अन्तर्वार्ता

गठबन्धन टुट्नुमा कांग्रेस दोषी छ, साझा उम्मेदवार बनाए इलामबाट लड्न तयार छु : झलनाथ खनाल ( भिडियो अन्तर्वार्ता )

नयाँ गठबन्धन बनेसँगै वाम एकताका लागि आधार तयार भएको दाबी गर्दै उनले मुलुकमा रहेका साना-ठूला सबै कम्युनिष्ट घटकले योगदान गर्न आवश्यक रहेको बताए ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपाली कांग्रेसको आन्तरिक कारण गठबन्धन टुटेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेससँगको गठबन्धन तोड्दै नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) लाई मिलाएर नयाँ गठबन्धन बनाएसँगै खनालको उक्त भनाइ आएको हो ।

महासमिति बैठकमा कांग्रेसको दस्तावेजहरू, मन्त्रिमण्डल पुनर्गठनमा कांग्रेस सभापति शेरबहादुर देउवाले देखाएको अनिच्छा, राष्ट्रियसभा अध्यक्ष माओवादी केन्द्रलाई दिन आनाकानी, अर्थमन्त्रीसँगको खटपटले प्रधानमन्त्री प्रचण्ड गठबन्धन तोड्ने मनस्थितिमा पुगेको उनको जिकिर थियो ।

नयाँ गठबन्धन बनेसँगै वाम एकताका लागि आधार तयार भएको दाबी गर्दै उनले मुलुकमा रहेका साना-ठूला सबै कम्युनिष्ट घटकले योगदान गर्न आवश्यक रहेको बताए। विगतमा झैँ समस्या आउन नदिन शीर्ष नेतृत्वले लचक बन्न जरुरी रहेकोमा जोड दिँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले त्यसका लागि सबैले खबरदारी गर्न जरुरी रहेको उल्लेख गरे ।

गठबन्धन भत्काउन र सपार्न देशी-विदेशी शक्ति लाग्ने कुरालाई नकार्न नसकिने बताउँदै खनालले वाम एकताका लागि शुभेच्छा व्यक्त गर्ने कुरालाई अन्यथा लिनु नहुने धारणा राखे ।

उनले भने, “भेटमा तपाईंहरू मिल्नुभए हुने, मिलेर अघि बढे देशमा समृद्धि ल्याउने सकिने थियो । भन्नेलगायतका आशय व्यक्त गर्नु गलत छ र ?”

गठबन्धनमा सहभागी हुन एकीकृत समाजवादीलाई औपचारिक प्रस्ताव नआएकाले पार्टीले ‘पर्ख र हेर’को नीति लिएको खनालको भनाइ थियो । सरकारमा सहभागी हुने विषयमा तत्काल कुनै निर्णय नभएको बताउँदै उनले अधिकांश दललाई समेट्ने प्रधानमन्त्री प्रचण्डको प्रयासमा एकीकृत समाजवादी सकारात्मक रहेको जानकारी दिए।

अर्को प्रसङ्गमा उनले इलाम २ बाट उपनिर्वाचन लड्ने नलड्नेबारे अहिले नै निर्णय नगरेको बताउँदै नयाँ गठबन्धनले भने उत्साहित बनाएको सुनाए । वाम घटकले साझा उम्मेदवारका रूपमा आफूलाई अघि सारे इलाम २ बाट चुनाव लड्न तयार रहेको उनको भनाइ थियो ।

उनले भने, “इलाम क्षेत्र नम्बर २ त मेरो जन्मथलो हो । झन् यहाँबाट चुनाव लड्न पाउँदा म खुसी नै हुन्छु ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved