी र स्वीट्जरल्यान्डमा पहिलो अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको थियो ।

यस दिनमा सामाजिक, आर्थिक, सांस्कृतिक, राजनीतिक तथा अन्य कयौं क्षेत्रमा महत्वपूर्ण भूमिका तथा योगदान दिने महिलालाई सम्मान पनि गर्ने गरिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved